काठमाडौं– ओखलढुंगा–सिन्धुली जोड्ने नवलपुरको पक्की पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई सहज भएको छ। पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० भित्र उद्घाटन गरिने स्थानीय जनप्रतिनिधिले बताए। करिब २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ। पुलमा पाँच वटा स्पान छन् भने चौडाइ ११ मिटरको छ।
दुई वटा ठूला सवारीसाधन सहज रूपमा आउजाउ गर्न सक्नेछन्। निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल २०७३ असार अन्तिममा शुरु भएको र २०७६ सम्म सकिसक्नुपर्ने भए पनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताए।
उनले पुल निर्माण सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको जानकारी दिए। पुल निर्माण गर्न कुल २४ करोड रुपैयाँ लागेको उनको भनाइ छ। पुल निर्माणपछि सिन्धुली, रामेछाप र ओखलढुंगालाई जोड्ने उनले बताए।
त्यस्तै, पूर्वसांसद एवं कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगा, सोलुखुम्बु, खोटाङलगायत जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा पहल गरेकै परिणाम निर्माण हुन सकेको दाबी गरे। उनले यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुंगा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने बताए।
पक्की पुल निर्माणसँगै नजिकका जिल्लामा पर्यटकीय स्थलको सम्भावना बढ्ने उनको विश्वास छ। पुल बनेपछि स्थानीय जनप्रतिनिधि र स्थानीय खुसी भएका छन्। पुल निर्माण नहुँदा डुंगाबाटै आउजाउ हुने गरेकामा विभिन्न दुर्घटना निम्तिने त्रास रहेकाले यी समस्याबाट छुटकारा मिल्ने स्थानीयको भनाइ छ।
पुल निर्माणपछि सामान ओसारपसारका लागि पनि सहज हुने उनीहरू बताउँछन् । किसानका लागि पनि पुलले धेरै सहयोग पुग्ने विश्वास स्थानीयको छ। किसानले उत्पादन गरेका खाद्य सामग्रीको बजारीकरणमा सहयोग पुग्नेछ।
पुलले ओखलढुंगाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यक्तालाई सहज बनाइदिएको छ। सिन्धुलीबाट ओखलढुंगाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएबत्तिकै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आउजामा सहज हुनेछ।
सुनकोसी नदीमाथिको नवलपुरको पुलले काठमाडौंसँग ओखलढुंगालाई जोड्ने छोटो बाटो हुनेछ। बुधबार कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसांसद खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुखसहितका स्थानीय जनप्रतिनिधिले पक्की पुलको निरीक्षण गरेका थिए।