मकवानपुर– हेटौंडा उपमहानगरले नगरबासीलाई मासिक १० हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ। उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो।
खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाले बताए। हेटौंडामा खानेपानी बोर्डअन्तर्गतका झन्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उनको भनाइ छ।
उपमहानगरले खानेपानी बोर्डमार्फत नगरबासीलाई उक्त सुविधा दिन लागेको हो। यसबाट नगरका १ लाख ४५ हजार जनसंख्या लाभान्वित हुनेछन्। खानेपानी उपलब्ध गराएबापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक २ करोड ३९ लाख ७० हजार उपलब्ध गराउनेछ।
हाल बोर्डले उपमहानगरअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप ६ वडाका केही क्षेत्रका १ लाख ४५ हजार नागरिकलाई २१ हजार ७५० धारामार्फत दैनिक १ करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको जनाएको छ।–रासस