हे गफ लगाउँछे केन केको यी दुई मुखेहरू
दिउँसो जोत्छन् दुईटा गोरु, राती एउटा गोरु
हे बरै....
दस बजेको मेलोभित्र १२ बजे पस्छे
यो जानकी ठड्यौरी त झन् जुम्रा लुच्दै बस्छे
हे बरै...
लोकदोहोरी गायक सुमन परियार र श्याम रानाले गाएको यो टुक्का सुनेर क्यामेराको फ्रेमभित्र अटाएका सबै गायक/कलाकार मुर्छा परुँला झैं गरेर हाँस्छन्। वाद्यवादनमा बसेका कलाकार पनि बाजा बजाउनै छाडेर हाँस्न थाल्छन्। दोहोरीमा घम्साघम्सी गर्न कस्सिएका महिला गायिका पनि एकअर्कालाई धकेल्दै हाँस्छन्। जिब्रो टोक्छन्। एकअर्कालाई हेरेर भुतुक्कै हुन्छन्। आफ्नो शिरको कपाल पन्छ्याउँदै जुम्रा मारेको हाउभाउ पनि गर्न भ्याउँछन्। तिघ्रा पड्किने गरी हात छाड्छन् ।
उच्छृंखल लाग्ने हाउभाउ र यौन कुण्ठा सुनाउनकै लागि लाइभ दोहोरी लिएर ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखा’ युट्युब च्यानल भेटिएझैं लाग्ने।
छाडा शब्द र अश्लील भाव बुझाउने टुक्का जोडेर गाउने र गाउन लगाउने कैयौं युट्युब च्यानल छन्। प्राय: ‘रिले लाइभ दोहोरी भाग...’ लेखेको हुन्छ। केही थान फुटेज भिडियोसहित तल लेखिएको हुन्छ– ‘हाइलाइट’।
गायक कलाकारले गाएको गीत सुनेर दर्शक/श्रोताले मनोरञ्जन लिनुपर्ने हो। तर ती गायक/कलाकार यस्ता भए, जो आफैं गाउँछन्, आफैं हाँस्छन्। कतिपय गाउँदा–गाउँदै मूर्छा परुँला झैं गर्छन्। छाडा र द्विअर्थी लाग्ने शब्द तथा उच्छृखंल हाउभाउ देखाउन लाइभ दोहोरीमा सहभागी भई गीत गाउन झुल्किएझैं लाग्छ।
हेर्छु भन्दै खुब नजिक बन्छ बा
लुंगी माथि सार पो भन्छ बा
लोकदोहोरी गायिका तारा थापाले गाएको यो टुक्का सुनेर गायक/कलाकारहरू मूर्छा परेर हाँस्छन्। गायिका तारा आफैं पनि मूर्छा पर्छिन्। आफूले के गाइरहेकी छु भन्ने उनलाई हेक्कै हुँदैन।
उनको ‘तारा थापा’ नामक युट्युब च्यानल छ, जहाँ दर्जनांै गीत अपलोड छन् । सुख–दुःख र माया प्रेमका भन्दा बढी छाडा र द्विअर्थी लाग्ने गीत छन्, उनको च्यानलमा। तारा थापा युट्युब च्यानलमा भएको गीतका लागि राखिएको शीर्षक यस्तो छ-
केटाकेटीलाई ओठ जोडेर चुम्मा हान्न मन लागेपछि
तारालाई पुड्की भनेपछि सबै कलाकार हाँसेर मरे
तारालाई पिसाब लागेर कामै बिग्रियो
हल्दार्नी तारा जुवाडेको खालमा हँसाएरै मार्ने
श्यामलाई गाउँदा–गाउँदै देउता चढेपछि तारा हैरान, उधुमै रमाइलो दोहोरी
ताराको स्वर नमीठोे होइन, टुक्का जोड्न पनि सिपालु छन्, उनी। तर किन अश्लील भाव बुझाउने शब्द जोड्नुपरेको होला? किन एकअर्कालाई होच्याउनुपरेको होला? गीतबाट अरूलाई होच्याउन पाउँदा गाउँदागाउँदै लड्दिने गर्छिन्, उनी। गीतका टुक्कासँगै अभिनय गर्ने वहानामा भुइँमा पल्टिदिन्छिन्। अथवा छेउकोलाई हात हाल्दिने, झम्टिने, मसक्कै मस्किएर मुख छोप्ने गर्छिन्। ओहो ! उनी गीतमै गाली गर्छिन्ः
दुनियाँलाई बनाको छस् तँ मुर्दारले हाँसो
यै पोतेले गर्दनमाथि लगाएदिन्छु पासो
यता आ भुताल्छु मैले
हड्डीसमेत पाउँदैनस् तैँले ...
