शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कालीगण्डकी प्रसारण करिडोरको कुश्मा-बुटवल प्रसारण लाइनमा नगरको अवरोध

कालीगण्डकी प्रसारण करिडोरको कुश्मा-बुटवल प्रसारण लाइनमा नगरको अवरोध

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ। 

National life

पर्वतको फलेवास नगरपालिकाले अहिले बनाउन थालिएको स्थानभन्दा दायाँ वा बायाँ परिवर्तन गर्न माग गर्दै प्रसारण आयोजनाको काम अवरोध गरेको हो। खासगरी नगरपालिकाको वडा नं ६ देवीस्थानको ठूलो क्षेत्रफल प्रसारण लाइनले प्रभावित पार्ने भएपछि क्षेत्र परिवर्तन गर्न माग गरिएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए। फलेवासको ‘नगरको गौरव’ को आयोजनाका रूपमा निर्माण गरिरहेको फलेवास रङ्गशालाको बीचमा पर्नेगरी २२० केभीको लाइनका टावर निर्माण गर्न लागेपछि देवीस्थानवासी र फलेवास नगरपालिकाका जनप्रतिनिधिनै त्यसको विरोधमा उत्रिएका हुन्। 

आयोजनाका तीनवटा टावर निर्माण गर्दा नगरकै गौरवका रूपमा रहेको रङ्गशाला, निर्माणाधीन फलेवास बसपार्क र दुईवटा सामुदायिक विद्यालयमा समेत असर पर्ने भएकाले वैकल्पिक क्षेत्रबाट लाइन निर्माण गर्न फलेवासवासी नगरपालिकाले आयोजनासमक्ष माग गरेको हो। 

कालीगण्डकी करिडोर प्रसारण आयोजनाको कुश्मा-बुटवलखण्ड विस्तारको लाइन सार्न माग गर्दै केही महिनादेखिनै स्थानीयवासीले दबाब दिँदै आए पनि सुनुवाइ हुन सकेको छैन। नगरकै गौरवका रूपमा निर्माणाधीन फलेवास रङ्गशालाको माथिबाट लाइन विस्तार गर्दा रङ्गशाला नै विस्थापित हुने भन्दै देवीस्थानवासी र समग्र फलेवासका जनप्रतिनिधिसमेतले आयोजनाको विरोधमा उत्रिएका हुन्। 

आयोजना पक्षले एकतर्फीरूपमा पेलेर अघि बढ्न खोजेको नगरप्रमुख तिवारीले बताए। गत १६ असारमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकमा समेत कायम भएकै रुटबाट लाइन निर्माण गर्ने सहमति भएको भन्दै थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने स्थानीय भोला भुसालले बताए। 

Shivam cement

पर्वतको खुर्कोटदेखि बुटवलसम्मका २३३ टावरमध्ये हालसम्म २३० टावर निर्माण भइसकेको आयोजनाले जनाएको छ। देवीस्थानवासीले एपी १० ए, एपी १० बी र एपी ११ गरी तीनवटा टावर निर्माणका क्रममा विरोध जनाएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिए। आयोजना प्रमुख घोषले प्रसारण लाइनको टावर अन्यत्र सार्न नमिल्ने भन्दै नापजाँच भएर स्वीकृत भएकै ठाउँमा निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले प्रसारण लाइनको काम करिब अन्तिम चरणमा रहेको बताए। 

आयोजनाको खुर्कोट–बुटवल प्रसारण लाइन २२० केभिए क्षमताको हो। सोही आयोजनाको पहिलो खण्ड दाना–खुर्कोट अघिल्लो वर्षको माघमै सम्पन्न भइसकेको छ। २२० केभिएको ८८ किलोमिटर लामो लाइनमार्फत बुटवल स्टेशनमा जोड्ने यो लाइनमार्फत १५ सय मेगावाटसम्म विद्युत् प्रसारण क्षमता रहेको आयोजनाले जनाएको छ। दानादेखि खुर्कोटसम्मको लाइनमा भने ५०० मेगावाट विद्युत् प्रसारण हुने भएको छ। 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले उक्त आयोजनाको काम स्वीकृत भएको क्षेत्रअनुसार नै गर्न सहयोग गर्नुपर्ने बताउनुभयो। फलेवासका नगरप्रमुख गङ्गाधर तिवारीले देवीस्थान र फलेवासवासीले कुनै पनि हालतमा उक्त स्थानमा टावर निर्माण गर्न नदिने भएकाले वैकल्पिक बाटोबाट लाइन विस्तार गर्न अनुरोध गरेको बताए। 'मैले फलेवासवासी जनताको चाहनाविपरीत काम हुन दिन्न,' तिवारीले भने, 'नगरकै गौरवको आयोजनालाई असर पर्ने गरी लाइन विस्तार गर्न खोजे थप समस्या आउन सक्छ।'

प्रकाशित: Jul 20, 2022| 20:15 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्