शनिबार, जेठ ५, २०८१

ओरालो लागेको अर्थतन्त्रमा उकालो लाग्दै बिमा व्यवसाय

बिमा समिति र कम्पनीहरूले बिमामा सर्वसाधारणलाई आकर्षित गराउन जनचेतनामूलक कार्यक्रम लिएर स्थानीय तहमा जान थालेपछि सर्वसाधारणको बिमाप्रति रुचि बढ्न थालेको हो।
 |  बिहीबार, असार २३, २०७९

भीमा पन्थी

भीमा पन्थी

बिहीबार, असार २३, २०७९

 काठमाडौं– बिमा कम्पनीको नियामक निकाय बिमा समितिले चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा बिमा व्यवसाय १९ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ। बिमा समितिका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवको समीक्षा अवधिमा बिमा व्यवसाय यस्तो वृद्धि भएको हो। 

triton college

नेपालमा सञ्चालित जीवन र निर्जीवन बिमा कम्पनीले जेठ मसान्तसम्म १ खर्ब ५३ अर्ब ६३ करोड रुपैयाँ बढी बिमाशुल्क आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको तुलनामा १९.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो रकम १ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ मात्रै थियो। 

बिमा कम्पनीहरू व्यवसाय राम्रै रहेको बताउँछन्। चालू आर्थिक वर्ष अत्यसम्म बिमा व्यवसायमा २० देखि ३० प्रतिशतको ‘ग्रोथ’ हुने कम्पनी सञ्चालकको अनुमान  छ। 

निर्जीवन बिमा व्यवसाय गर्ने सगरमाथा इन्स्योरेन्सका सीईओ शंकर क्षेत्री व्यवसाय चिन्ताजनक नरहेको सुनाउँछन्। ११ महिनाको व्यवसायलाई हेर्दा २० प्रतिशत वृद्धि भइसकेको बताउँदै उनले आर्थिक वर्ष अत्यसम्म कम्पनीको व्यवसाय वृद्धि २५ प्रतिशत हुन सक्ने जानकारी दिए। 

उनले भने, ‘बिजनेस राम्रै चलिरहेको छ। अहिले गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतको ‘ग्रोथ’ मा छौं,’ उनले भने, ‘सम्भवतः यो वर्ष २५ प्रतिशतले बढ्ने देखिन्छ।’

corrent noodles
Metro Mart

त्यस्तै, जीवन बिमा गर्दै आएको सिटिजन्स लाइफका एक शाखा प्रबन्धकले समग्र व्यवसाय राम्रो रहेको बताउँछन्। उनले भने, ‘हाम्रो कम्पनी नयाँ भए पनि प्रिमियम संकलनमा तेस्रो÷चौथो स्थानमा छ।’

उनका अनुसार कम्पनीले जिल्ला–जिल्लामा पुगेर बिमा शिक्षा कार्यक्रम चलाइरहेको छ। यसले  पनि बिमामा सर्वसाधारणको आकर्षण बढेको हो। 

बिमा व्यवसाय उकालो लागे पनि मुलुकको अर्थतन्त्र भने ओरालो लागेको छ। नेतृत्व तह तथा उच्च ओहदाका व्यक्तिहरूले पनि अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन्। व्यवसायी, उद्योगी तथा नागरिकले तरलता अभाव, उच्च ब्याजदर, महँगीलगायत आर्थिक संकटको धक्काको प्रभाव महसुस गरिरहेको अवस्था छ।

बिमा बचतबाट गरिने हो। तर अहिले बचत हुने अवस्था छैन। बजारमा महँगी उत्तिकै छ। व्यवसाय विस्तारका लागि कर्जा पाउने अवस्था छैन। पाए पनि महँगो दरमा लिनुपर्ने अवस्था छ।

बिमा समिति र कम्पनीहरूले बिमामा सर्वसाधारणलाई आकर्षित गराउन जनचेतनामूलक कार्यक्रम लिएर स्थानीय तहमा जान थालेपछि सर्वसाधारणको बिमाप्रति रुचि बढ्न थालेको हो।

यसबाट नाफामा संकुचन आई आम्दानी बढ्ने अवस्था टाढिएको छ। यिनै कारणले पनि व्यक्तिको बचत स्वतः घटिरहेको छ। यो अवस्थामा पनि बिमाको व्यवसायमा भने निरन्तर सुधार देखिन्छ। 

बिमाप्रति जनचेतनाको कारण व्यवसायमा वृद्धि भएको जानकारहरू बताउँछन्। बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं नागरिकमा बिमाप्रतिको चेतना वृद्धिको कारण व्यवसाय बढेको बताउँछन्। बिमा समितिले गर्दै आएको ‘स्थानीय सरकारसँग बिमा समिति’ नामक जनचेतनामूलक कार्यक्रमले पनि बिमा व्यवसाय फस्टाउन मद्दत मिलेको उनको बुझाइ छ। 

