काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करका दर हेरफेर गर्ने जिम्मा बिचौलियालाई दिएको आरोपमा छानबिन गर्न गठित संसदीय विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट सीटीटीभी फुटेज रिकभर गर्ने प्रयास गर्ने भएको छ। अर्थ मन्त्रालयको जेठ महिनाको सीसीटीभी फुटेज नभेटिएपछि फुटेज रिकभर गर्नका लागि समितिले फुटेज स्टोरेज हुने हार्ड ड्राइभलाई नै नेपाल फरेन्सिक ल्याब पठाउन लागेको हो।
बजेट घोषणाको अघिल्लो दिन राति बिचौलियालाई अर्थ मन्त्रालयमा ल्याएर करको दर हेरफेर गर्न जिम्मा दिइएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले ल्याबलाई हार्ड ड्राइभ जिम्मा दिएर फुटेज खोजीमा सहयोग गर्न आग्रह गरेको हो। समितले जेठ १४ गते मध्यान्ह १२ बजेदेखि १५ गते मध्यान्ह १२ बजेसम्मको सीसीटीभी फुटेज खोजिरहेको छ।
यसअघि अर्थ मन्त्रालयले सीसीटीभीको फुटेज १३ दिन मात्र स्टोरेज हुने बताएको थियो। त्यसपछि क्रमशः मेटिँदै जाने अर्थ मन्त्रालयको दाबी थियो। तर तत्कालीन मन्त्री शर्माकै निर्देशनमा मन्त्रालयले सीसीटीभी फुटेज डिलिट गरेको आरोप लाग्दै आएको छ।
फुटेज नभेटिएको फुटेज रिकभर गर्ने विषयमा सिमितिले साइबर ब्यूरो र इन्जिनियरिङ अध्ययन संस्थानसँग छलफल गरेको थियो। छलफलमा विज्ञले दिएको सुझाव अनुसार स्टोरेजलाई ल्याब पठाउने निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए। मंगलबार बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो।
समिति गठनभएपछि शर्माले पदबाट राजीनामा दिन बाध्य भएका थिए।