काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समचारका प्रमुख शीर्षकहरू:
जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर सरकारले जनतालाई हेपेको ओलीको टिप्पणी, कल डिटेल हेर्न नदिएर गठबन्धनले छानबिन हुनै नदिएको आरोप। आक्रोशित ओली
विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरी त्रास फैलाइएको भन्दै एमालेको आपत्ति, आफूलाई जीवनभर सुरक्षाकर्मीको व्यवस्था गर्न जसपा सांसद गुरुङको माग। विप्लवलाई सहानुभूति
गत आर्थिक वर्षमा दातृ निकायबाट सरकारले अनुदानमा पायो ९३ अर्ब ३० करोड, ६ महिनाभित्र देशलाई तरकारीमा आत्मनिर्भर बनाउने अर्थमन्त्री शर्माको दाबी। अर्थतन्त्रको गति कता?
साफ यू-२० च्याम्पियनसिपमा नेपाल र बंगलादेशबीच एक-एक गोलको बराबरी, मालदिभ्ससँगको खेलमा भारत पराजित भए नेपाललाई फाइनल प्रवेशको अवसर। दोस्रो हाफमा तनाव
अमेरिकाको केन्टुकीमा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुग्यो, अमेरिकी हवाई आक्रमणमा मारिए अलकायदाका प्रमुख नेता अयमान अलजवाहिरी। मारिए अलकायदा नेता
अब समाचार विस्तारमा
आक्रोशित एमाले
नेकपा एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनभित्र अर्थमन्त्री हुने कोही नभएर जनार्दन शर्मालाई पुनः अर्थको बागडोर सम्हाल्ने जिम्मा दिइएको बताएका छन्।
मंगलबार तुलसीलाल अमात्यको स्मृतिमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शर्मालाई ‘रिपिट’ गरेर सत्ता गठबन्धनले दुनिया हँसाएको टिप्पणी गरेका हुन्। जनार्दनलाई अर्थमन्त्री बनाएर गठबन्धनले जनतालाई हेपेको, नागरिकको विवेक र नैतिक धराधलमा हमला उनको आरोप छ।
अर्थमन्त्री शर्मामाथिको छानबिन पूर्ण नभएको अध्यक्ष ओलीको आरोप छ। कल डिटेल हेर्न नदिएर गठबन्धनवालाले छानबिन हुन नदिएको ओलीको टिप्पणी छ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको आरोप लागेपछि छानबिन गर्न संसदीय समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए। तर संसदीय समितिले शर्मालाई सफाइ दिएपछि प्रचण्ड र देउवाको परामर्शमा शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका थिए। गठबन्धनले शर्मालाई नै दोहोर्याएको भन्दै तीव्र आलोचना भइरहेको छ। नेपाली कांग्रेस सरकार गएपछि देश अप्ठ्यारोमा पर्ने गरेकोसमेत उनको आरोप थियो।
म्याग्दी पहिरोमा ५ को मृत्यु
म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ। म्याग्दी जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार आइतबार बिहान जिल्लाको मालिका गाउँपालिका-२ रुममा पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३८ वर्षीय घामबहादुर विक, उनकी पत्नी ३५ वर्षीया राममाया, छोराहरु १५ वर्षीय नवीन, १३ वर्षीय राजन र ५ वर्षीया छोरी छन्।
सोही ठाउँमा पहिरोले अर्को घर पुर्दा २ जना घाइते भएका छन्। स्थानीय ६५ वर्षीय गोठे विक र उनकी ६५ वर्षीया पत्नीलाई घाइते भएको प्रहरीले जानकारी दिएको छ।
विप्लवप्रति एमालेको सहानुभुति, जसपा सांसदले मागिन् सुरक्षाकर्मी
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिष्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दलमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका हुन्। पुनः शान्तिप्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको उनको आरोप छ।
