आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मानिसलाई प्रकृतिको सन्देश : हिउँको पृथ्वी यात्रा

अविराम चलिरहेको हिउँको यात्रा त्यतिखेर सकसपूर्ण हुन्छ, जब मानिसले प्रकृतिलाई दोहन गर्न थाल्छ।
 |  मंगलबार, साउन १०, २०७९
nespernesper

राज सरगम

राज सरगम

मंगलबार, साउन १०, २०७९

काठमाडौं– मञ्चको पर्दा खुलेसँगै देखिन्छ, हिमाल। हिमालमा चलेको सिरेटोको लयसँगै हिउँ पग्लिन थाल्छ। हिउँपानी बग्दैबग्दै बोल्न थाल्छ, ‘हिमालमा मेरो विश्राम सकियो। अब फेरि यात्रा सुरु हुनेछ।’

triton college

नदीको मुख्य मुहान हिमाल हो। हिमाल पग्लिएसँगै हिउँहरू पानी बनेर यात्रामा निस्किन्छन्। सदियौंदेखि हिउँपानी नदी र खोला बनेर एकनासले बगिरहेका थिए। हरेक ऋतुमा बगिरहने हिउँपानीको बगाइमा एकरूपता थियो। सहज रूपमा चलिरहेको हिउँको यात्रा त्यतिखेर सकसपूर्ण हुन्छ, जब मानिसले प्रकृतिलाई दोहन गर्न थाल्छ। 

प्रकतिको दोहन गर्दा आउने प्राकृतिक विपत्ति नै ‘हिउँको पृथ्वी यात्रा’ नाटकको मूल कथा हो। बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक हिउँको पृथ्वी यात्राले हिमाल र पानीको कथासँगै मानिस र जीवजन्तुको कथा पनि भनेको छ। मानिसको जनजीवनलाई अझै मसिनो गरी पर्गेलेका छन्, लेखक/निर्देशक घिमिरे युवराज र शेख अमजद प्रवेजले।   

बाँसले बारिएको एउटा घर छ। घरमा आदिवासी समुदायका माझी परिवार छन्, जसका आमा, श्रीमती, एक छोरा र एक छोरी छन्। राष्ट्रिय निकुञ्ज वरिपरि बस्दै आएको एउटा परिवार माछा मारेर जीवन निर्वाह गर्छ। तर दिनप्रतिदिन खडेरी बढेसँगै त्यो परिवार भयभीत छ। एक थोपा पानी पिउन रहर छ, माझी परिवारलाई। खडेरी लागेसँगै खोला, नदी र तालहरू सुक्दै गए। जीवनजन्तु आत्तिएर गाउँ पस्न थाले। बोटबिरुवा मर्दै गए।

Metro Mart
vianet
मानिस–नदीको सम्बन्ध सदियौंदेखि छ। अहिले आएर मानिसकै कारण नदी नदीजस्तो छैन। भोकाएर गाउँ पसेको कालजस्तो भएको छ। 

विकासको नाममा भइरहेको प्रकृतिको दोहनका कारण पानीको संकट आएको त्यो परिवारको सबै सदस्यलाई थाहा छ। तर केही गर्न सक्दैन बेहोर्नुसिवाय। 

रेडियोले पानी पर्छ भन्ने समाचार सुनेर खुसी हुने परिवारलाई रेडियोले पनि ढाँटेको लाग्छ। कहिलेकाहीँ झुक्याएर आकास गर्जिएको देखेर माझी परिवार खुसीले आकासतिर हेर्छन्। घरभित्र भएका सबै भाँडाकुँडा ल्याएर आकास मुनी थाप्छन्, तर पानी पर्दैन। एक थोपा पानीको पनि रहर हुन्छ। 

बारम्बार आकास बेजोडले गर्जिरहन्छ तर छिनभरमै बादल फाटेर जान्छ। बादलले पनि गिज्याएरै जान्छ। निरास माझी आफ्नै परम्परागत पेसालाई निन्तरता दिन छोरालाई विदेश पठाउन पनि मान्दैनन्। कहिले भने राष्ट्रिय निकुन्जभित्र माछा मारेको कारण नेपाली सेनाबाट बेलाबेला दुःख पाउँछन्। मारेको माछा खोसिन्छ। एक दिन छोरीलाई पनि जंगली हात्तीले मार्छ।