सभ्यताभित्रको संस्कृति लोकगीतलाई आम्दानी हात पार्ने लोभमा युट्युब च्यानलै खोलेर विकृत बनाउने ध्याउन्नमा लागिरहेका छन् गायक–गायिका।
ताराले जति छाडा शब्द गाए पनि उनी मर्कैमा छन्। उनीसँग दोहोरी गाउन बसेकाहरू साह्रै होच्याउँछन्, उनलाई। डल्ली भनेर जिस्काउँछन्। थोपडा नै नपरेको, झोलामै अटाउँछेस्। सागर बिसी, श्याम रानाजस्ता लोकगायकले उनलाई होच्याएरै गाएका छन्। सबैले गिज्याए पनि तारा झुक्दिनन्। उनी छाडा शब्दको सहारा लिएर प्रहार गरिरहन्छिन्।
तिमी नै हो बोल भन्ने
बाह्र बजे आउँछु रुम खोल भन्ने
गायिका तारा थापाभन्दा कमका छैनन् स्याङ्जा चापाकोटका गायक श्याम राना। गायक रानाको स्वर मीठो छ। उनी आफ्ना गीतका टुक्का घुमाएर जहाँको तहीँ जोड्न पोख्त छन्। उनी स्वर र शब्दलाई मात्रै मर्याक–मुरुक पार्दैनन्, ज्यानलाई पनि त्यसैअनुसार ढाल्छन्। उनको हाउभाउ निकै लोभलाग्दो देखिन्छ। राना नाच्न पनि सिपालु छन्। नृत्यमा पनि महिला कलाकारकै हाउभाउ देखिन्छ, उनको। श्याम गायक नभएर कलाकार पनि हुन् तर उनले गाएका केही गीत सुन्नै नसकिने छन्। गहकिलो अनुहार, चिप्लो बोली भएका उनी गीत गाउँदा भने निकै निर्मम हुन्छन्। उनी छाडा मात्रै गाउँदैनन्, महिलालाई होच्याउने गर्छन्।
श्याम रानाको आफ्नै युट्युब च्यानल छ, जसको ८३.७ हजार सब्स्क्राइबर छन्। उनको च्यानलमा गएर हेर्दा छाडा र द्विअर्थी लाग्ने शब्द र वाक्यको शीर्षक नै लामो पाइन्छ।
केटीको जस्तै बनाउँछु भन्दै केटाहरूले छातीभरि भोगटे हालेपछि
अर्काकी स्वास्नीसँग मध्य रातमा हनिमुन मनाउन गएपछि
‘भाले दोहोरी’ शीर्षकमा श्यामले गायक बालचन्द्र बरालसँग पनि निकै द्विअर्थी र अश्लील भाव बुझाउने लोकदोहोेरी गाएका छन्। युट्युब च्यालनमा गएर खोज्ने हो भने ‘श्याम राना र बालचन्द्र बरालको कडा भाले दोहोरी, मुख छाडाछाड’ शीर्षक पाइन्छ।
यो आइमाईलाई अघि बढ्न नदिएस् है ठूले
कस्ती खालकी अलिछिना मेरो घरमा हुलें, मेरो घरमा हुलें
श्याम गाउँघरमा बोलिने शब्द त जोड्छन् तर महिलामाथि निकै निर्मम लाग्छन्। प्रायः लाइभ दोहोरीमा उनी महिलाले सोचेको कथा गीतका टुक्कामा हुबहु ल्याउँछन्। सवालको जवाफ फर्काउन माहिर छन्। यसरी छाडा जवाफ फर्काउँदा आफूले जितिएला तर दर्शक, श्रोताको मन राख्न सकिँदैन भन्ने हेक्का भुसुक्कै बिर्सिएजस्तो लाग्छ।
लोकगीत माटो सुहाउँदो हुनुपर्छ। लोकगीत समाज परिवर्तनका लागि हुनुपर्छ। मनोरञ्जनका लागि हुनुपर्छ। नभए मायाप्रेम र प्रकृतिका लागि हुनुपर्छ। तर श्यामले जोडेका टुक्कामा महिलामाथि हेपा प्रवृत्ति पाइन्छ । कुनै कुनै टुक्का उनी जबर्जस्ती जोड्दछन् र अश्लील भावले छेड हान्छन्। खासमा लोकदोहोरीबाट प्रेमको सुरुआत हुनुपर्ने हो। माया र सद्भावका कुरा हुनुपर्ने हो। मौलिक शब्द जोडेर गीत गाउन जानेका श्यामले आफूलाई छाडा र द्विअर्थी लाग्ने गीतका टुक्कामै सीमित गरेजस्तो लाग्छ।
मेरो घरलाई भत्काउँदै छे षडयन्त्र जाल बुनी
यस्ती आइमाई बाँचेर हुँआँऽ मुख देखाएर हिँड्नुभन्दा झुन्डिएर मरे पनि हुनि
मरे पनि हुनि...
