काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा घाइतेले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध प्रस्तुत हुन सुझाव दिएका छन्।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराएका थिए। छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता रहेको थियो।
सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्, 'हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं। प्रक्रियासम्मत ढङ्गले कानुनी रुपमा तल नपर्ने गरी काम गर्छौं। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौं। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ।'
प्रधानमन्त्री कार्कीले राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको तथा आ–आफ्नो ठाउँबाट काम भइरहेको उल्लेख गर्दै आन्दोलनकारी घाइतेलाई बोल्न र आफूहरुलाइ दबाब दिन नछाड्न आग्रह गरे। 'अब नतिजा आउँछ। छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला,' उनले भनिन्।
घाइतेले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । गृहमन्त्री अर्यालले भाग्न खोजेका र , लुकेका पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताइन्।