मरेकी नातिनीलाई साक्षी राखेर हजुरआमा बादलसँग अनेक गुनासा फल्याक्दै रिसाउँछे। त्यही बादल भयानक रूप लिएर बर्सिन्छ। अन्तिममा पानीले बाढीको रूप लिन्छ। बस्ती बगाउँछ। मृत छोरी बगाउँछ। श्रीमती बगाउँछ। आमा बगाउँछ। त्यो माझी परिवारको उठीबास बनाउँछ। 

बाढीका कारण बर्सेनि यस्ता कयौं गाउँबस्ती र घर डुबानमा परेका छन्। मानिस विस्थापित भएका छन्। आफन्त गुमाएका छन्। भएभरको भौतिक सम्पत्ति गुमाएका छन्। यस्तै–यस्तै दृश्यलाई नाटक हिउँको पृथ्वी यात्राले मार्मिक ढंगले उठान गरेको छ। 

नाटकमा भव्य सेट नभए पनि सेतो कपडा प्रयोगले हिमाल र हिमालमा चलिरहने सिरेटोको दृश्य निकै आकर्षण लाग्छ। मञ्चनका क्रममा प्राविधिक त्रुटि पनि नभएका होइनन्। हिउँझैं बगिरहने कलाकारको अभिनय यात्रा अवस्मरणीय छ। 

हिमाल, नदी र मानिसमा बराबरी समस्या आउँदै छ किनकि प्रकृतिले सबैलाई समान रूपले हेरेको हुन्छ। मनुष्यद्वारा परिचालित प्रकृतिको दोहनले जलवायु परिवर्तनमा ठूलो असर परेको नकार्न सकिन्न। आफ्नो अनन्त यात्राबारे पग्लिएर बगिरहेको हिँउले भनेको छ, ‘यो यात्रा कति लामो र रोचक हुनेछ । कहिले नसकिने अन्तत एउटा चक्रजस्तै।’

मानिस–नदीको सम्बन्ध सदियौंदेखि छ। अहिले आएर मानिसकै कारण नदी नदीजस्तो छैन। भोकाएर गाउँ पसेको कालजस्तो भएको छ। त्यसैले नदीको बाटोलाई नरोक किनकि उसको आफ्नै लय छ। भाषा छ। कला छ। जीवन र दर्शन छ। तर आजको नदीको अनन्त यात्रा खलबलिएको छ, जसरी समाज खजमजिएको छ । 

नाटक र दर्शकबीच ब्याक ग्राउन्ड म्युजिक र गीतले कनेक्ट गराइरहन्छ। डार्क पृष्ठभूमिमा पनि कलाकारको भूमिका सम्झनालायक छ। थारु परिवारमा आमाले नेपाली बोलिरहँदा छोराले मातृभाषा बोलिरहेको छ। नयाँ पुस्ताले आफ्नो मातृभाषा बोल्न छाडिरहेका बेला बूढीआमै (अघिल्लो पुस्ता) ले मातृभाषा नबोल्नु आश्चर्य मात्रै होइन, निर्देशकद्वयको चलाखी पनि लाग्छ। हुन सक्छ, आमाको भूमिका निर्वाह गर्ने पात्रलाई शुद्ध थारु बोल्न आउँदैनथ्यो या निर्देशकद्वयले दर्शकलाई आमाको कुरा बढी बुझाउन चाहे। 

यसर्थ, हिउँको पृथ्वी यात्राले उठान गर्न खोजेको विषय गम्भीर हो। नाटक हेरिसकेपछि ‘प्रोजेक्ट नाटक’ हो भन्नेमा द्विविधा हुँदैन किनकि नाटकले धेरै सन्देश दिन खोजेको छ। 

कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भइसकेको नाटक हिउँको पृथ्वी यात्रा काठमाडौं बाहिर मात्रै १२ पटक मञ्चन भएको थियो। साउन १५ सम्म चल्ने नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र बिसी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहार अनि ज्याक बरालको अभिनय देख्न सकिन्छ। नाटकमा अनुप तिमिल्सिना र स्मारिका फुँयालले प्रत्यक्ष संगीत भरेका छन्।

प्रकाशित: Jul 26, 2022| 17:10 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।