महेन्द्रनगर- कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा ६ करोड ५५ लाख कम राजस्व संकलन गरेको छ।
कार्यालयले गत आवमा ५२ करोड ७७ लाख राजस्व संकलनको लक्ष्य राखेपनि ४६ करोड २२ लाख संकलन भएको छ। कार्यालयले मूल्य अभिवृद्धि करतर्फ सो अवधिमा १६ करोड ३३ लाख संकलन गर्ने लक्ष्य लिएकामा १८ करोड ६३ लाख संकलन भएको भन्सार कार्यालयका प्रमुख धुर्वराज विश्वकर्माले जानकारी दिए। यस्तै अन्तःशुल्कबापत् एक करोड २७ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९२ लाख ८५ हजार राजस्व संकलन भएको छ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ३७ करोड ३९ लाख संकलन भएको विश्वकर्माले बताए।
यस्तै कार्यालयले आव २०७६/७७ मा ४८ करोड ६८ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकामा २६ करोड २८ लाख मात्र संकलन गरेको थियो। कोरोना संक्रमणका लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।