काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको घाटा प्रत्येक वर्ष बढ्दै गएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा निगम इतिहासकै सर्वाधिक बढी घाटामा गएको छ। गत वर्ष मात्र निगमले ४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष निगमको घाटा ३ अर्ब ६६ करोड रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष निगमको घाटा १ अर्ब १३ करोडले बढेको छ।
निगमले जहाज उडान तथा ग्राउन्ड ह्यान्डलिङबाट कुल १२ अर्ब ४५ करोड आम्दानी गरेको छ। उडान खर्च बापत ६ अर्ब ८ करोड, बिमामा ८२ करोड ९१ लाख, रेन्टल खर्च ६७ करोड ३९ लाख र मर्मत संभारमा ८१ करोड ८३ लाख खर्च भएको विवरण निगमले सार्वजनिक गरेको हो।
यसैगरी निगमले ग्राहक सेवामा ६७ करोड ३७ लाख, मूल्यह्रासमा २ खर्ब १ करोड, प्रशासनिक खर्चमा २ खर्ब ४० करोड र एजेन्सी कमिसनमा २५ करोड खर्चेको छ। उक्त सबै शीर्षकमा निगमले कुल १३ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ।
नेवानिले आन्तरिकतर्फ दुई जहाज र अन्तर्राष्ट्रियतर्फ ४ वटा जहाजबाट उडान भर्दै आएको छ। निगमको घाटा बढेपनि निगमका अध्यक्ष युवराज अधिकारील आम्दानी बढेको भन्दै भ्रामक प्रचार गरिरहेका छन्। अधिकारीलाई बर्खास्त गर्ने तयारी भएसँगै आम्दानी बढेको भन्दै गलत प्रचार थालेका हुन्।