त्यस्तै, सांसद यशोदा गुरुङ सुवेदीले विप्लव समूहलाई जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन माग गरिन्। सरकारले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति खारेज भएको हो भन्दै प्रश्न गरेकी थिइन्।
सांसद सुवेदीले सरकारले विप्लवसँग भएको सहमति कार्यान्वयन गर्न पर्ने बेलामा कारबाही गर्ने कार्य रोक्नवर्न सुझाव दिएकी हुन्।
सांसद मिना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच सम्मान बनाउन सरकारसँग माग गरिन्। सांसद मोहन बानियाँले कर्णाली करिडोर निर्माणमा सेना थप गर्न माग गरे।
जनता समाजवादी पार्टी (जसपा) की सांसद रेनुका गुरुङ भने सोमवार राति आफ्नो घरको गेटभित्र बम पड्किएको बताउदै सुरक्षाका लागि आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्रीसँग माग गरिन्।
एमालेका डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताए। अहिले विदेशीसँग थर्कमान भई, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्न थालिएको उनको आरोप छ।
सांसद रावलले विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गरेर ल्याउनुपर्ने भनाई राखेका थिए।
झन्डै २ खर्ब दिए दातृ निकायले
सरकारले एक वर्षमा झन्डै साढे २ खर्ब रुपैयाँ दातृ निकायबाट सहयोगको प्रतिबद्धता प्राप्त गरेको छ।
गत आर्थिक वर्ष २०७८/७९ मा २ खर्ब ३७ अर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता प्राप्त अर्थ मन्त्रालयले जानकारी दिएको हो। ९३ अर्ब ३० करोड ७५ लाख अनुदान सहयोग र १ खर्ब ४४ अर्ब ६० करोड ९८ लाख रुपैयाँ ऋण सहायता पाइएको मन्त्रालयले जानकारी दिएको हो।
दातृ निकायको सहायता प्रतिबद्धतामध्ये १ खर्ब ११ अर्ब ८४ करोड ४९ लाख पछिल्लो तीन महिनामा मात्र प्राप्त भएको हो।
अर्थमन्त्रीको दाबी
अर्थमन्त्री जनार्दन शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने दाबि गरेका छन्।
सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताएका छन। मंगलवार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरेका हुन। भूमिहीनहरुलाई जमिन दिएर,पुँजी नहुनेहरुको लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने उनले बताए।
मन्त्री शर्माले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे।
स्तनपानबारे बौद्धिक समुदायको हेलचक्र्याईं
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बौद्धिक वर्गले नै स्तनपान नगराउने गरेको देखिएको बताएका छन्। विकास निर्माणमा पछि परेको कर्णालीमा स्तनपान गराउने संख्या बढी देखिएकोले तर बागमतीमा पछि परेको भन्दै उनले यस्तो बताएका हुन्।
सप्ताहव्यापी स्तनपान कार्यक्रमका अवसरमा प्रशुती गृह थापाथलीमा खापुङले स्तनपान बच्चाको नैसर्गिक अधिकार भएपनि बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका हुन।
आमाको दुध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गरिने मन्त्री खापुङले बताएका छन्।
सडक अलपत्र
लुम्बिनी प्रदेश गौरव आयोजना झुम्सा-चरङ्गे सडक अलपत्र परेको छ। पाँच वर्ष बितिसक्दा समेत लुम्बिेनी प्रदेश गौरव आयोजना झुम्सा–चरङ्गे सडक सम्पन्न हुन नसक्दा आयोजना अलपत्र बनेको हो।
दुई वर्षमा सक्नेगरी सिद्धबाबा सडकको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयहरु समस्यामा परेका छन्।
सडक पुर्वाधार कार्यलय पाल्पाकाअनुसार सडक निर्माणको क्रममा कमजोर भूभागको आँकलन नगरिदा वर्षेनी पहिरोको समस्या थपिँदै गएको छ।
