शुक्रबार, असार ५, २०८३

तनहुँमा थपिए ५७९ उद्योग

कृषि र पशुपालनमा युवा आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको हो।
 |  शनिबार, साउन १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन १४, २०७९

तनहुँ– तनहुँमा एक वर्षमा ५७९ उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८/७९ को अवधिमा ५७९ उद्योग दर्ता भएका हुन्।

National life

यस अवधिमा उत्पादनमूलक ४७, कृषि तथा वन पैदावरमा आधारित ३२०, खनिजतर्फ एक, पर्यटनतर्फ एक, सेवातर्फ १०३ र पूर्वाधारतर्फ तीन उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले बताए। थपिएका उद्योगमध्ये घरेलुतर्फ ३३ र साना उद्योगतर्फ ५४६ छन्। 

कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता वृद्धि भएको ढकालको भनाइ छ। ‘वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्’, उनले भने, ‘यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ।’ कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ।

तनहुँमा थपिएका उद्योगको कुल पुँजी ६३ करोड ५२ लाख ५४२ हजार रहेको कार्यालयले जनाएको छ। ती उद्योगको वार्षिक उत्पादन क्षमता १ अर्ब ७१ करोड ८७ लाख ५० हजार रहेको छ। थपिएका उद्योगमा १ हजार ३५ ले रोजगारी पाएका छन्। त्यसमध्ये ५३४ महिला र ५०१ पुरुष छन्। उद्योगमा ८०९ उद्यमी छन्। उद्योग दर्ताबापत २४ लाख ३ हजार ४०० राजस्व संकलन भएको छ। 

सोही अवधिमा ३९६ उद्योग नवीकरण भएका छन् भने ५४ उद्योगले नामसारी/नाम परिवर्तन गरेका छन्। चार उद्योगले ठाउँसारी गरेका छन् भने ७७ उद्योगले उद्देश्य थप गरेका छन्। ६७ उद्योग पुँजी वृद्धि गरेको कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष ०७८/७८ मा जिल्लामा २ हजार १ उद्योग दर्ता भएका थिए।

Shivam cement

उक्त आर्थिक वर्ष दर्ता भएका उद्योगमा २ अर्ब ७० करोड ९० लाख लगानी भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा ३ हजार ५१५ उद्योग थपिएका थिए। ती उद्योगमा १ अर्ब ८९ करोड ५२ लाख ६० हजार ६५९ रुपैयाँ लगानी भएको थियो।

१ लाखसम्म पुँजी भएका उद्योगले १ हजार १०, ३ लाखसम्म पुँजी भएका उद्योगले ३ हजार १००, ५ लाखसम्म पुँजी भएका उद्योगले ६ हजार १००, ५० लाखसम्म पुँजी भएका उद्योगले १२ हजार १००, १ करोडसम्म पुँजी भएका उद्योगले २० हजार १००, ५ करोडसम्म पुँजी भएका उद्योगले ३० हजार १०० र ५ करोडभन्दा माथि पुँजी भएका उद्योगले ५० हजार ११० दर्ताबापत शुल्क बुझाउनुपर्छ।–रासस

प्रकाशित: Jul 30, 2022| 15:18 शनिबार, साउन १४, २०७९
प्रतिक्रिया दिनुहोस्