काठमाडौं– ‘पहिला हिरो भएँ। अब कलाकार हुनु छ,’ अभिनेता प्रदीप खड्काले चलचित्र ‘प्रकाश’को प्रमोसनका क्रममा दिएको अभिव्यक्ति हो, यो। सात वर्षअघि चलचित्र ‘इस्केप’बाट अभिनय करिअर सुरु गरेका प्रदीपको चर्चा ‘प्रेमगीत’बाट भएको थियो। यही क्रममा उनले इस्केप, प्रेमगीत, प्रेमगीत–२, रोज, लिलीबिली, लब स्टेसन, प्रेमगीत–३, मा अभिनय गरिसकेका छन्। तर अहिले चलचित्र ‘प्रकाश’मा काम गरेपछि मात्रै कलाकार भएको खड्का स्वयं बताउँछन्।
के ‘कन्टेन्ट’ र ‘चरित्र लक्षित’ पात्रको निर्माणबिना कुनै चलचित्र बन्छ? पक्कै बन्दैन। त्यसो भए प्रदीपले खेलेको ‘प्रकाश’अघिका चलचित्र कन्टेन्टबिना बनेका हुन्? के यी फिल्ममा हिरोले अभिनय गर्नुपरेन?
निर्देशक मनोज पण्डित भन्छन्, ‘अहिले बल्ल कलाकार बन्दै छु भन्नु भनेको हिजोको फिल्मलाई बिर्सनु हो। अभिनय कला शिल्पबारे अत्यन्तै कमजोर ज्ञानका कारण पनि यस्तो अभिव्यक्ति आएको हुन सक्छ।’
प्रदीपले आजसम्म खेलेका फिल्मले राम्रै व्यापार गरेका छन्। उनले ‘प्रकाश’अघि जति फिल्म खेले, त्यसैको जगमा ‘प्रकाश’मा राम्रो काम गर्न पाए। अभिनय नै सिकेर–पढेर फिल्म क्षेत्रमा आएका होइनन्। यद्यपि उनको काम दर्शकले रुचाए।
खड्का निर्माता–निर्देशकको छनोटमा परिरहे। पहिला–पहिला अभिनय गरेको होइनजस्तो आशयको अभिव्यक्ति दिनु ‘प्रकाश’ अगाडिका सिनेमाका पात्र र चरित्रलाई अभिनयमार्फत न्याय नै गरेनन् भन्ने हो।
हुन त प्रदीपले अभिनेता, निर्देशक तथा रंगकर्मी अनुप बरालसँग तीन महिना अभिनय कक्षा नै लिए। प्रकाश चलचित्रका लागि उनले अडिसन दिएर पास भए। तर प्रकाशका निर्देशक दिनेश राउतले अभिनय सिक्नू नभनेको भए अनुपसँग अभिनय सिक्न पोखरा जाँदैनथे होला। किनकि, ‘प्रकाश’भन्दा फरक खाले चलचित्रको कमी थिएन, उनलाई।
‘तीन महिना अभिनय कक्षा लिएपछि मैले अभिनयलाई कति सहज ठानेको रहेछु भन्ने भ्रम हट्यो,’ उनले कतै भनेका छन्। अब ‘एक्ट’ भनेको के हो भन्ने प्रश्न नआइरहन सक्दैन। के प्रदीपले यसअघि खेलेको चलचित्रमा अभिनयबारे खासै ज्ञान थिएन? अभिनयलाई यति हलुका रूपमा लिने मान्छे हिरो हुनु भनेको नेपाली सिने उद्योगको दुर्भाग्य होइन?
