शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • संसदमा अड्किए आर्थिक क्षेत्रसम्बन्धी ११ विधेयक, अघि बढाउन चेम्बरको आग्रह

संसदमा अड्किए आर्थिक क्षेत्रसम्बन्धी ११ विधेयक, अघि बढाउन चेम्बरको आग्रह

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन्।
 |  बुधबार, साउन ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ४, २०७९

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले संसदमा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर मुलुकको अर्थतन्त्रसँग जोडिएका ११ विधेयक अगाडि बढाउन आग्रह गरेका हुन्। 

National life

अध्यक्ष मल्लले अर्थतन्त्रसँग जोडिएका धेरैजसो विधेयक रोकिँदा निजी क्षेत्रसँग सम्बन्धित कतिपय समस्या सम्बोधन हुने नसकेको बताए। धितोपत्रसम्बन्धी ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयक र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्नेसम्बन्धी विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहँदा समस्या परेको उनको भनाइ छ।

अध्यक्ष मल्लले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले सङ्घीय निर्वाचनअघि अर्थसँग सम्बन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन आग्रह गरे। 'मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्रसँग सम्बन्धित सबै विधेयकलाई सङ्घीय निर्वाचनअघि पारित गराउन सभामुखलाई आग्रह गर्दछु,' उनले भने।

उनले मुलुकमा व्यवस्थित ढङ्गले गाँजाको खेती गर्ने वातावरण बनाउन र उक्त गाँजा निर्यात गरेर व्यापार घाटा कम गर्न सकिने बताए। अध्यक्ष मल्लले गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए। 

भेटमा सभामुख सापकोटाले संसदमा रोकिएका विधेयक अगाडि बढाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 'केही विधेयकलाई अघि बढाउन सम्बन्धित निकायमा भनिसकेको छु, बजेटसँग सम्बन्धित विधेयकहरु करिब करिब सकिएको छ। अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्‍नेमा सचेत छु,' उनले भने। 

Shivam cement

प्रकाशित: Jul 20, 2022| 00:15 बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्