काठमाडौं- गत आर्थिक वर्षमा बैंकहरूको निक्षेपको तुलनामा कर्जा प्रबाह ३३.५२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा बैंकहरूले ३४० अर्ब निक्षेप संकलन गरेका छन् भने ४५४ अर्ब कर्जा प्रवाह गरेका छन्।
जेठ महिनाको तुलनामा असार महिनामा निक्षेप १४० अर्ब रुपैयाँले बढेको छ भने कर्जा १८ अर्ब ३५ करोड रुपैयाँले कम भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
त्यस्तै गत वर्ष सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। सो बैंकले गत आर्थिक वर्षमा मात्र १०१ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ। त्यस्तै सो अवधिमा सबैभन्दा बढी निक्षेप घट्नेमा नेपाल बंगलादेश (एनबी) बैंक रहेको छ। एनबीले गत आर्थिक वर्षमा ८९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप गुमाएको छ। तर नबिलले र एनबी बैंकलाई असार २६ गते प्राप्ती गरिसकेको छ।
त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको ७ अर्ब ४६ करोड, एनआइसी एसिया बैंकको ५ अर्ब २७ करोड निक्षेप घटेको छ। त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकमा नबिल परेको छ। सो बैंकले गत आर्थिक बर्षमा १०३ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यस्तै गत आर्थिक वर्षमा सबैभन्दा बढी कर्जा घट्ने बैंकमा नेपाल बंगलादेश बैंक रहेको छ। सो बैंक नबिल बैंकसँग मर्ज हुने भएपछि कर्जा उठाउनतिर ध्यान दिँदा कर्जा घटेको र निक्षेप पनि घटेको हो। गत आर्थिक वर्षमा नेपाल बंगलादेश बैंकपछि सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा सिभिल बैंक रहेको छ। सो बैंकले एक वर्षमा ४ अर्ब १४ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको थियो।
त्यस्तै हालसम्म सबैभन्दा बढी निक्षेप रहेको बैंकमा नबिल बैंक रहेको छ। सो बैंकसँग निक्षेप ३२९ अर्ब ५७ करोड रुपैयाँ निक्षेप र ३ खर्ब ९ अर्ब रुपैयाँ कर्जा रहेको छ। त्यस्तै सो बैंकको सीडी रेसियो पनि सबैभन्दा धेरै ८९.७९ प्रतिशत सीडी रेसियो रहेको छ। अर्थात् सो बैंकको गत आर्थिक वर्षको निक्षेप र कर्जाको रेसियो हेर्दा साउनमा बैंकले कुनैपनि कर्जा प्रबाह गर्ने अवस्था देखिँदैन।
त्यस्तै निक्षेप र कर्जामा सबैभन्दा थोरै रहेको बैंकमा सिभिल रहेको छ। सो बैंकको हालसम्मको निक्षेप ९६ अर्ब र कर्जा प्रबाह ८७ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै सो बैंकसँग अझै ४.४५ प्रतिशत तरलता रहेको छ। जुन कर्जा प्रवाह गर्न सक्ने रकम हो। सिभिल बैंकको सीडी रेसियो ८५.५५ प्रतिशत रहेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख गरिएको छ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार सबैभन्दा बढी सहज अवस्थामा भने प्रभु बैंक रहेको छ। सो बैंकको सिडि रेसियो ७८.३५ प्रतिशत रहेको छ। अझै उसले करिब १२ प्रतिशत कर्जा प्रबाह गर्न सक्ने अवस्था रहेको देखिएको छ।