काठमाडौं– नेपाली बजारमा किङलङको विद्युतीय माइक्रो बस भित्रिएको छ। जाइमेन किङलङ युनाइटेड अटोमोटिभ लिमिटेडले उत्पादन गर्ने विद्युतीय सवारी नेपालमा ईको भिजनरीले भित्र्याएको हो।
ईको भिजनरी प्रालिका अध्यक्ष उमेश श्रेष्ठले यी बस पर्यटक बस, स्कुल बस, कार्यालयका कर्मचारीहरुको सटलको रुपमा प्रयोग गर्न, विमानस्थलभित्र यात्रुको आवगमनमा प्रयोग गर्न उपयोगी हुने बताए।
सार्वजनिक यात्रुवाहक बसको रुपमा सञ्चालन गर्न पनि यी निकै उपयोगी हुने अध्यक्ष श्रेष्ठको भनाइ छ। उनले बस देख्दा आकर्षक डिजाइन, लोडेड फिचरहरु, प्रतिस्पर्धी मूल्य, बलियो र टिकाउ, किफायती सञ्चालन खर्च, प्रदूषण नियन्त्रणमा सहयोगी आदि विशेषतायुक्त भएको बताए।
यस्ता विद्युतीय माइक्रो बसको प्रयोगले देशको आर्थिक तथा पर्यावरणीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई नेपाली बजारमा भित्र्याइएको उनको भनाइ छ।
विद्युतीय सवारीसाधन संघका अध्यक्ष शंकरप्रसाद पोखरेलले निजीभन्दा पनि सार्वजनिक यातायातको लागि प्रयोग हुने सवारी विद्युतीय हुनुपर्नेमा जोड दिए। उनले यातायातका साधनलाई विद्युतीय बनाउने परिकल्पना स्वरुप सुरुमा तीन वटा सवारीबाट सुरु गरिएको बताए। हाल काठमाडौं उपत्यकामा ३ सय भन्दा बढी विद्युतीय ट्याम्पु सञ्चालन भइरहेको उनको दाबी छ।
ईको भिजनरीले ल्याएको विद्युतीय सवारी ‘किङविन एक्सएमक्यु ६५२०ईभी’ हो। यो १४ सिट क्षमताको माइक्रो बस हो।
५० किलोवाटको ब्याट्री रहेको यो बसमा एक घण्टामा १ सय किलोमिटर चलाउन सकिने क्षमता रहेको छ। यसमा ८० किलोवाटको मोटर रहेको छ। जसले २८० न्युटनमिटर टर्क उत्पादन गर्छ। एक पटकको फुल चार्जमा २५० किलोमिटर चलाउन सकिने छ। माइक्रो बस फाष्ट चार्जिङका माध्यमबाट एक घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ।
यो बसको मूल्य ६२ लाखभन्दा माथि हुने बताइएको छ। नेपाल आउन भने केही दिन लाग्ने कम्पनीले जनाएको छ।