काठमाडौं– बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माको दबाबलाई शिरोपर गरेर सघाएको बात लागेका अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन्। मरासिनी मुख्यसचिव शंकरदास वैरागी र प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएर बिदामा बसेका हुन्।
बजेटमा करका दर हेरफेर गर्न मन्त्रालयको गोप्य कोठाभित्रै अनधिकृत व्यक्ति प्रवेश गर्दासमेत मौन बसेका अर्थसचिव मरासिनी अर्थमन्त्रीको राजीनामाको पक्षमा देखिएका छन्।
अर्थमन्त्रीले राजीनामा नगर्दासम्म मन्त्रालय नजाने जानकारी उनले मुख्यसचिवलाई गराएको अर्थ मन्त्रालय स्रोत बताउँछ। अर्थका कर्मचारी पनि अर्थमन्त्रीको गलत हर्कतप्रति अर्थसचिवको मौन समर्थनलाई लिएर असन्तुष्ट छन्।
मरासिनीले अर्थमन्त्री शर्माका हरेक गलत कामलाई समर्थन गरेको मन्त्रालयका कर्मचारीको बुझाइ छ। प्रतिस्थापन विधेयकमा स्टिल उद्योगमा लिएको विभाजनकारी कर नीति, सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था, गभर्नर हटाउने प्रकरण, नयाँ बजेटमा करका दर परिवर्तन गर्न अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गर्दासमेत अर्थसचिव मरासिनीको मौनता गम्भीर विषय भएको मन्त्रालयका अधिकारीको भनाइ छ।