काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा ८० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सहभागी समीक्षा बैठकमा मन्त्रालयको समग्र वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको जानकारी दिइएको हो।
गत आर्थिक वर्षमा मन्त्रालयलाई कुल १ खर्ब ३ अर्ब ८० करोड रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये ७९ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको मन्त्रालयले बताएको छ। विवरणअनुसार ऊर्जातर्फ ७७ प्रतिशत भौतिक प्रगति हुँदा जलस्रोत तथा सिँचाइतर्फ ८७.९३ प्रतिशत प्रगति छ। सो आर्थिक वर्षमा ऊर्जातर्फ मात्रै ३८ वटा आयोजना तथा कार्यक्रम सञ्चालन भएका थिए।
यी कार्यक्रममा सबैभन्दा धेरै भौतिक प्रगति ग्रामीण तथा सामुदायिक विद्युतीकरणमा मिलेको छ।
त्यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाको काममा पनि यो वर्ष सफलता मिलेको मन्त्रालयको भनाइ छ। सरकारले यो वर्ष स्वदेशी लगानीमै आयोजना तयार गर्ने नीतिगत निर्णय गरेको थियो भने लामो समयदेखि अल्झँदै आएको मुआब्जा वितरणको समस्या पनि समाधान भएको छ।
आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखा र धादिङतर्पm सो आवमा २०७ रोपनी जग्गा प्राप्ति भएको छ। त्यस्तै आयोजनाको डुबानमा पर्ने २२ हजार १६४ घरगोठलगायतको संरचनाका लागि ४ अर्ब ८८ करोड र बोटबिरुवाका लागि ९२ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ।
तनहुँ जलविद्युत् आयोजनामा ९९.६ प्रतिशत वित्तीय प्रगति र ९२.९७ प्रतिशत भौतिक प्रगति भएको छ। यस्तै, माथिल्लो मोदीमा पनि यो वर्षका लागि लक्षितको ९५ प्रतिशत र मुख्य निर्माणको तयारीमा रहेको तामाकोसी पाँचौं जलविद्युत् आयोजनामा पनि सोही अनुपातमा भौतिक प्रगति भएको छ।
बूढीगण्डकी जलविद्युत् अयोजनामा प्रगति भइरहँदा राष्ट्रिय गौरवको अर्को अयोजना महाकाली सिँचाइ आयोजनामा पनि उल्लेख्य प्रगति भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ। सो आयोजनाको भौतिक प्रगति ९९.३९ र वित्तीय प्रगति ९४ प्रतिशत भएको छ।
समीक्षा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जा क्षेत्रको विकासमा देखिएका सफलतालाई निरन्तरता र समस्या सुधार्न निर्देशन दिइन्। मन्त्री भुसालले ऊर्जा क्षेत्रको विकासमा सरकारले थप लगानी गर्न आवश्यक रहेको औंल्याइन्।