सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ऐनविपरीत भारतीय नागरिक पनि गौतमश्री सहकारीका सदस्य, ७ अर्ब रुपैयाँ जोखिममा

ऐनविपरीत भारतीय नागरिक पनि गौतमश्री सहकारीका सदस्य, ७ अर्ब रुपैयाँ जोखिममा

गौतमश्री सहकारीका सञ्चालक फरार भएकोले एभरेष्ट बैंकले सिल गरेको समाचार आएपछि आइतबार करिब ४०० निक्षेपकर्ता आफ्नो रकम डुब्ने चिन्ताले सहकारी विभाग घेराउ गर्न पुगेका हुन्।
 |  सोमबार, साउन १६, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, साउन १६, २०७९

काठमाडौं- भारत मोतिहारीका कृष्ण गुप्ता आइतबार सहकारी विभागको भवन बाहिर पानीमा निथ्रुक्क भिजेका भेटिए। उनका हात र ओठमुख काँपिरहेका भेटिए। आफ्नो निक्षेप गौतमश्री सहकारीबाट फिर्ता लिन पहल गरिदिन सहकारी विभागलाई निवेदन दिन उनी वर्षाको पानीमा रुझेर लाइन बसेका थिए। 

triton college

घन्टौं लाइनमा बस्नुको मुख्य उद्देश्य आफूले खाईनखाई जम्मा गरेको निक्षेप फिर्ता लिनु थियो। तर उनी डराइरहेका थिए। राजधानीको भोटेबहालमा चना-चटपटे बिक्री गर्दै आएका उनलाई गौतमश्रीका सहकारीका सञ्चालक को हुन् भन्ने विषयमा जानकारी थिएन। उनले दैनिक बचत गौतमश्री सहकारीमा गर्ने गरेका थिए। तर बिहीबारयता सहकारीका कर्मचारी पैसा लिन नआएपछि उनी सहकारीको भवन रहेको कुलेश्वर पुगे। 

शुक्रबार त्यहाँ पुग्दा सहकारीका सञ्चालक भागे भन्दै निक्षेपकर्ता पनि रुन थालेपछि आफूले जम्मा गरेको २० हजार रुपैयाँ नआउने हो कि भन्ने चिन्ताले सताएको उनी बताउँछन्। 'शुक्रबार रातभर मलाई निन्द्रा लागेन। कतिबेला आइतबार होला जस्तो भयोआइतबार बिहानै खाना खाएर निक्षेप फिर्ता गराइपाउँ भन्ने निवेदन दिन आफूसँग भएको पासबुक लिएर आएको छु। पैसा त पाइन्छ होला नि बैनी ?' उनले जिज्ञासा राखे।

कुलेश्वरकी गंगादेवी नमेकुलले पनि ३३ लाख ९० हजार रुपैयाँ सोही सहकारीमा जम्मा गरेकी थिइन्। २० वर्षभन्दा बढी सञ्चालन भएको सहकारी डुब्ने कुनै शंका नै नभएको उनले सुनाइन्। उनका श्रीमान् मन्त्रालयमा काम गर्थे। श्रीमान् अवकाश भएपछि आएको सम्पूर्ण रकम उनले सो सहकारीमा लगेर राखेकी थिइन्। पाँच वर्षमा दोब्बर हुन्छ भन्ने आशले उनले सहकारीमा रकम राखेकी हुन्। 

उनका अनुसार २०८१ सालमा उनको रकम परिपक्व हुने थियो तर सञ्चालक फरार भएको खरले उनी अत्तालिइन् र निक्षेप फिर्ता पाउने आशमा विभाग आइपुगिन्। ‘मेरो श्रीमान् डिप्रेसनको बिरामी हुनुहुन्छ बुढेसकालमा स्वास्थ्य उपचारका लागि रकम चाहिन्छ भनेर रकम जम्मा गरेकी हुँ। सञ्चालक फरार भएर रकम नदिने कुरा मेरो बूढाले नसुनून्,’ उनले भनिन्। 

corrent noodles
Metro Mart

यी त गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका पीडितका केही उदाहरण मात्र हुन्। गौतमश्री सहकारीका सञ्चालक फरार भएकोले एभरेष्ट बैंकले सिल गरेको समाचार आएपछि आइतबार करिब ४०० निक्षेपकर्ता आफ्नो रकम डुब्ने चिन्ताले सहकारी विभाग घेराउ गर्न पुगेका हुन्। झमझम पानीको पनि चिन्ता नगरी उनीहरु सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले निक्षेप फिर्ता दिलाइदिन्छन् कि भनेर आश लिएर आएका थिए। विभागका कर्मचारीहरु झ्यालबाट हेरेर भन्दै थिए, कठै ९२ वर्षकी आमै पनि पो हुनुहुँदो रहेछ लाइनमा !