बाउछोरी वकिलको ठाँडो
बनाछौं गरिखाने भाँडो
यो टुक्का श्यामले बालचन्द्र बराल युट्युब च्यानलका लागि गाएका हुन् । श्यामले गाउँदा बालचन्द्र बराल हाँस्दा–हाँस्दै उठ्छन् । हाँस्दाहास्दै बस्छन्। भुइँमा लड्छन्।
‘सम्धीसम्धिना भाग–९, श्यामले तारालाई बलात्कारको प्रयास गरेकै हुन् त’ शीर्षक राखेका छन्।
महिला अधिकारकर्मीहरू देशमा बलात्कारीलाई कडा सजाय दिनुपर्छ भन्दै विभिन्न शैलीका आन्दोलन गरिरहँदा लोकदोहोरी गायक/कलाकारहरू कोठाभित्र बलात्कारकै मुद्दालाई हाँस्ने गीत बनाइरहेजस्तो लाग्छ। श्यामले तानिरहेको स्वरलाई बोल्ने शैलीमा टुक्का जोडेर तन्क्याउँछन्। अनेक भावभंगीमा महिलामाथि पोखिन्छन्।
लैनो भैंसी पाल्नलाई त रै’छ क्या हो गाह्रो
धेरै किचकिच भयो भने ल्याउँछु बरु थारो
घाँस पातै काटेर हाल्छु
ब्यानाबेल्का गरेर पाल्छु
बालचन्द्र बरालले यो टुक्का जोडेपछि सबैको हाँसो फुस्किन्छ। गायिका मीना गुरुङ पनि मुख छोपी–छोपी हाँस्छिन्। गीतको भाका छोप्न बसेका सहयोगी गायक र वाद्यवादकहरू पनि मूर्छा परेर हाँस्न थाल्छन्। मुन्टो हल्लाएर हाँसिदिन्छन्।
बालचन्द्र बराल उम्दा गाउँछन् । बिग्रन लागेको टुक्कालाई पनि उनले सहजै मिलाउँछन्। दोहोरी गाउँदा होस् वा सुन्दा। उनी खुलेर हाँस्छन्। तर द्विअर्थी लाग्ने शब्दमा उनी मुर्छै परेर हाँस्छन्। बालचन्द्र महिलामाथि कत्ति दयाभाव देखाउन्न्। अश्लील भाव बुझाउने विम्बबाट बालचन्द्र आफ्नो गीतमा ‘सटार’ हान्छन्।
पुरुष गायक महिला गायिकामाथि जति निर्मम छन्, महिला गायिका पनि पुरुषमाथि मौरीझैं खनिएका छन्। तारा थापा मात्रै नभएर अन्य महिला गायिका पनि निकै छाडा गाउँछन्। उच्छृंखल हुन्छन्। कति मात्तिएका हुन् भनेर दर्शकले जिब्रो नै टोक्छन्।
अघि मलाई रिस उठ्याथ्यो अैले माने जाती
ब्यना दिउँसो पार्ने होइन मोइ पार्ने हो राती
बालचन्द्रको सवालमा जवाफ फर्काएकी मीनाले यो टुक्का सुनाइसकेपछि आफैं हाँसेर मूर्छा पर्छिन्। भाका छोप्न बसेकाहरू रिगंटा लागेझैं टाउको मुसार्छन्। खित्का छाड्छन् र मस्किएर आँखा–मुख रातो पार्छन् ।
नेपाली न्यूज लाइभ युट्युब च्यानलका लागि यो दोहोरी गाएका थिए, बालचन्द्र बराल र मीना गुरुङले। गीतमा लेखिएको छ, ‘हैट यस्तो तगडा दोहोरी सितिमिति हुँदैन ।’
बालचन्द्र बराल नामक युट्युब च्यानलका २ लाख २३ हजार सब्स्क्राइबर छन्, जसमा द्विअर्थी र अश्लील भाव दिने शीर्षकका गीतहरू प्रशस्तै छन्। उनले बालचन्द्र बराल युट्युब च्यानलबाट विभिन्न उपशीर्षक राखेर शृंखलाबद्ध प्रस्तुति दिँदै आएका छन्। जस्तै, ‘सम्धीसम्धिना’, ‘लोभी घरबेटी’ ‘सालीभेना, ‘मास्टर विद्यार्थी’, ‘श्रीमती चोर’, ‘तरुनी नछोड्ने भालेहरू’।
