काठमाडौं– नेपाल धितोपत्र बोर्डले ३ कम्पनीलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ। बोर्डले २३ असारमा सिक्लेस हाइड्रोपावरलाई, २४ असारमा धौलागिरि लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।
सिक्लेस हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्कासन अनुमति पाएको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ।
धौलागिरि लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ।अभियान लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यकै ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा धौलागिरि लघुवित्तको सन्राइज क्यापिटल र अभियान लघुवित्तको मुक्तिनाथ क्यापिटल रहेका छन्।