भरतपुर- चितवनको रत्ननगर नगरपालिका–१५ की २७ वर्षीया महिलाले गत वैशाख १६ मा आफ्नै ससुराले जर्बजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय रत्ननगर टाँढीमा लिखित जाहेरी दिइन्।
पीडित महिलाले ससुराले दुई महिनादेखि विभिन्न धम्की दिँदै पटक–पटक जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। उनै पीडित महिला अहिले न्यायको खोजीमा भौतारिएकी छन्। जाहेरीपछि सो घटनाका आरोपित ससुरा फरार छन्। ५ र ६ वर्षीया दुई छोरीकी आमासमेत रहेकी पीडित महिला घरमा बस्न सक्ने अवस्था नभएपछि चार महिनायता माइतीको शरणमा पुगेकी छन्।
दुई छोरीको लालनपालनका लागि उनले अहिले एक होटलमा भाँडा माझेर गर्जो टारिरहेकी छन्। तर हालसम्म उनले न्यायको प्रत्याभूति भने पाउन सकेकी छैनन्।
जबर्जस्ती करणी घटनामा संलग्न आरोपित बोहरालाई चाँडोभन्दा चाँडो खोजतलास गरी कानुनी कठघरमा ल्याएर आफूलाई न्याय दिनुपर्ने प्रशासनसँग उनको माग छ।
यस्तो थियो घटना
पीडित महिलाका अनुसार उनका श्रीमान् तीन वर्षअघि रोजगारको सिलसिलामा भारत गएका थिए। एक देवर, दुई छोरी र ससुरासँगै उनी रत्ननगरमा रहेको घरमा बस्थिन्। उनकी सासूको भने ७ वर्षअघि नै क्यान्सर रोगका कारण मृत्यु भइसकेको छ।
दुई छोरी हुर्काउने, घरकै काम गरेर बस्ने ती महिलालाई देवर नभएको मौका पारेर करिब ६ महिनाअघि ससुराले बलात्कार गरेको आरोप छ। उनका अनुसार घरमा एक साँझ ससुराको कोठामा दुई छोरीले टिभी हेरिरहेका थिए। टिभी हेर्ने क्रममा दुई छोरीको झगडा परेपछि उनी त्यहाँ पुगिन्। तर कोठामै रहेका ससुराले दुवै नातीनीलाई पैसा दिएर फकाउँदै बाहिर पठाए।
त्यसपछि ढोकाको चुकुल लगाएर आफूमाथि जबर्जस्ती करणी गरेको पीडित महिलाको आरोप छ। ‘छोरीहरूलाई ५/५ रुपैयाँ दिएर बाहिर पठाउनुभयो। हातले मेरो मुख थुनेर जबर्जस्ती करणी गर्नुभयो। म धेरै रोएँ तर चिच्याउन सकिनँ’, आफूमाथिको घटना सुनाउँदै उनी भन्छिन्,‘जब मैले किन यस्तो गर्नुभयो? सबैलाई भनिदिन्छु। प्रहरीलाई खबर गर्छु भनें। उहाँले दुवै छोरी मारिदिने धम्की दिएपछि कसैलाई भन्न सकिनँ।’
आफूलाई ससुराले दुई पटकसम्म धम्की दिँदै बलात्कार गरेको आरोपको उनको छ। सोही कारण बिरामी परेपछि ससुराले टाउको दुखेको, ज्वरोको औषधी भन्दै लठ्याउने औषधी दिने गरेको उनको दाबी छ। ‘मलाई उहाँले दुई पटकसम्म जर्बजस्ती करणी गरेको याद छ। मलाई टाउको दुखेको औषधी डिकोल्ड हो भन्दै लठ्याउने औषधी दिनुहुन्थ्यो। औषधी खाएपछि म न उठ्न सक्थें, न त राम्ररी सुत्न’, उनी भन्छिन्।
ससुरा बोहराले जबर्जस्ती करणीपछि गर्भ बसेको हुन सक्ने भन्दै गर्भजाँचका लागि भिडियो एक्सरेसम्म गर्न लगाएको उनको दाबी छ। छोरीहरूलाई मार्ने धम्की दिएकाले आफूले ससुराले भनेमुताविक कार्य गर्न बाध्य भएको पीडित महिलाको गुनासो छ।
‘मेडिकल गएर पिसाब चेक गर्दा बच्चा छैन भनेर घर पुग्दा भिडियो एक्सरे गर्न पठाउनुभयो फेरि’, उनी पीडा पोख्दै भन्छिन्, ‘मैले उहाँले भनेको मान्दिनँ भन्दा सीधै छोरीको घाँटी न्याक्न जानुहुन्थ्यो। यति डराउँथें, उहाँले जे–जे भन्नुहुन्थ्यो, मान्दै जान विवश भएँ।’
श्रीमान्ले पैसा नपठाउने भएकाले घरपरिवारको आर्थिक जिम्मेवारी ससुराले नै उठाउँदै आएको पीडित महिला बताउँछिन्। तर, त्यसको बदलामा ससुराले आफूमाथि करणी गर्न पाउनुपर्ने भन्दै धम्की दिने गरेको उनको दाबी छ।
जबर्जस्ती करणीमा परेकी उनलाई माइतीले साथ दिए पनि श्रीमान् र समाजले भने उल्टै लान्छना लगाउने गरेको दुखेसो पोख्छिन्। ‘जुन छिमेकीलाई मैले पहिला आफ्नै ठान्थें, अहिले उनीहरूले नै मलाई नचिनेको व्यवहार गर्छन्’, उनी सुनाउँछिन्।
आफूमाथि ससुराबाट भएको जबर्जस्ती करणीबारे उनले भारतमा रहेका श्रीमान्लाई फोन गरेर सविस्तार लगाइन्। तर उनले श्रीमान्बाट साथ भने पाउन सकेकी छैनन्। उल्टै श्रीमानले उनको चरित्रमाथि नै प्रश्न उठाए।
‘उहाँ (पति) लाई घटना भएपछि सबै कुरा सुनाएँ। तपाईं तुरुन्तै आउनुहोस्। म बरु गाउँमा पैसा खोजेर पठाइदिन्छु भनें’, उनले भनिन्, ‘उहाँले उल्टै तँ उस्तै होस्, बुबाको कुरा मानेर बस भन्दै गाली गर्नुभयो।’
घटनाबारे दुई महिनासम्म सहेरै बसेकी उनले माइती दिदीको सहयोगमा प्रहरी कार्यालयसम्म जाहेरी दिन पुगेकी थिइन्। घटनाको धेरै समयपछि नेपाल फर्केका श्रीमान्ले उल्टै पीडा दिएको उनी बताउँछिन्।
‘मलाई जाहेरी फिर्ता लिन फोनबाट धम्की दिइराख्छन्। न्याय नपाएसम्म लड्छु’, उनी भन्छिन्।
आरोपित खोजी कार्य जारी : प्रहरी
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गत वैशाख १६ मा पीडित महिलाले ससुरा उमाप्रसाद बोहराले जबर्जस्ती करणी गरेको जाहेरी दिएकी थिइन्।
तर जाहेरी दिनुअगावै थाहा पाएर आरोपित बोहरा फरार भएको प्रवक्ता अधिकारी बताउँछन्। ‘आरोपित फरार छन्। उनी नेपाल छाडेर भारत गएको भन्ने बुझिएको छ। खोजतलास जारी छ’, डीएसपी अधिकारीले भने।