आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय औद्योगिक सर्वेक्षण : मुलुकभर ६० हजार बढी उद्योग रहेको तथ्यांक सार्वजनिक

राष्ट्रिय औद्योगिक सर्वेक्षण : मुलुकभर ६० हजार बढी उद्योग रहेको तथ्यांक सार्वजनिक

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणमा नेपालमा रहेका ६० हजार बढी उद्योग, व्यवसायमा ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय औद्योगिक सर्वेक्षण सार्वजनिक गरेको छ। सर्वेक्षणमा नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको देखिएको छ।

६० हजारमध्ये खानी तथा उत्खनन ३५६, औद्योगिक उत्पादन उद्योग ५५,६११, विद्युत् सेवा ९९४ र पानी, फोहोरलगायत क्षेत्रमा काम गर्ने २,२२४ उद्योग रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागको सर्वेक्षणले नेपालमा भएका चार वटा औद्योगिक प्रतिष्ठान उद्योगमा ४ लाख ९१ हजार २२७ जनाले रोजगारी पाएको देखाएको छ। यीमध्ये खानी तथा उत्खनन क्षेत्रमा ६,४८५, औद्योगिक उत्पादन उद्योग ४ लाख ४४ हजार ९६४, विद्युत् सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणले चार वटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तलब तथा सुविधा गरी १ खर्ब ७ अर्ब ८९ करोड रहेको देखाएको छ। 

सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको देखाएको छ। शुक्रबार सार्वजनिक राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजाअनुसार औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ३९ प्रतिशत उद्योग प्रतिष्ठानले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ।

१८.७ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको २५.४९ प्रतिशत र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशतभन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले जानकारी दिए। औद्योगिक प्रतिष्ठानमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्यांक सर्वेक्षणले देखाएको छ। 

सर्वेक्षणले बन्दाबन्दीका बेला उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकमाथि आर्थिक शोषण भएको देखाएको छ। कोभिड महामारीको समय सरकारले गरेको करिब ४ महिनाको लकडाउन अवधिमा लगभग ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।

विभागले विगतमा उत्पादनशील उद्योगलाई मात्रै समेटेर गणना गर्ने गरे पनि अन्य थप तीन क्षेत्रलाई समेटेर राष्ट्रिय औधोगिक सर्वेक्षण २०७६ गणना गरेको विभागले बताएको छ।

विभागले २०७६ फागुनमा तथ्यांक संकलन थालेको थियो। तर बीचमा कोभिड महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक भएको हो।

प्रकाशित: Jul 09, 2022| 11:35 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्