चाँदीजस्तै टल्किने सुन्दर हिमाल केही वर्षयता नांगिएको खबर हिमाली भेगका गाउँलेदेखि विश्व प्रख्यात वैज्ञानिकहरुले पनि सुनाउँदै आएका छन्। भनिन्छ, विश्व जलवायु परिवर्तनका कारण यस्तो भएको हो।
नांगो आँखाले हेर्दा एक वर्ष हिउँ घटेको र अर्को वर्ष हेर्दा बढेको देख्न सकिन्छ किनकि जलवायु हरेक वर्ष परिवर्तन भइरहेको हुन्छ। हाम्रो स्मरण शक्ति छोटो पनि हुन सक्छ, दुज्ई चार वर्षअघि के भयो भन्ने बिर्सिन सकिन्छ। कहिलेकाहीँ हाम्रो अवलोकन भ्रमपूर्ण पनि हुन सक्छ। प्रश्न यहाँ १-२ वर्षको मात्र हैन, दीर्घकालीन रुपमा हिमाल नांगिएको छ कि छैन भन्ने हो। वैज्ञानिकहरुले केही वर्षको मात्र नभएर धेरै वर्षको अवलोकनलाई विश्लेषण गरेका हुन्छन्। त्यसको लागि उनीहरुसँग भएका प्रविधिमध्ये एउटा सम्भावना भनेको विगत पाँच-छ दशकदेखि लगातार रुपमा लिइएका उपग्रहका डाटाहरुको प्रयोग हो। ती उपग्रहबाट लिइएका तथ्यांकहरुले र अध्ययनहरुले के बताउँछन् त? के नेपालका हिमालहरु साँच्चिकै नांगिएका वा नांगिन थालेका हुन् त?
उपग्रहबाट लिइएका डाटाहरु सन् १९४० को दशकदेखि नै उपलब्ध भए पनि पहिलो सिभिलियन उपग्रह भने सन् १९७२ मा प्रक्षेपण गरिएको थियो। अमेरिकी सरकारको 'ल्याण्डसाट' नामक उपग्रहले सन् १९७२ देखि अहिलेसम्म लगातार रुपमा संसारभरिको अवलोकन गरिराखेको छ। त्यसो त अहिले अमेरिकासहित ४० भन्दा बढी देशको आफ्नै उपग्रह छ, अनि यस्ता देशहरुको संख्या बढ्दो क्रममा छ। नेपालले पनि आफ्नै उपग्रह नेपालस्याट-१ प्रक्षेपण गरेको छ। सरकारी तवरमा मात्र हैन, निजी तवरमा पनि व्यापक रुपमा उपग्रह प्रक्षेपण गर्न थालिएको छ। साथै उपग्रहको प्रविधिमा पनि द्रूत गतिमा विकास भइरहेको छ।
उपग्रहबाट लिइएका डाटाहरु सन् १९४० को दशकदेखि नै उपलब्ध भए पनि पहिलो सिभिलियन उपग्रह भने सन् १९७२ मा प्रक्षेपण गरिएको थियो।
तिनै उपग्रहबाट लिएका डाटाहरु प्रयोग गरेर हिउँ, हिमताल र हिमनदीहरुको अवलोकन र निगरानी गरिएको छ वा गर्न सकिन्छ। त्यस अर्थमा अहिले हामीसँग ५० वर्षभन्दा बढी समयदेखिको तथ्यांक उपलब्ध छ। हरेक दिन नयाँ डाटाहरु थपिइरहेका छन् अनि नयाँ र अर्थपूर्ण डाटाको उपलब्धि दिनानुदिन बढिरहेको छ।
५० वर्षभन्दा बढीको तथ्यांकले ढाँट्दैन, वैज्ञानिक प्रमाण स्पष्ट हुन्छ। त्यसमा पनि उपग्रहबाट लिएका फोटोहरु स्वतन्त्र र निष्पक्ष प्रवृत्तिका हुन्छन्। ती डाटाहरु हरेक दिन वा हरेक हप्ता लगातार रुपमा लिन सकिन्छ। फेरि ती डाटाहरुले ठूलो क्षेत्रफल ढाक्छन्। उदाहरणको लागि मेचीदेखि महाकालीसम्मको पूरै हिमालमात्र हैन कि विश्वकै हिमालहरु एकै दिनमा अवलोकन गर्न सकिन्छ। संसारको जुनसुकै कुनामा बसेर तथ्यांक विश्लेषण गर्न सकिन्छ।
परम्परागत प्रविधि प्रयोग गरेर दिनहुँ वा वर्षेनी हिमालयको स्थलगत सर्वेक्षण गर्नु त्यो पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म असम्भव जस्तै हो। हिमालमा जानै गाह्रो छ, कति ठाउँमा जानै सकिँदैन। जान सके पनि धेरै समय लाग्छ र धेरै महँगो पनि हुन्छ। स्मरण रहोस्, अन्टार्कटिका र आर्कटिकपछि हिमालयमा विश्वको तेश्रो ठूलो बरफ र हिउँको भण्डार छ, निकै ठूलो क्षेत्रफल ओगटेको छ।
स्थलगत सर्वेक्षण गर्न सकियो भने अन्य प्रविधि जस्तै- बर्फ कोर (आइस कोर) हेरेर धेरै वर्ष अगाडिसम्मको अध्ययन गर्न सकिन्छ। स्वचालित मौसमी केन्द्रहरु पनि स्थापित गर्न सकिन्छ र गरिएका पनि छन्। तसर्थ बर्फ कोर नमुना र स्वचालित मौसमी केन्द्रबाट उपलब्ध भएको तथ्यांकको विश्लेषण गरेर हिउँ र हिमतालहरुको अवलोकन गर्न सकिन्छ। तर पनि चाहिए जति नमुना संकलन गर्न र चाहिए जति स्वचालित मौसमी केन्द्रहरु स्थापना गर्न र सञ्चालन गर्न भने अत्यन्तै गाह्रो र महँगो हुन जान्छ। स्थापना गर्न सकिहाले पनि स्वचालित मौसमी केन्द्रहरुबाट पुराना डाटाहरु भने पाउन सकिँदैन। नयाँ डाटामात्र संकलन गर्न सकिन्छ।