काठमाडौं- अर्थमन्त्रीको चौतर्फी विरोध सुरु भएसँगै मन्त्रालयअन्तर्गतका 'सिनियर' कर्मचारीको सरुवा सुरु भएको छ। नेपाली कांग्रेसका नेताहरूसमेत अर्थमन्त्रीलाई हटाउन दबाब दिन थालेपछि मन्त्रालयमा कर्मचारीको जिम्मेवारी बदल्ने काम थालिएको मन्त्रालय स्रोतको भनाइ छ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन्। अर्थ मन्त्रालयका नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य प्रदेश बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवको जिम्मेवारी दिइएको छ।
यसअघि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयमा सचिव रहेका धनीराम शर्मा राष्ट्रिय योजना आयोग तानिएका थिए। यसैगरी प्रदेश नम्बर १ मा मुख्यसचिवको जिम्मेवारीमा रहेका डा रामप्रसाद घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सरुवा गरिएको छ।
अर्थ मन्त्रालयमा असन्तुष्ट रहेका तथा सिनियर सहसचिव प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवाका लागि लबिङ भइरहेको बताइएको छ। आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका रितेश शाक्यको सरुवाको तयारी थालिएको स्रोतको भनाइ छ। उनलाई प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवाको तयारी गरिएको बताइएको छ।
पछिल्लो समय आन्तरिक राजस्व विभागको महानिर्देशका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म लबिङ भइरहेको स्रोतको दाबी छ। अर्थमन्त्री हटेमा उनले मन्त्रालयमा बनाएको टिम पनि हालकै अवस्थामा नरहने स्रोतको दाबी छ।