काठमाडौं– स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुने भएको छ।
नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता हो जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्थ्यो। तर, देशको शिक्षा प्रणालीले हाइब्रिड सिकाइलाई आत्मसात् गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको साथ साझेदारीमा प्रवेश गरेको छ।
केही वर्षदेखि राकुटेन भाइबरले नेपालको नयाँ शिक्षा प्रणालीलाई सहयोग गर्न, अनिवार्य अनलाइन शिक्षा र हाइब्रिड सिकाइबीचको दूरी कम गर्न सक्रिय भूमिका निभाउँदै आइरहेको छ। नेपालभरका विद्यार्थीहरूले अब भाइबरको नयाँ स्पेल बी च्याटबटबाट उक्त स्पेलिङ प्रतियोगिताका लागि आफ्नो नाम दर्ता गराउन सक्नेछन्। अघिल्ला सिजनहरूका परीक्षा कागजमा आधारित मात्र हुने गर्दा कतिपय योग्य विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने मौका नपाएको पनि आयोजकको ठहर छ।
च्याटबटका साथै भाइबरले नयाँ नेपाल स्पेल बी नामक च्यानल पनि सार्वजनिक गरेको छ, जहाँ सहभागी र फ्यानहरूले क्विज, पोल र मिनी गेमहरूमा सहभागिता जनाउन सक्नेछन्। कार्यक्रमको लागि दर्ता गर्न योग्य विद्यार्थीहरू १६ वर्षभन्दा माथि र हाल उच्च माध्यमिक तहमा अध्यनरत भएको हुनुपर्नेछ। विद्यार्थीहरूले नेपाल स्पेल बीको च्याटबटमार्फत् आफ्नो नाम दर्ता गराउन सक्नेछन्। च्याटबट भाइबरमा यही अगष्ट १ देखि २० सम्म उपलब्ध हुनेछ। त्यसपछि सर्टलिस्ट गरिएका विद्यार्थीहरूलाई अन–ग्राउन्ड एक्टिभेसनका लागि विभिन्न २४ स्थानमा बोलाइनेछ। त्यसपछि अगष्ट २६ बाट सुरू हुने क्वालिफाइङ राउण्डका लागि प्रतिस्पर्धा गर्नु पर्नेछ।