काठमाडौं- काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई कारबाही गर्दा ३३ करोड राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष ०७८/७९ मा उपत्यकाका तीन जिल्लामा ५ लाख ४ हजार ६९७ सवारीलाई कारबाही गरी ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व आम्दानी गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो।
सडक लेन अनुशासन उल्लंघन गर्ने १३ हजार ८९३ जना कारबाहीमा पर्दा ३३ हजार ५९० जना मादक पदार्थ सेवन गरी सवारी चलाउँदा कारबाहीमा परेका हुन्। यस्तै, तीव्र गतिमा सवारी हाँक्ने १८ हजार ४४७ सवारी कारबाहीमा परेका छन्। रातो बत्ती नियमको पालना नगर्नेहरूको संख्या करिब १९ हजार छ। अव्यवस्थित सडक पार्क तथा फुटपाथ पार्किङ गर्दा ४१ हजार ९०५ जना कारबाहीमा परेका छन्।
प्रहरीले विभिन्न घटनाको अनुसन्धान गर्न सीसीटीभीको समेत सहयोग लिँदै आएको छ। यसरी मेट्रोबाट प्राप्त फुटेजका आधारमा १ हजार २ सय ३ वटा घटनामाथि कारबाही गरेको छ भने मेट्रो सीसीटीभीबाट फिल्डमा ७ हजार ४ सय ५३ वटा घटनामाथि कारबाही भएको छ। यसरी सीसीटीभीबाट मात्र ८ हजार ६५६ वटा घटनामाथि कारबाही भएको छ। बढी भाडा लिने १० हजार २९५ सार्वजनिक सवारीकारबाहीमा परेका छन्।
यस्तै १ हजार ५ सय ९० वटा मोटरसाइकल हराएको भन्दै ट्राफिक प्रहरीमा निवेदन परेको छ। यस्तै ५०६ मोसा चोरीका घटनामा अनुसन्धान भइरहेको र ३७४ व६ मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।
ट्राफिक नियम उल्लंघन गर्नेलाई प्रहरीले सचेतना कडा समेत चलाउँदै आएको छ। यसरी १ लाख १२ हजार ७९६ जनालाई सचेतना कक्षा दिइएको छ। यस्तै ७ हजार २५० विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा दिइएको छ। ट्राफिक नियम उल्लंघन गर्दा ३ हजार ३५० पैदलयात्रीले पनि ट्राफिक कक्षा लिनुपरेको छ। जम्मा १ लाख ८० हजार ३३७ जनाले सचेतना कक्षामा सहभागिता जनाएका छन्।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन १० किअस्क मेसिन जडान गरिएको र कागजपत्र लिने स्थान कार्यालयको संख्या ३० पुर्याइएको ट्राफिकले जानकारी दिएको छ। यस्तै ट्राफिक एफएमबाट र १५ वटा निकायसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम भइरहेको प्रहरीले जानकारी दिएको छ। ट्राफिक व्यवस्थापनमा ९ निकाय खट्दै आएका छन्।