बालचन्द्रको युट्युब च्यानलका गीतका शीर्षक पनि निकै छाडा छन्। जस्तै, ‘तारालाई बालचन्द्रले किन घोक्रेठ्याक लगाए’, ‘अस्मिता र ताराको झगडा, अलिफलाई मधिसे भन्दा भयो बबाल’, ‘सम्धी–सम्धिना भाग– १४, जेरी र तारालाई मध्यरातमा रत्नपार्कमा...’।
सागर बिसी र सुशीला लामाको दोहोरी गायन मीठो छ । तर दुबै छाडा टुक्का जोड्नमा माहिर छन्। गाउँदागाउँदै उनीहरू आफैं नांगिएको पत्तै पाउँदैनन्।
हे तर्सिने छेउ हाम्रो खेत हेरेर
भाग्ना पर्ला लामो लामो सास फेरेर
जात्नी खालको हली नै हो हेर
ठूलो हलै आम्ला नि बोकेर ...
खुल्दुली दोहोरी घर अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत पूरै द्विअर्थी छ। सुशीला लामाले सवाल गरेपछि सागर बिसीले जवाफ फर्काएका हुन्। जसरी हुन्छ आफू माथि, अथवा आफूले जित्ने सोचले गाइने लोकदोहोरीमा यौनको विषय खुलेर गरेझैं लाग्छ। हातपात गर्नै उठ्लान् झैं लाग्छ। सहयोगी गायक–गायिका पनि मूर्छा परेर हाँस्छन्। कानेखुसी गर्छन्। बसेको ठाउँबाटै उफ्रिन्छन्। मर्किन्छन्। मुख छोप्नसमेत भ्याउँछन्।
सुशीला लामाको मीठो स्वर छ। तर उनको हरेक टुक्कामा यौन कुण्ठा झल्किन्छ। आफैंलाई लाज लाग्ने टुक्का जोडेर आफैं खुलेर हाँसिरहेका हुन्छिन्। यतिसम्म कि लाजले स्वयं गायक कलाकार पनि लज्जित हुन्छन्। तर गीत गाउन छाडेका हुन्नन्।
पछिल्लो समय युट्युब च्यानलमा छाडा लोकदोहोरी गाउनेको संख्या ह्वात्तै बढेको छ। लाइभ दोहोरी गर्ने/गराउने युट्युब च्यानल पनि सयौं छन्। चर्चित लोकदोहोरी गायक–गायिका श्याम राना, बलचन्द्र बराल, सुमन परियार, वसन्त विक, सागर बिसी, इन्द्र जिसी, चिज गुरुङ, मानसिंह खड्का, बबिता बानिया जेरी, जालुमाया गुरुङ, सुमन थापा, डिला विक, तारा थापा, अमृता लामिछाने, मीना बुढाथोकी, शीला आले, तारा थापा, जनकी तारम मगरलगायतको समूह छ। एकअर्काको सहयोगमा उनीहरू आफ्नो युट्युब च्यानल चलाउँदै आएका छन्।
घरको स्वास्नीसँग भन्दा बाहिरको सँग मज्जा आउने
मितिनी मितज्यूसँग सल्केपछि
ज्यान देखेरै फिलिङ्स नआउने
भूगोल, समुदाय, संस्कृति र जीवनशैलीका कारण जन्मिने लोकभाकाले कला–संस्कृतिको धरोहर बचाइरहे पनि रातारात धनी हुने कुत्सित आकांक्षाको भूमरीमा परेर युट्युबले बिगार्दै छ, नेपाली मौलिक लोकगीतको विरासत।
अमृता लामिछानेको आफ्नै युट्युब च्यानलबाट राखेको गीतका शीर्षक हुन्, माथिका। त्यसैगरी गायिका मीना बुढाथोकी नामको युट्युब च्यानलबाट आएको गीत छ, महिनाबारी रोकियो के भएछ कुन्नि
‘अहिलेसम्मकै छाडा भिडियो ‘खाट भाँच्चेला भुइँमा बेड लगाउ भनेपछि दुलाहा भए बेहोस’, शीर्षक राखेर ‘डेली खबर’ युट्युब च्यानलमा हेर्न सकिन्छ।
सुख–दुःख आपतमा सघाऊँ है
खाट भाँचिएला भुइँ ओछ्यान लगाऊँ है ...
