काठमाडौं- बैंकिङ क्षेत्रमा करिब तीन दशक योगदान गरेको नेपाल बंगलादेश (एनबी) बैंक नबिल बैंकमा विलय भएको छ। नबिल बैंकमा विलय भएर सोमबारदेखि एकीकृत कारोबार पनि सुरु भएको छ।
लामो इतिहास बोकेको वाणिज्य बैंकले नेपालको बैंकिङ क्षेत्रका उतारचढाव मात्र देखेन, समाचारले बैंकिङ क्षेत्रमा कसरी नकारात्मक असर पार्दो रहेछ र बैंकिङ व्यवसाय कसरी धराशायी हुँने रहेछ भनेर पनि अनुभव लियो।
२०६२ सालमा एक दैनिक पत्रिकाले बैंक एनबी बैंकको खराब कर्जा बढेर डुब्दैछ समाचार लेखेको थियो। त्यही समाचारलाई आधार मानेर निक्षेपकर्ताले निक्षेप फिर्ता लिए। यसले बैंकको व्यवसाय धाराशायी भयो। हालका गभर्नर महाप्रसाद अधिकारी उक्त बैंकलाई 'रेस्क्यु' गर्न पुगेका थिए, बैंक व्यवस्थापनको जिम्मा लिएर। अधिकारी संयोजक भएको टिममा राष्ट्र बैंकका भीष्मराज ढुंगाना, केशव केसी र सचिनजंग रायमाझी सदस्य थिए। उनीहरू एनबी बैंक व्यवस्थापनमा खटिए। अधिकारीको टिमले करिब एक वर्षमा बैंकका खराब कर्जा र त्यसबाट उत्पन्न भएका समस्या सुल्झाए। उनीहरुको चुस्त व्यवस्थापनसँगै बैंक 'सुधार'मा अघि बढेको थियो।
तीन दशक नेपालको बैंक तथा वित्तीय क्षेत्रमा योगदान पुर्याएको बैंक बैंकिङ क्षेत्रको 'लिडिर' मानिने नबिलसँग मर्ज भएर सुखद् अन्त्य भएको बैंकरहरू बताउँछन्।
एक वर्ष एनबी बैंकको नेतृत्व सम्हालेका अधिकारीले सबल बनाएर पुनः एनबी बैंकको व्यवस्थापनलाई नै बैंक जिम्मा लगाए। त्यसपछि पनि एनबी बैंकले धेरै उतारचढाव सामना गर्नुपर्यो। २०६८ सालमा एनबी बैंकको प्रमुख कार्यकारीको भूमिकामा बैंकलाई सम्हाल्न आइपुगेका थिए ज्ञानेन्द्र ढुंगाना। उनले एक दशकको यात्रा एनबीमा बिताए। उनकै पालामा एनबी बैक नबिल बैंकमा विलय भयो। नबिलमा पनि उनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) नै बनेका छन्।
एनबी बैंक पनि नबिल बैंक बनेसँगै नेपालमा वैदेशिक लगानीमा खोलिएको अर्को एउटा बैंकको विलय भएको छ।
एनबीलाई 'रेस्क्यु' गर्न सफल भएका कारण हालका गभर्नर अधिकारीको बैंकसँग भावनात्मक साइनो छ। बैंकलाई सफल बनाएसँगै अधिकारीको करिअरमा 'प्लस प्वाइन्ट' बनेको छ।