काठमाडौं- सञ्चारमाध्यममा प्रयोग हुने भाषाको मानकीकरणका लागि प्रेस काउन्सिल नेपाललगायत सञ्चारसँग सम्बन्धित संस्थाले भाषासंहिता ल्याउन विज्ञ एवं सञ्चारकर्मीले सुझाव दिएका छन्।
भाषा आयोगले आज आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमाध्यमको शक्तिले भाषालाई शक्ति दिने वा शक्ति घटाउने भएकाले सञ्चारमाध्ममा भाषाको प्रयोग गर्दा एकीकृत अवधारणा निर्माण हुनुपर्नेमा जोड दिइएको हो। सञ्चारमाध्यमका लागि भाषिक सहजीकरणका लागि भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, भाषा विज्ञान विभाग, पाठ्यक्रम विकास केन्द्र र नेपाल पत्रकार महासङ्घबीच नीतिगत, व्यवहारगत र प्रयोगगत समन्वय हुनुपर्ने पनि उनीहरुको भनाइ थियो।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका लागि पत्रकार आचारसंहिता कार्यान्वयन गरिरहेको स्थितिमा आवश्यक पर्दा विज्ञहरुको परामर्शमा भाषासंहिता जारी गर्न सकिने बताए। उनले आचारसंहिताको प्रवर्द्धन र कार्यान्वयनका क्रममा भाषाको मानकीकरणबारे पनि समावेश गर्नुपर्नेमा जोड दिए।
आयोगका अध्यक्ष डा लवदेव अवस्थीले नेपाललगायत नेपालमा उत्पत्ति भएका भाषा क्रमशः कमजोर हुँदै गएको अवस्थामा त्यसको कारण र समाधानका उपायको खोजीका लागि सञ्चार क्षेत्रसँग आयोगले विशेष अपेक्षा राखेको उल्लेख गरे। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले भाषिक मानकीकरणका लागि विगतमा पनि आफूहरुले समन्वय गरेको र आगामी दिनमा पनि त्यो कार्य गरिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्थाबारे पत्रकार केदार शर्मा र केदारनाथ कोइरालाका कार्यपत्र प्रस्तुत भएका थिए। त्रिवि, नेपाली केन्द्रीय विभागका प्रमुख प्रा डा कृष्णप्रसाद घिमिरेले भाषाका सवालमा नीतिगत, व्यवहारगत र प्रयोगगत समस्या देखिएकाले शिक्षालयमा आफूहरुले शुद्ध सिकाए पनि कतिपय अवस्थामा सञ्चारमाध्यमले त्यही भाषाबारे अशुद्ध उच्चारण गरेमा सञ्चारमाध्यमबाटै विद्यार्थी प्रभावित हुने अवस्था आउन गरेको टिप्पणी गरे।
अर्का टिप्पणीकार प्रा डा जीवेन्द्रदेव गिरीले भाषा परिवर्तनशील भएको र यसमा क्रमिक सुधारको क्रम रहेकाले सञ्चारमाध्यमले भाषिक सरलीकरणका लागि भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा आयोगका सदस्य उषा हमाल, त्रिवि भाषा विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा डा बलराम प्रसाईं, प्राज्ञ डा हेमराज पौडेललगायतको सहभागिता रहेको थियो। हाल मुलुकमा १२३ भाषा रहेका छन् भने भाषा आयोगले थप ८ भाषाको पहिचान गरेको छ।