माटो काटी चपरी आलीमा ...
युट्युब च्यानल गीत–संगीत क्षेत्रका गायक÷कलाकारलाई राम्रो प्लेटमफर्म हो। तर त्यसको सहारामा सस्तो ख्याति र छिटो पैसा कमाउने लोभमा कलाकारहरूले शब्द चयन नै बिर्सिएको भान हुन्छ।
युट्युबका कारण हराउँदै गएको लोकदोहोरीको मर्म र मिठास ओझेल पर्दै गएको लाग्छ। लोकदोहोरी गीत फस्ट्याएको लाग्थ्यो तर सँगसँगै मौलिकताका नाममा छाडापन पनि बढ्यो।
दुःख–सुखका भाकालाई दर्शक,श्रोताले आफ्ना गीत सम्झिन्थे। वनपाखा र मेलापातमा गाइने लोकभाका पनि मीठा थिए। नेपालीपन देखिन्थ्यो। तर अहिले सुशीला लामा, तारा थापाले जोडेको टुक्का सुन्दा कुनै अश्लील चलचित्र हेरेको भान हुन्छ।
लोकदोहोरीमा छाडा शब्द र टुक्का मिसिन थालेपछि जनस्तरबाटै गुनासा आए। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले १३ जना लाइभ दोहोरीका कलाकारसँग स्पष्टीकरण नै माग्यो। यिनै १३ जनाले आइन्दा छाडा गीत नगाउने प्रतिबद्धता जनाएका छन्।
प्रतिष्ठानकी उपाध्यक्ष राधिका हमाल पुनका अनुसार लोकदोहोरीमा छाडा गीतले विकृति–विसंगति भित्रिने हुँदा त्यस्ता गायक/कलाकारलाई सचेत गराएको हो।
‘आइन्दा छाडा गीत र द्विअर्थी गीत नगाउने प्रतिबद्धता जनाउनुभएको छ, उहाँहरूले’, उपाध्यक्ष राधिकाले भनिन्, ‘लोक–संगीतमा यस्ता विकृत गीत गाइनुको खास कारण आजको युट्युब नै हो।’
छाडा गीत गाउने गायक कलाकारहरूको आफ्नै नाममा युट्युब च्यानल छन्। गायक, संगीतकार कस्तुप पन्त यो विकृति युट्युबका कारण आएको बताउँछन्। उनी भन्छन्, ‘हरेकलाई भाइरल हुनु छ, डलरको खेती गर्नु छ, भ्यूज बढाउनु छ।’
उनका अनुसार दोहोरी गाउँदा कस्तो शब्द टुक्कामा जोड्ने भन्नेमा स्रष्टा स्वयं सचेत हुनैपर्छ।
लोक–संगीतमा लामो समय काम गर्दै आएका विष्णु खत्री लोक दोहोरीमा छाडापन बढ्नु स्रष्टाको लापर्वाही ठान्छन्। ‘गाउनै नआउनेलाई पनि गीत गाउन दिइएको छ। स्वरै नहुनेलाई लाइभ दोहोरीमा राखिएको छ। वर्षौं गीत–संगीतमा संघर्ष गर्दै आएका स्रष्टाको अपमान हो, यो’, खत्री गुनासो गर्छन्।
लाइभ दोहोरीमा छाडा गीत गाउने कलाकारको भ्यूज संख्या अत्यधिक बढ्छ। दर्शक पनि उस्तै छन् । दर्शकले यस्ता गीत– संगीतलाई मन पराइदिने रहेछन् भन्ने प्रमाण उनीहरूको भ्यूज संख्याले पनि देखाउँछ।
गायक पन्त भन्छन्, ‘लोकगीत भनेको सभ्यताभित्रको संस्कृति हो, जसको मूल्य–मान्यता छ। त्यसलाई मिचेर छाडा गीत गाइदिँदैमा लोक–संगीतको जर्गेना हुन्छ भन्नु भ्रम हो।’
