काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेट र सवारीसाधन चालक अनुमतिपत्र वितरण प्रणाली सहज बनाउन अध्ययन समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव चूडाराज ढकालको संयोजकत्वमा समिति गठन गरेर काम अगाडि बढाइएको हो।
समितिले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाबारे अध्ययन गरेर सुझाव दिनेछ। मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालले इम्बोस्ड नम्बर प्लेटबारे सबैको चासो बढेपछि त्यसलाई सम्बोधन गर्न समिति गठन गरिएको जानकारी दिए।
लाइसेन्स वितरण प्रणालीमा भएको ढिलासुस्ती र झन्झटिलो प्रक्रियालाई सहज बनाउन पनि समितिले अध्ययन गरी सुझाव दिनेछ। अध्ययन समितिका सदस्य एवं यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतले भने, ‘अहिले अध्ययनमै छौं। लाइसेन्स वितरणलाई कसरी सहज बनाउने र इम्बोस्ड नम्बर प्लेटबारे उठेका प्रश्नको सम्बोधन कसरी गर्न सकिन्छ भनेर सुझाव पेस गरिनेछ।’ मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाबारे छलफल अघि बढाएको उनले बताए।
यातायात व्यवस्थापन र लाइसेन्स वितरण अधिकार प्रदेश सरकारको भएकाले पनि कार्यान्वयनमा अन्योल देखिएको विभागको बुझाइ छ। समितिलाई प्रतिवेदन कति समयभित्र बुझाउने भनेर यकिन समय भने तोकिएको छैन। हाल विभागले करिब एक लाख लाइसेन्स वितरण गर्न बाँकी छ।