रुपन्देही- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन्।
सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताए। भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्य तिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ छ।
तिलौराकोट दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रकृया पुरा गरिने उनले बताए। तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनले बताए।
तिलौराकोट दरबारको समुचित विकास एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए।