शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकै आर्थिक वर्षमा ३ खर्ब ४३ अर्बको लगानी प्रतिबद्धता

एकै आर्थिक वर्षमा ३ खर्ब ४३ अर्बको लगानी प्रतिबद्धता

ठूला, मझौला र साना गरी ३०९ उद्योग स्थापनाका लागि ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।
 |  आइतबार, साउन ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन ८, २०७९

काठमाडौं– उद्योग विभागले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा स्वदेशी र विदेशी लगानीकर्ताबाट ३ खर्ब ४३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको तथ्यांक सार्वजनिक गरेको छ। 

National life

विभागका अनुसार अघिल्लो आव २०७७/०७८ को लगानीको तुलनामा आव २०७८/०७९ मा १ खर्ब ८६ अर्ब ९१ करोड बढी लगानी प्रतिबद्धता आएको हो। ठूला, मझौला र साना गरी ३०९ उद्योग स्थापनाका लागि उक्त परिमाणको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। उक्त रकमको लगानीबाट २८ हजार ७२७ जनालाई रोजगारी दिने उद्देश्य रहेको विभागको भनाइ छ।

३०९ उद्योगमध्ये साना ११०, मझौला १०८ र ठूला ९१ उद्योग स्थापना गर्ने प्रतिबद्धता छ। विभागकी सूचना अधिकारी पूर्णिमा लम्सालले उद्योग क्षेत्रमा लगानी बढ्नुले मुलुकको औद्योगिक र आर्थिक विकासमा टेवा पुग्ने बताइन्। उनले भनिन्, ‘पछिल्ला वर्षमा उद्योग क्षेत्रमा स्वदेशी र विदेशी लगानी बढ्दै गएको छ। यसबाट मुलुकको औद्योगिक र आर्थिक विकासमा योगदान पुग्नेछ।

स्वदेशी, विदेशी लगानीका उद्योग सञ्चालनले मुलुकमा बढ्दो बेरोजगारी समस्यालाई कम गर्न सहयोग पुग्ने अपेक्षा लम्सालको छ। विभागको तथ्यांकअनुसार आव २०७७/०७८ को असार मसान्तसम्म १ खर्ब ५६ अर्ब ६४ करोड ५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। उक्त लगानी प्रतिबद्धता २०३ उद्योग तथा ११ हजार ८३३ जनालाई रोजगारीसहित आएको विभागको तथ्यांक छ।  

आव २०७८/०७९ मा विदेशी लगानी ५४ अर्ब १५ करोड भित्रिएको छ। 

Shivam cement

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार घरजग्गाबाहेक बढीमा २० लाख रुपैयाँसम्म स्थिर पुँजी भएको लघु उद्यम, परम्परागत सीप र प्रविधिमा आधारित उद्योगलाई घरेलु उद्योग मानिने गरेको छ।

१५ करोडँसम्मको स्थिर पुँजी भएको साना, १५ करोडदेखि ५० करोडसम्मको मझौला र ५० करोड माथि स्थिर पुँजी भएकालाई ठूलो उद्योगको श्रेणीमा राखिएको छ। स्वदेशी लगानीकर्ताले औद्योगिक व्यवसायिक ऐन, २०७६ र विदेशी लगानीकर्ताले प्रत्यक्ष विदेशी लगानीमार्फत नेपालका उद्योगमा लगानी गर्न पाउने कानुनी व्यवस्था छ।

६२ वर्षमा २६ खर्ब २७ अर्ब लगानी

पछिल्लो ६ दशकमा मुलुकको उद्योग क्षेत्रमा सवा २६ खर्बभन्दा बढी लगानी भएको छ। उद्योग विभागको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्ममा विभिन्न क्षेत्रका उद्योगमा २६ खर्ब २७ अर्बभन्दा बढीको लगानी प्रस्ताव आएको छ। आर्थिक वर्ष २०१७/०१८ देखि २०७८/०७९ सम्ममा ८ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो।

हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ। साना उद्योग ५ हजार ४४२, मझौला उद्योग दुई हजार १७ र ठूला उद्योग एक हजार ३०५ दर्ता भएका छन्। हालसम्म दर्ता भएका उद्योगले ६ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ।

स्वदेशी लगानीका ३०९ उद्योग दर्ता

विभागको तथ्यांकअनुसार एक वर्षको अवधिमा स्वदेशी लगानीमा ३०९ वटा उद्योग दर्ता भएका छन्। एक वर्षको अवधिमा विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रका उद्योगमा आएको छ। ऊर्जामूलक क्षेत्रका ५० वटा उद्योगमा एक खर्ब ७० अर्ब ७६ करोड ७४ लाख ७३ हजार बराबरको लगानी प्रस्ताव आएको हो।

ऊर्जापछि सबैभन्दा धेरै लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगमा आएका छन्। एक वर्षको अवधिमा ११५ सेवामूलक क्षेत्रका उद्योग दर्ता हुँदा ८९ अर्ब ७९ करोड ४१ लाख ९१ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ।

पर्यटन क्षेत्रका ५८ उद्योगमा २६ अर्ब ५१ करोड ४९ लाख ७६ हजार, सेवामूलक क्षेत्रका ४६ उद्योगका लागि ४६ अर्ब ७५ करोड ५८ लाख, कृषि क्षेत्रमा २१ उद्योगका लागि पाँच अर्ब २८ करोड ९० लाख ९९ हजार, सूचना प्रविधि क्षेत्रमा ११ उद्योगका लागि र एक अर्ब ८९ करोड ८५ लाख, पूर्वाधार क्षेत्रका पाँच उद्योगका लागि दुई अर्ब २७ करोड ९१ लाख र दुईवटा खनिज उद्योगका लागि २५ करोड ९९ लाख बराबरको लगानी प्रतिबद्धता आएको छ।


प्रकाशित: Jul 24, 2022| 11:53 आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्