शनिबार, असोज १०, २०८३

पहाडी क्षेत्रमा मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप अत्यधिक बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीति ९.२८ प्रतिशतले वृद्धि भएको उल्लेख छ।

केन्द्रीय बैंकका अनुसार तराईमा पनि मूल्य वृद्धिको उत्तिकै चाप परेको पाइएको छ। तराईमा ८.२९ प्रतिशत बराबरको उपभोक्ता मुद्रास्फीति रहेको छ। काठमाडौँ उपत्यकामा ८.३२ प्रतिशत, र हिमालमा ८.९२ प्रतिशत बराबरको उपभोक्ता मुद्रास्फीति रहेको छ। विवरणअनुसार २०७८ जेठमा तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ जेठमा काठमाडौँ उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत बराबरको उपभोक्ता मुद्रास्फीति थियो। 

बैंकका अनुसार २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, सूर्तीजन्य पदार्थ, मदिराजन्य पेयपदार्थ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २२.६० प्रतिशत, ११.२२ प्रतिशत, ९.७० प्रतिशत, ९.६८ प्रतिशत र ९.१३ प्रतिशत रहेको छ। साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, शिक्षा, फर्निसिङ्ग तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति र घरायसी उपयोगका वस्तु उपसमूहको मुद्रास्फीति क्रमशः २५.७९ प्रतिशत, ११.६४ प्रतिशत, ८.३० प्रतिशत, ८.२१ प्रतिशत र ७.८४ प्रतिशत बराबर छ। 

गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ। विसं २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ। 

यस्तो छ विदेशी विनिमय सञ्‍चिति 

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तसम्म नौ अर्ब ४५ करोड अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिती रहेको छ। बैंकका अनुसार २०७८ असार मसान्तमा रु १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति १५.९ प्रतिशतले कमी आई २०७९ जेठ मसान्तमा रु ११ खर्ब ७६ अर्ब ८४ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १९.६ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड कायम भएको छ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७९ जेठ मसान्तमा १७.१ प्रतिशतले कमी आई रु १० खर्ब ३१ अर्ब ८९ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७९ जेठ मसान्तमा ६.१ प्रतिशतले कमी आई रु एक खर्ब ४४ अर्ब ९५ करोड कायम भएको छ। 

गत  जेठ मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५  प्रतिशत बराबर छ। आव २०७८-७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

प्रकाशित: Jul 11, 2022| 21:45 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्