काठमाडौं- निरन्तर गीत लेखनमा सक्रिय छन्, डा. कृष्णहरि बराल। कथ्य भाषा र चरित्रअनुसारको गीत लेख्न रूचाउने बराल हिट गीत लेख्ने गीतकारमा पर्छन्।
नेपाली गीत साहित्यमा निरन्तर कलम चलाइरहेको बराल गीतकारले दुई किसिमले गीत लेखिरहेको देख्छन्। आफूभित्र जे छ त्यही आउनुपर्छ भन्ने लाग्छ उनलाई। गीत लेख्छु भनेर उनी कहिल्यै कलम–कापी समाएर बसेका छैनन्। उनी भन्छन्, ‘मैले गीत लेखिनँ। मलाई नै गीतले लेखायो।’
प्रायः उनका गीत यात्रामा फुरेका छन्। हिँडिरहेका बेला फुराइरहेका छन्। उनीभित्रको गीतको भावले सामान्यतया एक्लो भएका बेला प्रस्फुटन हुन खोज्छ। उनका गीत बेला–बेला भीडमा पनि आउन खोज्छन्। उनी भन्छन्, ‘सामान्यतया एक्लो भयो भने त्यसले बाहिर निस्कन जोर गर्छ।’
अन्तर–हृदयको भावमा जन्मिन लागेका गीतले झक्झकाउँछ। र, भीडमा पनि उनका गीतले निकास खोज्छन्। उनी भन्छन्, ‘भीडमा बोलिरहँदा पनि मनमा गीत फुरिरहेको हुन्छ।’
प्रेम, हास्यव्यंग्य, राजनीति, सामाजिक, सांस्कृतिक जे विषयमा पनि गीत बन्न सक्छन्। तर, कुन प्रयोजनका लागि गीत लेखिन्छ त ? या कसैको अनुरोधले लेखिने हो। गायक संगीतकार, निर्माता, निर्देशक, विज्ञापन राजनीतिक संगठनहरूले पनि गीत लेख्न दिइरहेका छन्। उनी भन्छन्, ‘गीत लेखाउन मलाई खोज्दै आउँछन् घरसम्म।’
गीतमा चरित्र पनि हेरिन्छ। उनले सिंगो सिनेमाको गीत पनि लेखेका छन्। सिनेमाको गीतका लागि उनी फिल्मको कथा सुन्छन्। अनि कथामा कहाँ–कहाँ गीत राख्न चाहन्छन्। निर्माण पक्षले कति गीत राख्न चाहन्छन् त्यसबारे बुझ्छन्। उनी भन्छन्, ‘कथाले कस्तो चरित्र, कुन समय र कहाँको परिवेशमा गीत खोजेको छ त्यसलाई बुझेर लेखिनुपर्छ।’
हामी कहाँको छौं, कहाँको परिवेशमा छौं, कुन जातिका छौं, त्यसलाई पनि ध्यान दिनुपर्नेमा जोड दिन्छन्। वनस्पति, नदीनाला, सामानहरूको विम्ब प्रयोग गर्न सकिन्छ। कहीं ‘ब्याकग्राउन्ड’ गीतमा कलाकारको चरित्र हेर्न त्यति महत्व नहुने देख्छन्।
कथ्य विषयभित्र राखेर गीत बनाउने हो। फिलिंग्समा लगेर थन्काइदिएँ। लय, फिलिंग्स, इमोसन एक्सप्रेसन, शिल्प पनि हुनुपर्यो।
सबै कथा सुनिसकेपछि गीत राख्ने ठाउँमा उनी गीतका शब्द कोर्न मन गर्छन्। जे जस्ता विम्ब आउँछन्, त्यस्तै लेख्ने हो बानी छ। उनी भन्छन्, ‘कथालाई बाँध्न सहयोग पुर्याउने गीत हुनुपर्छ।’
स्वतन्त्र फुर्दा गीत लेखनले पनि आनन्द दिएको छ, उनलाई। र, मानक भाषामा लेख्ने हो। तर, कसैले सिनेमामा निश्चित सीमाभित्र रहेर लेख्नुपर्ने भएकाले गाहो हुने देख्छन्, उनी। भन्छन्, ‘सिनेमाको गीतमा मनस्थिति बनाउनुपर्ने हुन्छ।’
तर, पछिल्लो समय गीत ‘तू’ चाहिने भयो। जबरजस्ती लेख्न लगाइएको लाग्छ उनलाई। यसरी बन्ने गीतमा केही न केही छुट्न पुगेको महशुस गर्छन् उनी।
सिनेमाको कथालाई बाँध्ने गीतमा उनी ‘म्याटेरियल’ पाउँछन्। त्यसमा गीत लेख्न सहज मान्छन्। उनी भन्छन्, ‘कोही–कोहीले त हिन्दी गीत जस्ताको तस्तै नेपालीमा लेख्न लगाउँछन्।’
समय चिनाउन सक्छ गीतले
केटी- परदेशीको भर हुन्न भन्थे पहिले पहिले
केटा- उहिलेका कुरा खुइलिसके अहिले
यो गीत बरालले मुग्लान फिल्ममा लेखेका हुन्। परदेशी रिकुटेलाई नायिकाले गीतमै एउटा प्रचलनलाई सम्झाउँछे। धेरै समयपछि देखिने समयलाई गीतकै शब्दमा भनेकी छन्। तर, रिकुटेले यो परम्परा हराइसक्यो भन्ने तर्क राख्छन्। यस गीतले फरक–फरक समयलाई चिनाउने कोशिस गरेको छ।
गीतले समयको प्रतिनिधित्व पनि गरेको हुन्छ। उनी भन्छन्, ‘गीतमा धेरै अगाडि र धेरै पछाडिको समय चिनाउन, बुझाउन पनि सकिन्छ।’
गीतभित्रै कथाको गतिलाई अगाडि–पछाडि गर्न सक्ने सम्भवना हुन्छ। कथाका टुक्राहरूलाई गीतले जोड्ने गरेको छ। र, कतै फिल्मको स–साना घटनाक्रमलाई सर्टकटमा बुझाउन पनि गीतको शब्दले उठाएको हुन्छ। उनी भन्छन्, ‘टेन्सन भएको पात्रलाई ड्रामाटिक रिलिफ दिनका लागि पनि गीत राख्ने गरिएको छ।’
चरित्रअनुसारको विम्ब जटिल प्रतीक तत्सम शब्द र अलंकार शब्द लेखिनुपर्ने हुन्छ। त्यो अनुसारको बाहिरको अभिव्यक्ति दिने हो।
गीतमा छुटेको दर्शन
करोड भ्युअर्स हुने गीतकार हुन्, बराल। सबै खालका गीतमा दर्शन हुँदैन। तर, शब्द गम्भीर हुनुपर्छ भन्ने मान्यता छ, उनको। यतिसम्म कि आइटम गीतमा पनि दर्शन आउन सक्छ। उनी भन्छन्, ‘मेलोडीले मात्र गीतलाई फरक बनाउने हो।’
गीतलाई सामाजिक सम्पत्ति ठान्ने उनी गीतमा कथा छुटिरहेको देख्छन्। हलुका शब्दमा गीतका मेलोडीहरू कुदेका छन्। क्षणिक भएर गएका छन्। आखिर अहिलेका गीतहरू किन टिकाउ हुन नसकेका होलान्। उनी भन्छन्, ‘लोकप्रियता र स्तरीयतालाई मेन्टन गर्न सकिरहेका छैनौं।’
पहिला रेडियो नेपाल एउटा थियो। त्यहाँ गीत रकर्ड गर्नु अगाडि गीत सेन्सर हुन्थ्यो। जहाँ चार सय गीतमध्ये १०–१५ मात्रै रेकर्ड भएर बाहिर आउँथे। सिंगर भ्वाइस टेस्ट पास गरेर निस्किन्थे। अनि लाइभ गाउनुपथ्र्यो। सिंगर पनि छानिएर आउनुपथ्र्यो। तुलनात्मक रूपमा त्यतिखेरका गीत स्तरीय भए। उनी भन्छन्, ‘पहिला परीक्षा दिएर आइन्थ्यो र गीत राम्रा हुन्थे। अहिले त्यो सेन्सर छैन।’
