काठमाडौं– सरकारी हस्तक्षेपका कारण आर्थिक रूपमा टाट पल्टिनै थालेको नेपाल वायुसेवा निगम (नेवानि) पछिल्लो समय आम्दानी गर्ने हैसितमा उक्लिएको छ। निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ। निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ।
निगम व्यवस्थापनका अनुसार अहिले निगमले ३ अर्ब २७ करोड रुपैयाँ जुनसुकै समय चलाउन सक्छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी प्रवेश गर्दा ५८ करोड रुपैयाँ नगद मौज्दात भएकामा करिब २ अर्ब रुपैयाँको नगद मौज्दात भई १ अर्ब ३५ करोड रुपैयाँ (कर्मचारी सञ्चय कोषलाई ९० करोड) ऋण भुक्तानी गरिएको छ।
दुई वर्षसम्म निगमले ऋण तिर्न नसकेको अवस्थालाई चिर्दै हालको अवस्था निकै राम्रो रहेको नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीको दाबी छ। निगमले चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो आठ महिना (साउनदेखि फागुन)सम्म ८ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा आम्दानी ५ अर्ब ७० करोड रुपैयाँ थियो।
निगमले उडान संख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ‘ए’ ३३० सिरिजका दुई वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशत हाराहारी पुगेको छ।
कात्तिकमा ए–३२० ले सात घन्टा ३८ मिनेट र ए–३३० ले छ घण्टा ३८ मिनेटले बढेको छ। चैतमा ९ घन्टा ४८ मिनेट ए–३२० को र १० घन्टा ४१ मिनेट ए–३३० को समय बढेको छ। विविध कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान पुनः सञ्चालन भएका छन्।
निगमका एक उच्च अधिकारीका अनुसार कात्तिकमा दिल्लीको दैनिक एक उडान भएकामा हाल दुई उडान भइरहेको छ। मुम्बईको बन्द रहेको उडान हाल सातामा तीन भइरहेको छ। बैंगलौर, दोहा, दुबई, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र साउदी अरबमा उडान संख्या बढाएर उडान भएका छन्।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ र कार्गोतर्फ २४ वायुसेवासँग सम्झौता गरी निगमको साख र आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ। अन्य उडानका कनेक्टिङ उडानमा यात्रुको आवश्यकतालाई ध्यानमा राखी निगमको उडान सीमालाई सुधार गरी अन्तर्राष्ट्रिय ख्यातिमा पनि वृद्धि गरिएको छ।
निगमले यात्रु सेवा पद्धति वायुसेवा कम्पनीको जीवन–रेखा मानिने ‘पीएसएस’ पद्धतिमार्फत रिजर्भेसन, टिकेटिङ, एयरपोर्ट चेकिङ, इन्टरनेट बुकिङ सञ्चालन हुने गरेको छ।
मध्य तथा खाडी मुलुक जाने नेपाली श्रमिकलाई भाडा छुट, डिजी सर्टिफिकेट सेवा, गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र उडान, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल परीक्षण र अवतरण, केन्द्रीय कार्यालयमा सर्भेनियर सेल्स काउन्टर, जहाज र बोर्डिङ पासमा विज्ञापन, निगम र विद्युत् प्राधिकरणबीच सम्झौता, उद्धार र मेडिकल सामान आपूर्तिजस्ता कार्य निगमले छोटो समयमा पूरा गरेर आर्थिक अवस्था सुधार गरेको छ। –रासस