आइतबार, असोज ११, २०८३

बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा

प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा सञ्चालनमा ल्याएपछि विद्युत् आपूर्तिमा सुधार हुनेछ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याएको हो।

प्रसारण लाइन निर्माणसँगै करिब २०० मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ। मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ। सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन्। 

प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ। त्यसमध्ये ४ वटा फिडरको लाइन तानिएको पाण्डेले उल्लेख गरे। 

१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावर निर्माण गरिएको छ। बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ। प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०/७१ मा सुरु भएको थियो। रुट परिवर्तन, कोभिड महामारीलगायतका कारणले आयोजना निर्माणमा केही ढिला भएको थियो। 

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बन्नेछ।

प्रकाशित: Jul 07, 2022| 14:36 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्