सामान्य गायक गीत गाउने हिम्मत गर्दैनथे। रेडियो नेपालमा रेकर्ड भएका सबै गीत हिट नभएको उनको बुझाइ पनि छ। उनी भन्छन्, ‘बहुतै कमजोर र चुहिएर रेकर्ड भएका गीत खोज्यौं भने पाउँछौं।’
त्यसपछि ०४६ सालमा प्रजातन्त्र आयो। अनेक किसिमका डिजिटल स्टुडियो खुले। रेकर्डिङ गर्ने प्रविधिको विकास भयो। अनेक एफएम खुल्यो। एउटा रेडियोले कति गीत बजाओस्। स्वतन्त्रताका कारण जस्तैसुकै गीत पनि बन्न थाल्यो। सेन्सरसिप हट्यो। उनी भन्छन्, ‘अहिले सिकारुले पनि गीत गाउन थाले। क्षमता भएका र नभएकाले पनि गाउन थाले र गीत लेख्ने, संगीत गर्ने र गाउनेलाई उमेर छेक्ने कुरो पनि भएन।’
गायकको सुर मिलेन भने कम्प्युटरले पनि तानतुन पारेर मिलाउन सकिन्छ। त्यस्ताले सिक्दै विस्तारै गाउन पनि थाले। स्वर परीक्षा उत्तीर्ण गरेर जान परेन। जे मन लाग्छ त्यो गरियो। अत्यधिक गायक र संगीतकार जन्मियो। उनी भन्छन्, ‘एक प्रकारले गीत–संगीतको उत्थान त भयो तर तुलनात्मक रूपमा बढ्दा गुणात्मकता घट्यो।’
पछिल्लो समय त रहरले मान्छेहरू गीत–संगीतमा हाम फालेका छन्। लोकप्रियतालाई खोज्दै मान्छेहरू कला संगीतमा होमिएका छन्। उनी भन्छन्, ‘पैसा प्रशस्त कमाएका पनि सामाजिक काम गर्न छोडेर कला संगीतमा लागेर नाम कमाउन लागेका छन्।’
गीतलाई सबैभन्दा रेडियो, टेलिभिजनले बजाइरहेका छन्। उनीहरू पैसाबिना काम गर्दैनन्। ‘बिजनेस पर्पोज’ले गर्दा सयौं पटक गीत बजेका छन्। जसले गर्दा दर्शकको नजरमा त्यही गीत हिट हुनेका छन्। उनी भन्छन्, ‘मिडियाले सेन्सर लगाइदिन सक्यो भने गीतमा अझै क्वालिटी आउन सक्छ।’
तर, मिडियाले आफ्नो खुट्टामा बञ्चरो कहिल्यै हान्नेवाला छैन। तर, स्तरीय र गुणात्मक गीतलाई मात्रै बजाइदियो भने गीतमा थप स्तरीयता आउन सक्ने तर्क छ। यसो त, गीत–संगीतमा पूरा जिन्दगी समर्पित गर्नेहरू ओझेलमा छन्। कारण आर्थिक संकट हो।
तर, कैयौं गीत प्रचारका कारण हिट भएका छन्। पैसाको खोलो बगाएर टेलिभिजनसँग समय किनेका छन्। र, कैयौं अर्थै नभएका, भाव नभएका, केवल बाजाको धुनमा कराउने गीतहरू पनि जन्मिरहेका छन्। यसलाई व्यापरिक कारणले भित्रिएको विकृति ठान्छन्, उनी।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४