काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट गत जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर गरेको छ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते राति करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ।
बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा संसदीय विशेष छानबिन समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन। समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो।
प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो। मंगलबार बिहान बसेको समितिको बैठकमा सीसीटीभी फुटेज हेरिएको समितिका एक सदस्यले बताएका छन्। प्राप्त सीसीटीभी फुटेज प्रस्ट नभएको बताइएको छ।