काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीको शव ल्याउन कठिनाइ भइरहेको बताएका छन्। बिहीवार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार,सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले यस्तो बताएका हुन्। अहिले अरबी देशमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउन नसक्नु ठूलो चुनौतीको विषय बनेको उनको भनाइ छ।
‘अहिले हेड्याक्कको विषय भनेको अरबतिर केही शव छन्। जो इलिगल रुपमा केही देशहरुमा गएका थिए। हाम्रै नेपाली नागरिकहरु हुन्। उनीहरुको शवलाई हामीले दाहसंस्कार गर्न सकेका छैनौं। त्यो नेपाल सरकारको लागि चुनौतीको विषय हो,' मन्त्री कुँवरले भने, 'यो कुरालाई सामना गर्ने कुरामा त्यहाँ केही कोमामा भएका दाजुभाइ छन्। उहाँहरुलाई पनि देशभित्र ल्याउने कुरामा हाम्रो साझा दायित्व के हुन्छ। एनआरएन र सरकार दुवैले ध्यान दिनुपर्नेछ।’
मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए। मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै श्रम मन्त्रालयका सचिव एकनाराण अर्यालले सबै भन्दा धेरै विकृति विसङ्गति भएको क्षेत्र वैदेशिक रोजगार क्षेत्र रहेको बताए। वैदेशिक रोजगारीले जीडिपीमा ५७ प्रतिशत योगदान भनेपनि चाहेजति व्यवस्थित बनाउन नसकेको उनको भनाइ छ।
सचिव आर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताए। खाडी मुलुकमा जाने श्रमिकको लागि पनि २ लाख लिने प्रचलन रहेको भन्दै त्यसको पनि सरकारले अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ।