काठमाडौं– सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले बागलुङको ताराखोला गाउँपालिकामा २.५ मेगावट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण गरी व्यापारिक उत्पादन थालिसकेको छ।
कम्पनीले १३ साउनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुलाएको हो। आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको छ।
आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरी बिक्री नभएको १ लाख २१ हजार ६० कित्तासमेत गरी ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन खुलाएको हो। यसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ।
बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन मागेको हो। कम्पनीको आईपीओमा छिटोमा १७ साउन र उक्त अवधिमा पर्याप्त आवादेन नपरे ढिलोमा २७ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन्।आईपीओ निष्कासनका लागि कम्पनीको धितोपत्र निष्कासन तथा तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।