‘म पहिला हिरो थिएँ। अहिले अभिनय गर्दैछु भन्नु ज्ञान अभाव हो,’ निर्देशक पण्डित भन्छन्, ‘चर्चित सेलिब्रिटीका रूपमा चिनिने खड्काले अचानक यस्तो अभिव्यक्ति दिँदा अघिल्ला फिल्म निर्मातालाई धोका दिएको भन्दा फरक नपर्ला।’
प्रेम गीत–२ का निर्देशक रामशरण पाठक भने प्रदीपको बचाउ गर्छन्। उनी भन्छन्, ‘प्रदीपले मसँग काम गर्दा पनि अभिनय गरेका हुन्। अहिले पनि अभिनय नै गरेका छन्। ‘प्रकाश’मा फरक खाले भूमिका भएर बढी मिहिनेत गरेका छन्।’ त्यसो भए अघिल्ला सबै चलचित्रमा उनको एकनासे भूमिका थिएन? आफैंले खेलेको सिनेमा बिर्सिएर ‘प्रकाश’ चलचित्रमा कलाकार बन्दैछु भन्नु के हिजोका सिनेमामा पात्र थिएन, चरित्र थिएन, कथा थिएन?रामशरणले प्रदीपको फोटो हेरेर प्रेमगीतको स्क्रिप्ट तयार परेको भने सम्झिए। प्रदीपले अघिल्ला फिल्म कमजोर नखेलेको बताउँछन्, रामशरण। ‘हरेक कलाकारका लागि नयाँ फिल्ममा काम गर्नु भनेको अर्को जन्म लिनुजस्तै हो,’ प्रदीपकै भनाइ सापटी लिँदै उनले भने, ‘कामले काम सिकाउने हो। काम गर्दै जाँदा बुझाइ पनि फरक हुँदै जान्छ। अभिनयलाई बुझ्ने परिपक्वता भएर पनि हुन सक्छ यस्तो अभिव्यक्ति दिनुभएको।’
हरेक कलाकारले आफ्नो चरित्रलाई जीवन्तता दिने हो अथवा त्यो पात्रको चरित्र चित्रणलाई न्याय गर्ने हो। यसर्थ पात्र र चरित्रबीचको कनेक्ट जति बलियो भयो, त्यति नै दर्शक र सिनेमाबीचको कनेक्ट हुने हो।
मानौं, ‘प्रकाश’ सिनेमामा प्रदीपले बेग्लै अभिनय गरेका छन्। उनको अभिनयको चौतर्फी प्रशंसा भएको छ। यहाँ पनि उनको स्टारडम हाबी देखिन्छ। कलाकारले नै राम्रो काम गरे स्टार हुने हो। निर्देशक पाठक भन्छन्, ‘मान्छेले जे कुरा जतिखेर बुझ्छन्, त्यसपछि मात्रै त्यो विषयमा बोल्ने हो। अभिनेताको भाषा अहिले बुझेर होला, उनले यो अभिव्यक्ति दिए।’
हुन त, केही अभिनेता गीत गाएर, अभिनेत्रीसँग नाचेर, डाँडाकाँडा र सहरका गल्लीमा प्रेमलाप गरेर, गुन्डालाई कुटेर हिरो भए भन्ने मानसिकताले पनि काम गरेको हुन सक्ला। निर्देशक केपी पाठक भन्छन्, ‘नाचेर, गीत गाएर नायकत्व देखाएँ भन्ने भ्रम नपाल्दा हुन्थ्यो अभिनेताले। एउटा कथाको मुख्य पात्रको भूमिका निर्वाह गर्दैमा कोही हिरो हुँदैनन्। न्यारेटिभ जसले भन्छ, त्यो हिरो हो, जुन चकलेटी अनुहारको नै हुनुपर्छ भन्ने छैन।’
लाखौं पारिश्रमिक लिने कलाकार के अभिनय नै नगरेर हिरो भएका थिए? त्यति पारिश्रमिकको मिहिनेत तिनको चकलेटी अनुहार मात्रै हो? पण्डित भन्छन्, ‘कस्टमले, लुक्सले, हाइट, बडीले हिरो भइन्छ भन्ने मनोविज्ञानबाट अभिनेताले बोल्नु भनेको आफूले गर्दै आएको कामलाई धोका दिनु हो।’
