शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महाकाली करिडोर सडक : १२ वर्षमा ३० किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोर सडक : १२ वर्षमा ३० किलोमिटर मात्रै कालोपत्रे

२०६६ देखि सुरु भएको सडक निर्माण १२ वर्ष बितिसक्दा वर्षमा २ किलोमिटर मात्रै कालोपत्रे भएको हो।
 |  बिहीबार, साउन ५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ५, २०७९

महेन्द्रनगर– नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका टिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको निराशाजनक देखिएको छ। २०६६ देखि सुरु भएको सडक निर्माण १२ वर्ष बितिसक्दा ३० किलोमिटर कालोपत्रे भएको हो। यस आधारमा वर्षमा औसतमा २ किलोमिटर मात्रै कालोपत्रे भएको छ। 

National life

कञ्चनपुरको ब्रह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको टिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदै छ। महाकाली करिडोर दार्चुला–टिंकर सडक योजनाका इञ्जिनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको बताए।

‘पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न स्थानमा गरेर हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको छ,’ इञ्जिनियर घतानीले भने, ‘शून्य बिन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सञ्चालन हुन सकेको छैन।’

कञ्चनपुरको ब्रह्मदेवदेखि डडेलधुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्रयाक खोल्न गत वर्ष असारमा ५ करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम हुन सकेन। उक्त क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुंगोमा लगाउन नसक्दा निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था छ।

‘वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि–अलि काम भएको छ,’ उनले भने, ‘रुख कटानको विषय वन मन्त्रालयमा थन्किएको छ।’ 

Shivam cement

करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै १ हजार ९५१ रुख कटान गर्नुपर्नेछ। उक्त १५ किलोमिटर ट्रयाक २०८० भित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुप¥यो। महाकाली करिडोर दार्चुला–टिंकर सडक योजनाले करिडोरअन्तर्गत बाँकी तीन जिल्लामा ट्रयाक खोल्ने काम भइरहेको जनाएको छ। योजना कार्यालयका अनुसार हालसम्म डडेलधुरामा २२ किलोमिटर ट्रयाक खुलेको छ। डडेलधुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर ट्रयाक खुलाउनुपर्नेछ।

त्यसैगरी बैतडीमा १४५ किलोमिटरमध्ये ७० किलोमिटर ट्रयाक खुलिसकेको इञ्जिनियर घतानीले जानकारी दिए। उनले दार्चुलामा २०० किलोमिटरमध्ये ९४ किलोमिटर ट्रयाक खुलेको बताए। दार्चुलामा २०० किलोमिटरमध्ये ७८ किलोमिटर ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ। २०६६ मा दार्चुला–टिंकर सडक नामकरण गरिएको यो योजना २०७४ मा महाकाली करिडोरमा परिणत गरिएको हो।

सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण करिडोर मानिए पनि सरकारले योजनाको रकम विनियोजन भने विगतभन्दा घटाएको छ। गत वर्ष ७९ करोड ४२ लाख रकम विनियोजन भएकामा चालू आवमा ४१ करोड मात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ।

रुख कटानलगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ। करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा १ हजार ९५१ रुख कटान गर्नुपर्नेछ । त्यसैगरी डडेलधुरामा १० हजार ४७६, बैतडीमा ४ हजार ५९६ र दार्चुलामा २ हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला–टिंकर सडक योजना कार्यालयले बताएको छ।

‘रुख कटानका लागि वन विकास कोषमा हामीले ५७ करोड रकम जम्मा गर्नुपर्नेमा ३७ करोड जम्मा गरिसकेका छौं,’ इञ्जिनियर घतानीले भने, ‘रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुंगोमा पुग्छ।’ उनले करिडोरअन्तर्गत सबैतिर ट्रयाक खोल्न ठेक्का सम्झौता भइसकेको बताए।

-रासस

प्रकाशित: Jul 21, 2022| 12:02 बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्