आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिथकीय खुवालुङ अर्थात् ढुंगाको फूल

आ–आफ्नो भाषा, संस्कार, संस्कृति जोगाउँदै आएका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल आदि जातिमा कुनै–कुनै कहानी कथा भएर खुवालुङ स्थापित भयो। अहिले पनि छ।
 |  शनिबार, साउन ७, २०७९
nespernesper

राज सरगम

राज सरगम

शनिबार, साउन ७, २०७९

दूधकोसी, अरुण र तमोर नदीको संगम स्थल त्रिवेणीको जलाशयमाझ एउटा विशाल ढुंगा छ, जसको रङ अन्य ढुंगाभन्दा बिल्कुलै फरक छ। 

triton college

हिउँदमा अलिअलि देखिने तर बर्खामा नदेखिने त्यो ढुंगालाई काटेर तल झरेसँगै सप्तकोसी लाग्छ। यही कोसी किनारैकिनारै सिकारी युगका मानिस तराईको रोगव्याधिसँग जुद्न नसकेर माथि उक्लिएका थिए। अचानक ती मानिस विशाल ढुंगानिर आएर अलमलिए। माथि उक्लिन बाटो खोजिरहेका ती आदिवासीलाई अन्तिममा बाटो देखाउने ‘खुवालुङ’ हुन्छ।

खुवालुङ अर्थात् पानीको ढुंगा। यो ढुंगाको बाटो काटेसँगै ती सिकारी युगका मानिसले नयाँ सभ्यता सुरु गर्छन्। नयाँ जीवन पाउँछन्। 

तमोर, दूधकोसी र अरुण नदीको किनारैकिनार माथि उक्लिएका सिकारी युगका मानिसकै सन्तान हुन्, आजका किराँती। 

आ–आफ्नो भाषा, संस्कार, संस्कृति जोगाउँदै आएका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल आदि जातिमा कुनै न कुनै कहानी कथा भएर खुवालुङ स्थापित थियो। 

Metro Mart
vianet

२०७७ फागुन ८ पछि खुवालुङ चर्चाको विषय बन्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा एक वाक्य बोलेका थिए, ‘स्टिमर चढेर सुनसरीको चतराबाट ११ मिनेटमा भोजपुर र ११ मिनेटमै भोजपुरबाट चतरा आइपुग्न बाधा भएको एउटा ढुंगो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दै छौं।’

खुवालुङलाई फोड्ने कुराले किराँती समुदायमा एउटा तरंग ल्याइदियो। किनकि, त्यो ढुंगा अन्य ढुंगाजस्तो सामान्य थिएन। त्यो त किराँत समुदायको आस्थाको धरोहर थियो। अहिले पनि छ। 

विकासको नाममा किराँत समुदायको सांस्कृतिक आस्था र सभ्यताको धरोहरमाथि प्रहार गर्न खोज्ने राज्यविरुद्ध व्यापक प्रतिरोध भयो। फलस्वरूप ‘खुवालुङ बचाऔं’ सांस्कृतिक आन्दोलन जन्मियो। यही आन्दोलनको निरन्तरता हो, लेखक राजन मुकारुङ लिखित नाटक खुवालुङ। यो नाटक साउन ६ गते शुक्रबारदेखि मण्डला नाटक घरमा मञ्चन भइरहेको छ। 


मदन पुरस्कार विजेता लेखक मुकारुङका अनुसार खुवालुङ नाटक सांस्कृतिक आन्दोलनको निरन्तरता हो। भन्छन्,  खुवालुङ हाम्रा लागि चिनो ढुंगा हो, जसलाई कलामार्फत पनि कहनुपर्छ भन्ने जिम्मेवारी महसुस गरिएर यो नाटक लेखेको हुँ।’

खुवालुङबारे जति धेरै कथाहरू छन्, ती सबैको आफ्नै लय र पयहरू छन्। मौखिक रूपमा भनिँदै आएको तिनको आफ्नै तौरतरिका बनेका छन्। कथाहरूमा पनि अनेक उपकथा र किस्साहरू थपिएर रोमाञ्चक बनेको भेटिन्छ। विभिन्न भाषी र समुदायपिच्छे खुवालुङलाई आफ्नै कथा भनिए पनि आस्था र विश्वासका रूपमा  समान र साझा मनोविज्ञानका साथ अपनत्व महसुस गरिएको छ। 

खुवालुङबारे मुन्दुमि, तायामि र अग्रज (नाक्छचोङ बिजुवा, पुर्खा)बाट आफूले सुनेका र कतिपय प्राप्त संकलित प्रकाशित कथा कहानीका आधारमा ‘साझा मान्यता’लाई मात्रै यस नाटकमा कोरिएको बताउँछन्, राजन । 

तर उनले यो विषयलाई नाटकको साटो उपन्यास लेख्न सक्थे। नाटक नै किन रोजे?

राजन भन्छन्, ‘उपन्यास लेखेको भए म एउटा मात्रैको उपस्थित हुन्थ्यो। तर खुवालुङ बचाऔं अभियान भएकाले टिमले भन्नुपर्छ भन्ने लागेर नाटक गरेको हो।’

उनका अनुसार नाटकको मूल चुरो सांस्कृतिक आन्दोलनमार्फत खुवालुङ विरोधीलाई सामूहिक खबरदारी गर्नु पनि हो।

आ–आफ्नो भाषा, संस्कार, संस्कृति जोगाउँदै आएका राई, लिम्बू, याक्खा, सुनुवार, थामी, जिरेल, सुरेल आदि जातिमा कुनै–कुनै कहानी कथा भएर खुवालुङ स्थापित भयो। अहिले पनि छ।

खुवालुङ अचानक बनेको ढुंगो होइन। यो हजारौं हजार वर्षदेखि नदीको बीचमा उदयपुर, धनकुटा र भोजपुरको सीमा भएर बसेको छ। नदीको बीचमा बसेर पनि नखिइनु, रङमा बदलाव नआउनु र प्रलयकारी भूकम्प आउँदा पनि हलचल नहुनु आफैंमा रहस्यमय छ। यो अडिग भएर बस्नु पनि कुनै दैविक शक्ति छ भन्ने विश्वास गर्न सकिन्छ। अर्थात्, यो आमढुंगाभन्दा फरक छ। 

यो ढुंगालाई नछोईकन अहिले पनि साना स्टिमर (जेटबोट) हिँउदमा चल्छन्। तर ओलीले आफ्नो कार्यकालमा पानीजहाजको सपना खुबै बाँडे। त्यसपछि सुनसरीको चतरादेखि भोजपुरको कोप्चेसम्म पानीजहाजको साटो दुईटा ठूला स्टिमर चलाउन खोजियो। ५०–६० सिटे दुई स्टिमर वारपार गर्ने अवरोधको रूपमा खुवालुङ देखियो, जसलाई ओलीले फुटाएर जल यातायातलाई सहज बनाइने भाषण गरेका थिए। 

राजन भन्छन्, ‘ठूला स्टिमर चलाउन खुवालुङले बाधा-अवरोध गर्‍यो भन्नु केवल वहाना हो । खासमा त्यो ढुंगा फोरेर हेर्नु हो। त्यसभित्र के छ भन्ने कूतुहलले पनि त्यस्तो काम गरेको हुन सक्छ भन्ने लाग्छ।’

खुवालुङलाई जोगाउँदै अन्य विकल्प अपनाएर ठूला स्टिमर चलाउन सकिन्छ। तर कसैको आस्थाको धरोहरमाथि सीधै प्रहार गर्नु भनेको गम्भीर नहुनु पनि हो। 

‘मिथकीय पाटोबाट किराँत समुदायले आफ्नो पुर्खाको निशानीको रूपमा मान्दै आएको छ, खुवालुङलाई’, राजन भन्छन्, ‘आउँदा/जाँदा बाटो नभुलोस् भन्ने विश्वासले अहिले पनि ढुंगा राख्ने चलन छ।’


‘हामी त लुङबुङ पनि हौं, अर्थात् हामी ढुंगाको फूल पनि हौं।’

नाटक खुवालुङमा राखिएको एक संवाद हो, यो । यसबाट के थाहा हुन्छ भने किराँत समुदाय ढुंगालाई अटल र अडिगको विम्बका रूपमा लिन्छन्। 

राजनका अनुसार ‘लुङ’ भनेको ढुंगा हो। र फूललाई ‘बुङ’ भन्छन्। ‘चोमो भनेको आकाश हो। ‘चेमोलुङ’आकाशको ढुंगा भनेर सगरमाथालाई बुझ्दै आएको पाइन्छ, किराँत समुदायमा। 

‘हिमाल तथा पहाड–पर्वत पनि ढुंगाबाटै बनेको हो भन्ने विश्वास छ मुन्दुमिमा’, उनी भन्छन्, ‘किराँत समुदायमा ढुंगाचाहिँ कठोर हुँदैन भन्ने जनविश्वास छ। फूलजस्तै प्रिय हुन्छ। ढुंगा कठोर होइन, अटल हुन्छ भन्छन्। हामीले ढुंगाबाट लिने विम्ब भनेको कठोर होइन, अटल र अडिग हो।’

किराँत समुदायमा गाइने गीतमा लुङ र बुङको अनुप्रास मिलाइन्छ। तर अन्य भाषामा ढुंगा र फूलको अनुप्रास मिल्दैन। किनकि, ढुंगालाई पत्थर र चट्टान भनेर अन्य भाषीले बुझ्दै आएका छन्। 

किराँत समुदायमा तीन चुला लगाउने चलन छ, जुन ढुंगाकै हुन्छ। तीन चुला लगाउँदा पनि मुन्दुमि फल्याक्छन्। 

