काठमाडौं– वैदेशिक रोजगार विभागले विज्ञापनबिनै नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने १४८ मेनपावर कम्पनी जरिमाना गरेको छ। विभागले ३÷४ साउन २०७९ को मितिमा विज्ञापन प्रकाशन गर्न विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन नगर्ने मेनपावर कम्पनीलाई ५० हजार रुपैयाँ जरिमाना गरेको हो।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कोटामा कामदार माग भए मेनपावर कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने प्रावधान छ। विज्ञापन प्रकाशन नगर्ने कम्पनीलाई सोही ऐनको दफा ४९ बमोजिम जरिमाना गरिएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।
दफा ४९ मा कुनै इजाजतपत्रवालाले दफा १६ बमोजिम विज्ञापन प्रकाशन नगरे वा विभागको स्वीकृतिबिना विज्ञापन प्रकाशन गरे विभागले त्यस्ता कम्पनीलाई ५० हजार जरिमाना गरी विज्ञापन रद्द गर्न लगाउने व्यवस्था छ। मेनपावर कम्पनीले तोकिएबमोजिमको विवरण खुल्ने गरी कामदार छनोट गर्न नेपाली भाषामा प्रकाशन हुने कुनै पनि राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सात दिने म्याद दिई विज्ञापन प्रकाशन गर्नुपर्छ।
३ साउनका लागि स्वीकृति लिएका ५५ र ४ साउनका लागि स्वीकृति लिएका ९३ मेनपावर कम्पनीलाई जरिमाना गराइएको विभागले बताएको छ। तीमध्ये ४ वटा मेनपावर कम्पनीले पूर्वस्वीकृतिबिनै विज्ञापन प्रकाशन गरेको पाइएको महानिर्देशक पौडेलको भनाइ छ। विभागले शाखाले ती कम्पनीको सूची विभागको वेबसाइटमा सार्वजनिकसमेत गरेको छ।