सयौं लोकगीत कोरेका गीतकार प्रह्लाद सुवेदी गीतका शब्द चयनमा गम्भीर हुनुपर्ने बताउँछन्।
‘छाडा शब्द राखेर गीत गाउँदा भ्यूअर्स त बढ्लान् तर गायक–गायिकाको स्तर बढ्दैन। आफ्नो गरिमा आफंैले राख्न बिर्सिने गायक कलाकारले यस्तो विकृति ल्याउने हुन्’, उनले भने, ‘यस्तो हुनु भनेको मौलिक गीत–संगीत र स्रष्टाको महत्व नबुझ्नु हो। कम्तीमा कलाकार गम्भीर भइदिनुपर्छ।’
छाडा शब्द प्रयोग गरेर गीत गाउने श्याम राना मगर र सुशीला लामालाई कारबाही गर्नुपर्ने मागसमेत सामाजिक सञ्जालमा लेखिएका छन्। गायिका तारा थापाले छाडा गीत गाएको स्वीकार्दै माफी मागेकी छन्। उनले पत्रकार सम्मेलन गरेर माफी मागेकी हुन्। उनले भनिन्, ‘हामी पनि मान्छे हो, हामीबाट गल्ती हुन्छ। छाडा शब्द प्रयोग गर्नु हुन्थेन। गरियो, माफी पाऊँ । अब गुरुहरूले देखाएको बाटो हिँड्नेछु।’
गायक विष्णु खत्री भन्छन्, ‘स्वर नभएकाहरूलाई पनि गीत गाउन लगायो। हाम्रो क्षेत्रलाई बदनामी गराउने तिम्रो हर्कत कहिलेसम्म? मिहिनेत, अनवरत खटाइ, लगानी लगाएर शुद्ध बनाएको यो क्षेत्रलाई धमिल्याउने दुष्कर्म कसरी गर्न सक्यौ? संस्कृति हाम्री जननी हुन्। आमा हुन्। हामीलाई हाम्रो आमाको माया छ। तिमीलाई माया छैन होला। जाऊ र भन–आमा मलाई डलर र भ्यूज बढाउनु छ।’
लोकभाका माटोको गीत हो। मौलिक गीत हो। प्रकृतिको गीत हो । दुःख–सुखको गीत हो। पीडा र वेदनाको गीत हो। माया–प्रेमको गीत हो। सभ्यताभित्रको संस्कृतिलाई सधैं संरक्षण गर्न लोकगीत बनिरहन्छन्। नयाँ नयाँ भाका र टुक्कामा जन्मिरहन्छन्। भूगोल, समुदाय, संस्कृति र जीवनशैलीका कारण जन्मिन्छन्, लोक तथा लोकदोहोरी गीत, जसले सधैं कला–संस्कृतिको मौलिकताको धरोहर बचाइरहन्छ।
दोहोरी गीत जनजिब्रोको भाका पनि हो। आफ्नै जीवनसँग मेल खाने टुक्काहरू मीठो लाग्छ, जसलाई मनमनै दोहो¥याएर गुनगुनाउनको मजा बेग्लै हुन्छ। तर अहिले लाइभ दोहोरीको नाममा युट्युबमा आएका लोकदोहोरी गीत सुन्नै नसकिने भए। हेर्नै नसकिने भए। लोकदोहोरी गाउँघरको घर–आँगनमा हुने पूजापाठ, विवाह तथा मेलापातमा साथीसंगी र घरपरिवारमा बसेर गाइन्छ। तर लाइभ दोहोरी भनेर युट्युबले सार्वजनिक गरेको लोकदोहोरीलाई घरपरिवारसँग बसेर हेर्नै नसकिने बनाइएको छ।
नेपाली मौलिक लोक–संगीतका नाममा छाडा शब्द र द्विअर्थी लाग्ने बोलीचालीका शब्दलाई लोकगीत तथा लोकदोहोरीमा दोहोरिनु र भाइरल भएकालाई गीत गाउन लगाएर सस्तो लोकप्रियता बटुल्न खोज्दै जाने हो भने मौलिक गीत भनेर चिनिने लोकदोहोरी विस्तारै ननासिएला भन्न सकिन्न।