काठमाडौं- वाणिज्य बैंकबाट करिब १ खर्ब २३ अर्ब रुपैयाँ रकम ब्याज पुँजीकरणका लागि गएको पाइएको छ। नेपाल व्यवस्थापन संघले मंगलबार आयोजना गरेको कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले निक्षेपको ५० प्रतिशत रकम बैंकहरुले ब्याज पुँजीकरणका लागि लगानी गरेको स्वीकारेका छन्।
सो कार्यक्रममा उनले भने,‘हिजो हामीसँग भएको स्रोतको ५० प्रतिशत रकम हामीले ब्याज पुँजीकरणका लागि मात्र लगानी गरेका छौं, सो रकम फर्केर बैकिङ प्रणालीमा आयो भने तरलता सहज हुनेछ।’
नेपाल बैंकर्स संघले जारी गरेको तथ्यांक अनुसार साउनदेखि असार १७ गतेसम्ममा बाणिज्य बैंकहरुले २ खर्ब ४६ निक्षेप संकलन गरेको छ। सोको ५० प्रतिशत भन्नाले १ खर्ब २३ अर्ब हुनेछ। त्यस्तै उनले विगतमा तरलताको अवस्था सहज हुँदा ऋणको माग कम भएको र बैंकहरु लगानीमा एग्रेसिभ हुँदा स्रोत ब्यवस्थानमा भने चुकेको स्पष्ट पारे।
उनले नेपाल राष्ट्र बैंकका कारण बैकिङ क्षेत्र जोगिएको दावी गर्दै भने, ‘केन्द्रीय बैंकले एसएलएफ, पुर्नकर्जाजस्ता व्यवस्थाका कारण बैंकहरु टिकिरहेका छन्।’ त्यस्तै उनले दिर्घकालिन प्रकृतिको स्रोत ब्यवस्थापन आगामी मौद्रिक नीतिले जोड दिनुपर्ने बताए।