सोमबार, फागुन १८, २०८२

म्याग्दीको मंगलामा बाँदरबाट बाली जोगाउनै मुस्किल

वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छन्। आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन्।
 |  सोमबार, साउन २, २०७९

रासस

रासस

सोमबार, साउन २, २०७९

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बसेका छन्। मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन १ महिनाअघिदेखि खेतमा बस्न थालेका थिए। उनले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाएका छन्।

‘बाँदरको हुल पसे भने छिनभरमा खेतभरिको मकै सखाप पार्छन्,’ उनले भने, ‘बिहान उज्यालो भएदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर खेतमा बस्ने गरेका छौं।’ 

सल्यानका विश्वनाथ उपाध्ययले बाँदरले बाली नष्ट गरेर भित्र्याउनै नपाएपछि जंगल छेउको करीब ५ रोपनी जग्गामा खेती गर्न छाडेको ५ वर्ष भयो। ‘बाँदरले बाली भित्र्याउनै नदिएपछि मकै, कोदो लगाउन छोडेको हो,’ उनले भने, ‘श्रम र लगानी खेर जाने भएपछि बारीमा घाँस र रुख रोपेको छु।’ 

मङ्गलाको सल्यानका दीपक र विश्वनाथ बाँदर पीडित कृषकको प्रतिनिधि पात्र हुन्। बाँदरबाट बाली जोगाउन एकाबिहानै उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्ने कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बने गर्छन्। खेतीबाली लगाउने र हुर्काउनजस्तै बाँदरबाट जोगाउनु किसानका लागि अर्को चुनौती बनेको छ। बाँदर धपाउन कृषकको श्रम, पसिना र समय खर्च भएको छ।

आँखा झिमिक्क गर्नासाथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ। कृषक खाना र खाजा खाने समयसमेत पाउँदैनन्। बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्‍याइदिनुपर्ने बाध्यता रहेको जलजला–४ मल्लाजका कृषक चन्द्रबहादुर कार्कीले बताए। खेतबारीमा फल्दै गरेका बाली मात्र होइन बाँदरले मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात नास गरिदिने गरेको छ। बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल खानुका साथै बिरुवासमेत उखेलेर नष्ट गरिदिने गरेको जलजला–३ का द्रोण खत्रीले बताए।

kumari

वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छन्। आहारा, पानीको खोजीमा बाँदरसहित अन्य वन्यजन्तु बस्तीमै आउन थालेका छन्। 

कानूनअनुसार बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न र घरमा पशुको रुपमा पाल्न नपाउने व्यवस्था छ। बाँदरको समस्या न्यूनीकरण गर्न टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँसखेती गर्न सकिने सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए।


प्रकाशित: Jul 18, 2022| 08:57 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।