एउटा कलाकारले प्रदर्शनमा आउन थालेको चलचित्रमा फरक अभिनय गरेको छु भनेर बारम्बार भनिरहनुपर्ने अवस्था सिर्जना हुन्छ भने कलाकार र फिल्म निर्माताले कति सिनेमा बुझेका रहेछौं भन्ने अवस्था पनि आउन सक्ने उनको बुझाइ छ।सिनेमा प्रमोसन गर्दा कलाकारले के बोल्ने, कस्तो बोल्ने, के विषयमा गम्भीर हुने भन्ने बिर्सिन थाल्यौं भने कस्तो धरातलमा छौं भन्ने हुन्छ। एक शिक्षकले पढाउँछ र डाक्टरले उपचार गर्छ भन्नुजस्तै कलाकारले अभिनय गर्ने हो। पण्डितका अनुसार कलाकार स्वयंले मैले फरक अभिनय गरेको छु भन्ने कुरा त्यति जायज हुँदैन।
एउटा कलाकारले आफ्नो सिनेमालाई उठाउन जरुरी छ। तर हिजो गरेको कामलाई बिर्सिएर मैले अभिनय नै गरेको छैन भन्नु गैरजिम्मेवार हुनु रहेको उनी ठान्छन्। फिल्ममा अभिनय नगर्ने हिरोलाई कसरी प्रमुख पात्रको रूपमा छनोट गरियो त? निर्माता–निर्देशक कसका पछाडि लाग्दा रहेछन् भन्ने व्यंग्य पनि गरिएको हो। यो नेपाली सिनेमाको प्रतिविम्ब हो।
नायकत्वको चरित्र
नायकत्व भनेको चरित्र हो। नायकत्वमा एक सामान्य मान्छे पनि हुन सक्छ। जोकोही पनि हुन सक्छ। कथा भन्ने पात्रलाई हिरो भन्ने गरिन्छ। हिरो भनेको त्यस्तो पात्र हो, जसले नायकत्वलाई प्रतिनिधित्व गर्दछ, जसले मानवीय मूल्य–मान्यतालाई उच्च राख्छ।
महाभारत, रामायणबाट जन्मिएका नायकलाई आजसम्म दक्षिण एसियाली सिनेमाले पछ्याएकै छ। शिव, राम आदिको चरित्र निभाउने मानिसलाई हिरो मान्दै आइएको छ। तर देशका लागि, आवाजविहीनका लागि, समाजका लागि जसले योगदान गर्छ, त्यो मान्छे नायक हो। एकाध प्रेमिल फिल्म खेल्दैमा हिरो हुने भए समाज परिवर्तनका लागि संघर्ष गर्ने क्रान्तिकारी को हुन्? हिरो होइनन् भन्ने प्रश्न उब्जिन सक्छ।
प्रमुख चरित्रको भूमिका निर्वाह गर्ने पात्रको हरेक क्रियाकलाप नै अभिनय हो। त्यो चरित्र इमानदारीपूर्वक निर्वाह गर्ने कलाकार नै नायक हो। अभिनेता हो। अर्थात्, अभिनय गर्ने नै अभिनेता हो।
ग्ल्यामर क्षेत्रमा काम गर्दैमा हिरो भनिनु गलत हो। पर्दामा देखिने पात्रभन्दा बलिया हिरो पर्दाबाहिरै हुन्छन्। महावीर पुन, कुलमान घिसिङ त्यस्ता पात्र हुन्। केहीको सिनेमामा अभिनय कलाभन्दा पनि आवरण कला हाबी भएको देख्न सकिन्छ। त्यसो हुनु भनेको कलाको महत्त्वलाई नबुझ्नु पनि हो। त्यसो भए व्यावसायिक सिनेमा सोच्दैमा चकलेटी कलाकार (जसलाई हिरोको ट्याग लागेको छ) तिनले अभिनय गर्नैपर्दैन भन्ने होइन।
प्रदीपको अभिव्यक्ति अनुसार कलामा सौन्दर्यको चेत तथा अभिनय चाहिँदैन भन्ने बुझिन्छ। त्यसो भए नेपाली फिल्ममा स्तरहीन काम भइरहेको छ त? पहिला गरेको अभिनयलाई चटक्कै बिर्सिंदा हिजो काम गरेका निर्देशक–निर्माता तथा सहकर्मीमाथि अन्याय गरेको ठानिँदैन?
निर्देशक पाठक भन्छन्, ‘हिरो भनेको पुरानो मान्यता भयो। मुम्बईबाट आएको भाषा आजको कलाकारले पनि पछ्याइरहेको छनक हो।’ पाठकको बुझाइमा फिल्ममा खेल्ने सबै नायक हुन्। निर्देशक पण्डित भन्छन्, ‘पेसागत रूपमा अभिनय गर्ने मान्छेलाई अभिनेता भनिन्छ। कोही अभिनेता कमजोर होलान्, कोही दक्ष होलान्। तर अभिनेता जोकोही पनि हुन सक्छ। हिजो अभिनेता होइन, आज अभिनेता हुँ भन्नु भनेको ज्ञानको अभाव हो।’