आइतबार, असार ७, २०८३

मुलुकभर हालसम्म ३५ प्रतिशत मात्रै धान रोपाइँ

यसपल्ट समयमै मनसुन सुरु भए पनि पर्याप्त पानी नपर्नु र किसानले रासायनिक मल नपाउँदा धान रोपाइँ ढिलो भएको कृषि विभागको तथ्यांक छ।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– रासायनिक मल अभावका समयमै खेती गर्न नपाउँदा यो वर्ष धान उत्पादनमा कमी आउने छनक देखिएको छ। यसपल्ट समयमै मनसुन सुरु भए पनि धान रोपाइँ ढिलो भइरहेको कृषि विभागले तथ्यांक सार्वजनिक गरेको छ।

National life

विभागका अनुसार यो वर्ष हालसम्म मुलुकभर ३०–३५ प्रतिशत मात्रै रोपाइँ भएको हो। गत वर्ष असार अन्तिम सातासम्म ५० प्रतिशत बढी धान रोपाइँ भएको विभागको तथ्यांक छ।

सात प्रदेशमध्ये कर्णाली प्रदेशमा रोपाइँ सकिन लागेको विभागले जनाएको छ । जुम्लामा ९९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ भने हुम्लामा ९८ प्रतिशत, डोल्पामा ९५ प्रतिशत, मुगुमा ७५, सल्यानमा ७० प्रतिशत, रुकुम पश्चिममा ६८ प्रतिशत, कालीकोटमा ६० प्रतिशत रोपाइँ भएको विभागको तथ्यांक छ।

प्रदेश १ मा हालसम्म ३१.९६ प्रतिशत रोपाइँँ भएको छ। प्रदेश १ को भोजपुरमा सबैभन्दा बढी रोपाइँ भएको विभागको तथ्यांक छ।

विभागका अनुसार भोजपुरमा ६० प्रतिशत, झापामा ४६ प्रतिशत, ओखलढुंगामा ४१ प्रतिशत, सोलुखुम्बुमा ४६ प्रतिशत रोपाइँ भएको छ। प्रदेश १ का अन्य जिल्लामा २०–३५ प्रतिशत मात्र रोपाइँ भएको देखिएको छ। 

Shivam cement

मधेस प्रदेशमा करिब २५ प्रतिशत हाराहारी रोपाइँ भएको छ। बागमती प्रदेशमा ३१ प्रतिशत रोपाइँ भएको विभागले बताएको छ।

बागमती प्रदेशको काठमाडौंमा सबभन्दा बढी रोपाइँ भएको छ भने सबभन्दा कम चितवनमा भएको छ। विभागका अनुसार काठमाडौंमा ६१ प्रतिशत, ललितपुरमा ५० र भक्तपुर ५९ प्रतिशत रोपाइँ भएको हो।

रामेछापमा २२, दोलखामा ३६, सिन्धुलीमा ४०, काभ्रेमा ५६.५ प्रतिशत रोपाइँ भएको छ। यस्तै, बागमती प्रदेशकै सिन्धुपाल्चोकमा २५ प्रतिशत र सबभन्दा कम चितवनमा ५ प्रतिशत मात्र रोपाइँ भएको विभागले तथ्यांक सार्वजनिक गरेको छ। 

यसपालि धान रोपाइँ ढिलो सुरु भएको कृषि विभागका महानिर्देशक डा. रेवतीरमण पौडेलले बताए। तराईका कतिपय ठाउँमा अझै रोपाइँ सुरु हुन नसकेको उनले जानकारी दिए।

हिमाल तथा पहाडको कतिपय स्थानमा  रोपाइँ सकिएको छ भने कतिपय ठाउँमा रोपाइँ भइरहेको उनले बताए। 

‘रोपाइँ ढिलो हुनुको मुख्य कारण सिँचाइ नै हो। मनसुन चाँडै सुरु भए पनि धान रोपाइँका लागि पर्याप्त पानी परेको छैन। धान रोपाइँका लागि पर्याप्त पानी चाहिन्छ तर चाहिने जति पानी नपरेको कारण धान रोपाइँमा ढिलाइ भएको हो’, उनले दाबी गरे।

रोपाइँ ढिलाइ हुनुको अर्को कारण चैते धान खेती पनि रहेको विभागको भनाइ छ। धेरै ठाउँमा चैते धान खेती हुन थालेको छ। चैते धान काटेर वर्षे धान लगाउनुपर्ने हुन्छ।

चैते धान कटाइ ढिलो भएको कारण कतिपय ठाउँमा बर्खे धान रोपाइँमा ढिलाइ भएको विभागका निर्देशक पौडेलले बताए। 

किसानले समयमा मल नपाएका कारण धान रोपाइँमा केही ढिलाइ भए पनि पानी परेपछि मलका लागि कुरेर नबस्ने पौडेलको भनाइ छ। रोपाइँ ढिलो सुरु भए पनि साउन दोस्रो सातासम्म सकिने अनुमान गरिएको उनले बताए।

प्रकाशित: Jul 08, 2022| 12:28 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्