चुरे आफैँमा कमजोर पहाड भएकोले कमजोर पहाडमा ठूला मेसिनको प्रयोग गरी सडक निर्माण भएपछि यस क्षेत्रको वन जंगल मात्र नभई मानवीय बस्तीसम्म पहिरोको उच्च जोखिममा परेको छ।
बालेनको अनुगमन
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन्। यसअघि फुटपाथ व्यापार मेयर साहले मंगलबार बिहान त्यसको प्रगतिबारे जानकारी लिएका हुन्।
अवलोकनका क्रममा मेयर साहले अन्डरग्राउन्ड पार्किङमा सटर राखेर गरिएका व्यापार हटाउन निर्देशन दिएका छन्। संघ अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ।
यसअघि काठमाडौं महानगरले सूचना निकालेर अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न निर्देशन दिएको थियो। केहि समय यता काठमाडौंको फुटपाथ सडक खुल्ला भएपछि पैदलयात्रुहरुले सहज भएको बताएका छन।
नेप्सेमा झिनो करेक्सन
पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ।
मंगलवार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो। मंगलवार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता शेयर ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका १३ उपसमूह मध्ये ७ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ भने ६ वटा उपसमूहको सूचक वृद्धि भएको छ।
बंगलादेशसँग नेपालको बराबरी
साफ यू-२० च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार भएको खेलमा नेपालले बंगलादेशसँग एक-एक गोलको बराबरी गर्दै अंक बाँडेको हो।
च्याम्पियनसिपमा अपराजित रहेको बंगलादेशले १० अंकसहित फाइनलमा प्रवेश गरेको हो। बराबरीको नतिजाले नेपालको ७ अंक भएको छ।
पहिलो हाफमा गोलरहित खेलेका दुवै टोलीले दोस्रो हाफमा गोल गर्न सफल भए। बंगलादेशका लागि खेलको ६३ औँ मिनेटमा पियास अहमद नोभाले गोल गर्दै खेललाई १–० को अग्रता दिलाए। खेलको ६९ औँ मिनेटमा निराजन मल्लले गोल गर्दै नेपाललाई बराबरीमा ल्याए।
खेलको दोस्रो हाफ केहीबेर तनावपूर्ण बनेको थियो। तनावपुर्ण खेलमा दुवै टोलीले ५१ औँ मिनेटमा रातो कार्ड खाँदै १० खेलाडीमा सीमित भए। नेपालका दिपेश गुरुङले खेलको ५१औँ मिनेटमा रातो कार्ड खाँदै मौन बाहिरिए।
यस्तै झगडामा सामेल भएको भन्दै बेन्चमा रहेका वैकल्पिक खेलाडी रोहित सुब्बाले रातो कार्ड पाए। बंगलादेशका शाहिद इस्लामले दोहोरो पँहेलो कार्ड पाउँदै मैदान छाडे।
बंगलादेशसँग बराबरी गरेपछि नेपालले फाइनल प्रवेशका लागि भारतको अन्तिम नतिजा कुनुपर्ने भएको छ। आजै हुने दोस्रो खेलमा भारत मालदिभ्स भिड्दैछन्। भारत पराजित भए नेपालले फाइनलमा स्थान बनाउने छ। दोस्रो खेलमा भारत र मालदिभ्सको बराबरी भएपनि नेपाल बाहिरिने छ।
केन्टुकीमा बाढी
अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ।
बाढीमा अझै केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ। बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ। उद्धारको काम जारी राखिइएको छ।
अलकायदाका प्रमुख नेता मारिए
अमेरिकी हवाई आक्रमणमा अल–कायदाका प्रमुख नेता मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी कारबाहीमा हवाई आक्रमणबाट अल– कायदाका प्रमुख नेता अयमान अल–जवाहिरी मारिएका हुन्।
नेता जवाहिरी मारिएको खबर अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका हुन्। बाइडेनले जवाहिरी विश्वकै कुख्यात आतंकवादीमध्य एक भएको र उनको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गरेका छन्।
राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको बताएका छन्।