‘तीन वटा ढुंगा पुज्दा पुर्खाको प्रतीक, महिलाको प्रतीक र वंशको प्रतीकको रूपमा ढुंगा राख्दै गएको बताउँछन्, उनी। भन्छन्, ‘वंशकै प्रतीकको रूपमा राखेको ढुंगामा चाहिँ खुवालुङ पनि पर्छ। जस्तै,  तिमी त खुवालुङ पनि हौ भनिन्छ।’

खुवालुङ अचानक बनेको ढुंगो होइन। यो हजारौं हजार वर्षदेखि नदीको बीचमा उदयपुर, धनकुटा र भोजपुरको सीमा भएर बसेको छ। नदीको किनारमा बसेर पनि नखिइनु, रङमा बदलाव नआउनु र प्रलयकारी भूकम्प आउँदा पनि हलचल नहुनु आफैंमा रहस्यमय छ।

खुवालुङलाई संस्कार र संस्कृतिको प्रतीक पनि मानिन्छ। खुवालुङ सांस्कृतिक विश्वास र अभ्यासको जग हो। खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरूको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास भएको मानव सभ्यताको कथा नै यसको कथा हो। अहिले पनि २८ भाषी राईले आफ्नै पारामा पुज्दै आएका छन्, खुवालुङलाई । 

नाटकमा खुवालुङको सहयोगकै कारण आज किराँतीहरू फैलिन सकेको कथन छ। राजन भन्छन्, ‘खुवालुङले बाटो दिएरै हामी फैलिएको हो भन्ने विश्वास छ।’

जल यातायातका लागि किराँती समुदायको आस्थाको केन्द्र ‘खुवालुङ’ नफुटाई अन्य विकल्पको खोजी हुनुपर्छ भन्ने लाग्छ, राजनलाई। प्रदेश सरकारले खुवालुङलाई संरक्षण गरिनेछ भनेर रातो किताबमा लेखेको भए पनि त्यसका लागि प्रक्रियागत काम हुन नसकेको बताउँछन्, राजन। उनी भन्छन्, ‘लेखेर मात्रै संरक्षण हुँदैन। केही योजना बनाउनुपर्ला । खुवालुङ विकास कोष निर्माण गर्न सकिन्छ। त्यो पनि गरिन सकिएको छैन।’

किराँत समुदायको सांस्कृतिक धरोहर खुवालुङ ‘पर्यटकीय हब’ बन्न सक्ने स्थल पनि हो। तर सरकार पर्यटन विकासमा खुवालुङको महत्त्लाई उजिल्याउन संरक्षणतिर लागेको देख्दैनन्, उनी। ढुंगा सम्झिएर फोड्नतिर लागेकामा चिन्ता सुनाउँदै उनी भन्छन्, ‘खुवालुङलाई पर्यटकीय हबको रूपमा विकास गर्न सकिन्छ। मुन्दुमि खुवालुङदेखि खुवालुङसम्म भनेर स्थानीय सरकारबाट पहल भइरहेको पनि छ। त्यसलाई प्रदेश र केन्द्र सरकारले सहयोग गर्नुपर्ने हो।’

खुवालुङसम्म आन्तरिक पर्यटन भित्र्याउने, खुवालुङमाथि प्राज्ञिक डिस्कोर्स चलाउने र खुवालुङको सभ्यता र सस्कृतिबारे नयाँ पुस्तालाई बुझाउन सक्ने आधार निर्माण गर्न पनि खुवालुङ नाटक सहयोगी हुन सक्ने बताउँछन्, राजन। 

राजन २ घन्टा लामो नाटकमा आफ्नो प्रयत्नबाट खुवालुङ र किराँत सभ्यता बुझाउने कोसिस गरेको सुनाउँछन्। भन्छन्, ‘खुवालुङ संरक्षणका लागि खुवालुङ के हो भन्ने कलामार्फत बुझाउने कोसिस गरेको छौं। कति बुझाउन सकियो, त्यो भोलि थाहा हुँदै जाला।’

थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नाटक खुवालुङलाई रंगकर्मी किरण चाम्लिङ राईले निर्देशन गरेका हुन्। मञ्चमा मात्रै, २७ कलाकारको अभिनय देख्न पाइन्छ। नाटकमा लाइट, ब्याकग्राउन्ड साउन्ड, कवि स्वप्निल स्मृति तथा नाटक लेखक राजन मुकारुङले लेखेको गीतले नाटकलाई कोसीझैं बगाउन सहयोग गरेको छ। भव्य सेट, खुवालुङ र पानीको कलकल आवाजले एकछिन सप्तकोसी नै पुगेझैं भान हुन्छ। खुवालुङले देखाएको अर्थात् ढुंगाको बाटोले दर्शकलाई समेत स्तब्ध बनाउँछ। नाटक साउन २९ सम्म मञ्चन हुनेछ। 


प्रकाशित: Jul 23, 2022| 08:21 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।