आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आगामी माघदेखि सञ्चालनमा आउँदै निर्माणाधीन लुम्बिनी केबुलकार

आगामी माघदेखि सञ्चालनमा आउँदै निर्माणाधीन लुम्बिनी केबुलकार

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण हुनेछन्।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं– रूपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटमा निर्माणाधीन लुम्बिनी केबुलकार आगामी माघदेखि सञ्चालनमा आउने भएको छ। केबुलकार बुटवल उपमहानगरको बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्नेछ। 

हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबुलकार निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माघ १ देखि सञ्चालनमा आउने बताए। करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचना निर्माण हुनेछन्।  

‘केबुलकारको तल्लो स्टेसनसम्म पुग्ने करिब ४०० मिटर पहँुचमार्ग निर्माण सम्पन्न भएको छ। तल्लो स्टेसनको सब–इन्स्ट्रक्चर निर्माण करिब सम्पन्न भई सुपर स्ट्रक्चर निर्माण कार्य र साइट डेभलपमेन्टको काम अगाडि बढिरहेको छ। ९ वटामध्ये ८ वटा टावरको सिभिल निर्माण सम्पन्न भइसकेको छ भने बाँकी रहेका टावरको काम अगाडि बढिरहेको छ’, उनले भने।

उनले माथिल्लो स्टेसनमा सब–इन्स्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबुलकारका उपकरण तथा पार्टपुर्जा आयात गर्ने काम अगाडि बढेको बताए। त्यसैगरी माथिल्लो स्टेसनमा रहेको मन्दिर क्षेत्र निर्माण कार्य पनि केबुलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्ने भएकाले हाल कार्यरत निर्माण कम्पनीलाई पुरानै सर्तबमोजिम काम गर्न निर्देशन दिइएको उनको भनाइ छ। 

ढकालले माथिल्लो स्टेसनमा प्रस्तावित होटललाई अन्तर्राष्ट्रिय चेन होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिए।केबुलकारको १ फागुन २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए।

प्रकाशित: Aug 01, 2022| 14:22 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्