काठमाडौं– गृह मन्त्रालयले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज उपलब्ध गराएको छ। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको भन्दै तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन भइरहेको छ।
गृहले उपलब्ध गराएको फुटेजमाथि अध्ययन भइरहेको समितिले बताएको छ। समितिले अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरे/नगरेको विषयमा अध्ययन गर्न सिंहदरबारको दक्षिण र पश्चिम गेटको फुटेज गृहसँग माग गरेको हो।
संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेठको फुटेज नभएको बताएको थियो। सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा पनि १४ जेठको फुटेज फेला परेको छैन।