चितवन- चितवनको भरतपुर महानगरपालिका-१० रमाइलोचोकका देवी श्रेष्ठले आइतबार सुनसान रातमा एक्कासि 'भ्यात्त' केही खसे जस्तो सुने। उनी मस्त निन्द्रामा थिए। त्यही आवाजले झस्किएर बिउँझिए।
मोटरसाइकल एक्सिडेन्ट भएछ कि भनेर उनले झ्यालबाट पर्दा तानेर हेरे। सुनसान नै देखेपछि उनी फेरि निदाउने तरखरमै थिए। तर, बाहिर मान्छेको होहल्ला सुनेपछि उनी उठेर तल झरे। हेर्दा घरछेउकै सडकमा एक पुरुष रगताम्मे अवस्थामा लडिरहेका थिए। उनी पनि हतारिँदै त्यही भीडमा मिसिए।
श्रेष्ठका अनुसार गएराति भरतपुर १० रमाइलोचोकका कृष्णप्रसाद आचार्यले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका रहेछन्। श्रीमतीको हत्यापछि भाग्नका लागि उनले तीन तलामाथिबाट हाम फालेको देखिन्छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै निवासमा ३५ वर्षीया श्रीमती रुस्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर तीन तलाबाट ४३ वर्षीय कृष्णप्रसादले हाम फालेका थिए। उनको घटनास्थलमै मृत्यु भएको छ।
लामो समय विदेश बसेर हालै फर्किएका कृष्णले घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
शनिबार राति करिब १०:२५ बजेतिर खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएपछि रुष्मालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर लगिएको थियो। उनलाई अस्पतालले राति १०:४० बजेतिर मृत घोषणा गरेको थियो।
खुकुरी प्रहार लगत्तै तेस्रो तलाबाट हाम फालेका कृष्णलाई भने चितवन मेडिकल कलेज लगिएको थियो। बरन्डाबाट सडकतिर हाम फालेका उनको सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते कृष्णलाई पनि अस्पतालले राति करिब ११ बजेतिर मृत घोषणा गरेको थियो।
मृतकद्वय आचार्यका छिमेकीसमेत रहेका श्रेष्ठका अनुसार कृष्ण डेढ महिनाअघि मात्रै विदेशबाट फर्किएका थिए।
'विदेशबाट आएर बुवाको किरिया बसेको त थाहा पाए। तर, उनको घरमा धेरै आउजाउ नहुने भएकाले पहिले पनि झगडा हुन्थ्यो वा हुन्थेन थाहा पाइनँ,' उनले भने। मृतकद्वयको घर छेउकै छिमेकीसमेत रहेका प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलका अनुसार मृतक आचार्य गत जेठ १९ गते वैदेशिक रोजगारीबाट नेपाल फर्केका थिए। विदेशबाट फर्किएको दिनदेखि नै श्रीमान्/श्रीमतीमा खटपट सुरु भएको थियो।
'उनीहरूको सम्बन्ध पहिले राम्रो थियो। यसपटक श्रीमान् विदेशबाट आएकै दिन झगडा परेछ। केटाले हातपात गरेको पाइएको छ,' उनले भने। झगडाको विषयमा छिमेकीहरू बसेर सम्झाईंबुझाईं गरेको उनी बताउँछन्।
उनीहरूको विवाद प्रहरीसम्म पुगेको थियो। त्यसपछि उनीहरू अलग-अलग बसेर खाना पकाउने-खाने गरेको छिमेकी बताउँछन्। अकस्मात् यस्तो घटना घट्दा आफूहरू चकित गरेको सांसद पोखरेलले बताए।
श्रीमान् विदेश हुँदा रुष्मा राष्ट्रिय मावि तोरीखेतमा शिक्षण गर्थिन्। विवाद चर्किँदै जाँदा उनीहरू सम्बन्ध विच्छेदको प्रक्रियामा समेत रहेका थिए।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता अधिकारीका अनुसार गत असार २ गते रुष्माले घरेलु हिंसा भएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। उक्त विवादका विषयमा तीन पटक छलफल गरेर अदालती प्रक्रियामा जाने दुवैपक्षबीच सहमति भएको प्रवक्ता अधिकारीले बताए।
'असार २ गते निवेदन परेपछि उहाँहरू पहिले बेग्लाबेग्लै बस्नुभएकाले सोही अवस्थामा बस्ने सहमति भएको थियो। र, १५ दिनपछि आउने भन्ने कुरा थियो। १७ गते आउँदा रुष्माको माइतीबाट बुवा नआएकाले निर्णय हुन सकेन। सँगै नबस्ने र पहिल्यकै अवस्थामा बस्ने सहमतिपछि उनीहरूलाई हामीले पुनः ३१ गतेलाई बोलाइएको थियौं। त्यसपछि दुबैतर्फको परिवार बसेर सँगै बस्न नसक्ने भएकाले अदालती प्रक्रियामा जाने सहमति भएको थियो,' उनले भने।
उनका अनुसार दोस्रो तलामा श्रीमती र तेस्रो तलामा श्रीमान् बस्नेगरि सहमति भएको थियो। ग्राउन्ड र पहिलो तला भने उनीहरूले भाडामा लगाएका थिए। उनीहरूका १२ वर्षीया छोरी छन्। आइतबार घटना हुँदा घरमा छोरी मात्रै थिइन्।
दुवैको शव भरतपुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।