धादिङका शिवकुमार घिमिरेले अर्को सहकारीबाट २५ लाख रुपैयाँ ऋण लिएर गौतमश्री सहकारीमा १५ प्रतिशत ब्याज पाउने गरी मुद्दति निक्षेपमा रकम राखेका थिए। उनले अर्को सहकारीबाट १८ प्रतिशतमा रकम लिएका थिए भने यता १५ प्रतिशतमा राख्दा उनले ३ प्रतिशतमा पैसा चलाउन पाएका थिए। दैनिक किस्ता अर्को सहकारीमा तिर्ने हुँदा उनलाई कर्जाको भार पर्दैनथ्यो। तर यता १५ प्रतिशत एकमुष्ट आउने हुनाले यसो गरेका थिए उनले। 

‘मैले धेरै लामो समय चलेको नेपालको टप टेन सहकारी भएकोले निक्षेप राखेको थिएँ तर यसरी सञ्चालक नै फरार होलान् भन्ने कल्पना थिएन’, धितालले नेपाल समयसँग भने, थोरै ब्याजमा रकम चलाउन पाउने आशले अर्को सहकारीबाट ऋण कसरी तिर्ने भन्ने चिन्ताले थप सताउन थाल्यो।

गौतमश्री सहकारीका करिब २५ हजार सदस्य छन्। सञ्चालक फरार भएपछि ती सबै तनावमा छन्। उक्त सहकारीमा ७ अर्ब रुपैयाँ बराबरको कारोबार रहेको सहकारी विभागले जानकारी दिएको छ। 

ऐनविपरीत भारतीय नागरिक सदस्य 

गौतमश्री सहकारीले नेपाली मात्र नभएर भारतीय नागरिकलाई पनि सदस्य बनाएको पाइएको छ। विभागमा उपस्थित भएका निक्षेपकर्तामध्ये करिब ५० प्रतिशत निक्षेपकर्ता मारवाडी समुदाय र भारतीय नागरिक रहेका थिए, जहाँ दिनमा ५० रुपैयाँ बचत गर्नेदेखि २५ करोड रुपैयाँ बचत गर्नेसम्म रहेका थिए। 

गौतमश्री सहकारीले सहकारी ऐन, २०३० को दफा ३० को र्खिला हुने गरी सदस्य बनाएको पाइएको छ। विभाग घेराउ गर्न पुगेका अधिकांश निक्षेपकर्ता भारतीय भेटिएकोले ऐनको बर्खिलाप हुने गरी कारोबार गरेको पुष्टि भएको हो। ऐनको दफा ३० बमोजिम सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन पाउँछन्

सहकारीले सदस्यहरुबीच मात्र कारोबार गर्न पाउँछ। तर गौतमश्रीले भने सबै सदस्य ग्राहक मात्र बनाएको पाइएको सहकारी विभागको तर्क छ। 

सदस्य संस्थाप्रति जवाफदेहीविहीन 

सहकारीका हरेक सदस्यको अधिकार बराबर हुन्छ भने सदस्य केन्द्रित सेवा हुनुपर्छ। सहकारी दर्ता हुने बेलामा नै सहकारीको सदस्यहरुको काम, कर्तव्य र अधिकार सम्झाइएको हुन्छ। सहकारीको सिद्धान्तअनुसार सहकारी समुदायमा आधारित हुने हुनाले एक सदस्यले अर्को सदस्यलाई चिन्नुपर्छ। तर गौतमश्री सहकारीमा भने नाम मात्रको सदस्य भएको पाइएको छ। सदस्यले सदस्यलाई चिन्नु त परै जाओस्, सञ्चालकलाई समेत चिनेको देखिँदैन।

गौतमश्रीका पीडित सहकारी विभागमा।
अधिकांश सदस्यहरुले फाइनान्सको रुपमा गौतमश्री सहकारीलाई हेरेको देखिएको छ। सहकारीमा सदस्य नै सबैभन्दा ठूलो हो तर सदस्यहरुले सो कुरा नबुझी सञ्चालकलाई भरोसा गर्नाले यस्तो भएको विभागको तर्क छ। सदस्यहरुले नाफा र व्याज मात्र खोजेको र उनीहरु साधारणसभामा जाने, कहाँ कहाँ लगानी छ भन्नेबारेमा जानकारी नराख्ने हुँदा गौतमश्री सहकारी यो अवस्थामा आएको पाइएको विभागले बताएको छ। गौतमश्री सहकारीको लगानी सबैभन्दा बढी हाउजिङ र घरजग्गामा गएको देखिएको छ। 

सञ्चालक सम्पर्कमा 

बिहीबारदेखि फरार रहेका भनिएका सञ्चालक रामबहादुर गौतम काभ्रेका हुन्। उनले गौतमश्री सहकारी रहेको भवन एभरेष्ट बैंकमा धितोमा राखी अन्य व्यवसायका लागि ऋण लिएका हुन्। सहकारी ऐनविपरीत गौतमले सहकारीको भवन धितोमा राखेर आफ्नो व्यवसायको लागि ऋण लिन पाउँदैनन्। तर उनले सर्वसाधारणबाट उठाएको रकमबाट बनेको भवन आफ्नै घर जसरी धितो राखी रकम लिएको पाइएको छ।