तरलता अभावले बिमा व्यवसायलाई भने सीधै प्रभाव नपर्ने उनले जिकिर गरे। ‘नेपालको सन्दर्भमा बिमा गर्ने व्यक्ति वा संस्था (बीमित)ले ऋण लिएर बिमा गर्दैन। यसले गर्दा तरलता अभाव र ब्याजदर वृद्धिको सीधा प्रभाव बिमामा पर्दैन’, उनले भने, ‘पहिला बचत नागरिकले घरजग्गा, सेयर बजार तथा राम्रो ब्याजदर भए बैंक ब्याजदरका लागि लगानी गर्थे। अहिले बचत बिमामा लगानी हुने गरेको छ।’

महँगी बढेको धेरै समय नभएको र यसको प्रभाव बिमा क्षेत्रमा पर्न केही समय लाग्ने उनको भनाइ छ। ‘बचतलाई महँगीले कटाउँछ,’ उनले भने, ‘अहिले नै बिमामा महँगीको प्रत्यक्ष प्रभाव परेको छैन। यसको प्रभाव केही समयपछि देखिएला।’

बिमाप्रति जनचेतनाको कारण व्यवसायमा वृद्धि भएको जानकारहरू बताउँछन्।

समितिकै पूर्वअध्यक्ष फत्तबहादुर केसी बिमाप्रतिको चेतना र उपलब्धता नागरिकसम्म पुगेकै कारण व्यवसाय बढेको बताउँछन्। बिमा व्यवसाय वृद्धि हुन चेतना, पहुँच र विश्वास महत्त्वपूर्ण हुनुपर्ने उनको भनाइ छ।

पछिल्लो समय समिति तथा कम्पनीहरूले नै स्थानीय तहसम्म पुगेर जनस्तरमा बिमासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेकै कारण पनि व्यवसाय वृद्धि हुनमा सघाएको केसी बताउँछन्। 

पछिल्लो समय सरकारले केही बिमा योजनालाई अनिवार्य गराएको कारण पनि व्यवसायमा वृद्धि भएको उनको दाबी छ। अनिवार्य भनेर जनतालाई जबर्जस्ती बिमालेख थोपर्ने प्रक्रिया राम्रो भने नहुने उनको सुझाव छ। 

बीमितलाई बुझाएर स्वेच्छाले बिमा गर्न तत्पर बनाउनु सरकार तथा कम्पनीहरूको दायित्व रहेको उनले बताए। 

सरकारले वैदेशिक रोजगार म्यादी बिमा अनिवार्य बनाउनु, सवारी साधन आयात केही समय पहिला बढ्दो हुनु, कृषि बिमा किसानको पहुँचमा पुग्नुलगायतका कारणले बिमा व्यवसायमा वृद्धि भएको केसीको धारणा छ। 

सेवा प्रवाहमा केही झन्झट भए पनि बीमितलाई अनुभूति गराउन सक्नुपर्ने उनको भनाइ छ। अहिलेको भुक्तानी प्रक्रिया झन्झटिलो भएकाले यसमा कम्पनीहरूको ध्यान जान आवश्यक रहेको उनले बताए। ‘बिमाको मर्म र बीमितलाई  विश्वासमा लिन भुक्तानी प्रक्रियालाई सहज बनाउनु आवश्यक छ। सबै स्थानीय तहबाट प्रिमियम संकलन हुन्छ भने त्यहीबाट छिटोछरितो भुक्तानी गरिनुपर्छ,’ उनले भने, ‘तब मात्रै बीमितमा बिमा गर्नुपर्छ भन्ने धारणाको विकास हुन्छ।’

सरकारको लक्ष्यभन्दा माथि बिमा पहुँच 

समितिका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा ३ करोड २ लाख नेपाली नागरिक बिमाको दायरामा जोडिएका छन्। यो संख्या  २०७८ को प्रारम्भिक जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६.९३ प्रतिशत हाराहारी हो। यो सरकारले राखेको लक्ष्यभन्दा बढी हो।

सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बिमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो।

गत आर्थिक वर्षको सोही अवधिमा २ करोड २९ लाख नेपाली बिमाको दायरामा थिए। यो २४ दशमलव ८१ प्रतिशत नेपालीको पहुँच हो। 

नेपालमा जीवन बिमा व्यवसाय सुरु भएको झन्डै ५ दशकको समयपछि पछिल्ला ४/५ वर्षयता बिमाको पहुँच बढ्दो छ। ५ वर्षअघि बिमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो । पूर्वअध्यक्ष चापागाईं आफू समितिमा रहँदा बिमाको पहुँच ५/६ प्रतिशतमा रहेको बताउँछन्।

चालू आवको असार मसान्तसम्म ४० प्रतिशत नेपालीमा बिमाको पहुँच पुग्ने समितिको अनुमान छ। 

प्रकाशित: Jul 07, 2022| 07:30 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्