काडमाडौं– श्री स्टिल्सले टिएमटी छड पनि भारत निर्यात गर्न थालेको छ। मंगलबारबाट यस स्टील कम्पनीले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुन सेरवामा निर्यात गरेको हो।
बजेटमार्फत सिमेन्ट तथा स्टिल निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ। सिमेन्ट भारततर्फ निर्यात सुरु भइसकेको छ। श्री स्टिल्सले छड निर्यात गरेसँगै छडको पनि निर्यात सुरु भएको हो। कम्पनीका प्रबन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी निर्यात शुभारम्भ गरिएको हो। प्रालिका प्रबन्ध निर्देशक अग्रवालले भारतीय बजारको माग अनुसार निर्यात बढाउँदै जाने बताएका छन्।
अग्रवालले यो निर्यातको सुरूआत र सफलता उद्योगको मात्र नभई राष्ट्रकै सफलता भएकोले स्टिल्स मात्र नभई अन्य उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन उनले सरकारलाई आग्रह गरे। वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको अग्रवालको दाबी छ। केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित श्री स्टिल्सले टिएमटी छड उत्पादन गर्दै आएको छ।
यस कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको दाबी गरेको छ। श्री स्टिल्सले प्रतिघण्टा ४० टन छड उत्पादन गर्ने क्षमता रहेकोमा हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवामा स्थापना गरिएको श्री स्टिल्समा तीन अर्ब रुपैयाँ लगानी रहेको छ।