लिएको कर्जा तिर्न नसकेपछि एभरेष्ट बैंकले शुक्रबार शिल गरिदिएको हो। आइतबार एक सदस्य कुलेश्वरका विनय महर्जनलाई फोन गरी गौतमले यस्तो घटना भएकोबारे आफू बेखबर रहेको बताएका थिए। 

उनले आफू सोमबार बिहानसम्ममा काठमाडौं आइपुग्ने पनि महर्जनलाई जानकारी दिएका थिए। उनले महर्जनको फोनमा भनेका थिए, ‘म अहिले सुनौलीमा छु, काठमाडौं आउँदै छु म सबैको पैसा तिर्छु एकै पटक माग्दा मलाई पनि कठिन भएकोले विस्तारै तिर्नेछु। नआत्तिनुस्।’ सो कुराको जानकारी पाएपछि महर्जनले सम्पूर्ण सदस्यहरुलाई आफूसँग सम्पर्क भएकोले नडराउन र नआत्तिनका लागि आग्रह गरेका थिए। 

समाधान के? 

सहकारी विभागका अनुसार अब गौतमश्री सहकारी सञ्चालक र सदस्यबीच प्रहरी र सहकारी विभागको रोहबरमा नयाँ सञ्चालक वा सोही सञ्चालकले निक्षेपकर्ताहरुको निश्चित अवधिमा रकम फिर्ता दिने सम्झौता गर्ने वा सो सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी भएको सम्पत्ति बेचबिखन गरी दायित्व राफसाफ गर्ने दुई वटा मात्र विकल्प छ। 

ती दुई विकल्पमा रहेर सञ्चालक र सदस्यसँग प्रहरीको रोहबरमा कुराकानी गर्ने हो, पहिलो र्त सदस्यहरुले माने ठीकै हुने, दोस्रो प्रक्रियामा जाँदा समय बढी लाग्ने र सम्पत्ति बैंकले हडप्दा थप सहकारीका निक्षेपकर्ता समस्यामा पर्न सक्ने विभागको बुझाइ छ। 

विभागका प्रवक्ता टोलराज उपाध्यायका अनुसार पहिलो प्रक्रियामा कुरा मिलेको खण्डमा सहकारी र सदस्य दुवैको हितमा हुने देखिएको छ। दोस्रो प्रक्रिया भनेको प्रोसेसका लागि लामो समय लाग्ने हुँदा निक्षेपकर्ताको रकम फिर्ता हुने कुनै ग्यारेन्टी हुँदैन। सहकारी ऐनअनुसार सहकारी विभागले सो सहकारीलाई समस्याग्रस्त घोषणा गनुपर्छ। त्यसपछि निक्षेपकर्ताले निक्षेप रकम फिर्ता लिनका लागि पहिलो प्राथमिकता पाउँछन्। 

प्रवक्ता उपाध्यायले सहकारी विभागले सञ्चालकको सम्पूर्ण सम्पत्ति तथा खाता सञ्चालन रोक्का राख्नका लागि राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थामा पत्र पनि पठाइसकेको छ। 

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्याय।

विभागको सघन अनुगमन नहुँदा समस्यामा  

सहकारी विभागले आफूसँग स्रोतसाधन अभाव भएकोले सहकारीको सघन अनुगमन गर्न नसकेको बताएको छ। करिब ३ र्षअघि सो सहकारीको सघन अनुगमन गरिएको थियो। सो समय घरजग्गामा धेरै कर्जा गएको पाइएकोले विभिन्न निर्देशन पनि दिएको विभागको दाबी छ।

सहकारी विभागको भागमा जम्मा १२५ वटा प्रारम्भिक संस्था मात्र रहेका छन्। विभागका अनुसार देशैभर कार्यक्षेत्र भएका ५० करोडभन्दा माथिको सहकारीको अनुगमन सहकारी विभागले गर्नुपर्नेछ। त्यसैले गौतमश्री सहकारी पनि सहकारी विभागको कार्यक्षेत्रभित्र पर्छ।  तर विभागले वार्षिक अनुगमन भने सो सहकारी संस्थामा गरेको देखिँदैन

विभागका प्रक्ता उपाध्यायका अनुसार सहकारीको पारदर्शी कारोबार होस् भन्न कोपोमिस सफ्टवेयर लागू गरिए पनि त्यसको प्रयोग गर्ने हालसम्म १० हजार सहकारी मात्र आद्ध भएका छन्। हाल करि २९ हजार सहकारी देशैभर रहेका छन्। स्रोतसाधन अभावमा देशैभर विभागकै कार्यक्षेत्र रहेकाको हकमा पनि सघन अनुगमन गर्न असमर्थ रहेको विभागको तर्क छ। 

प्रकाशित: Aug 01, 2022| 12:50 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्