काठमाडौं- अन्तर्राष्ट्रिय सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भारत सरकारले ओमदेवी मल्ललाई सम्मान गरेको छ। सोमबार भारतको केन्द्रीय सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी संघले १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मल्ललाई सहकारी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। मल्ललाई भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सो सम्मान गरेका हुन्।
सम्मान कार्यक्रममा मत्स्य पालन तथा डेरी केद्रीय मन्त्री परशोत्तम रुपाला, केन्द्रीय सहकारी तथा उत्तरपूर्वी क्षेत्र विकास राज्यमन्त्री बीएल बर्मा, पूर्व केन्द्रीय मन्त्री सुरेश प्रभु, अन्तराष्ट्रिय सहकारी संगठन एसिया प्यासिफिकका अध्यक्ष चन्द्रपाल सिंह यादव, सहकारी सचिव ज्ञानेश कुमार, भारतीय राष्ट्रिय कृषि सहकारी विपणन संघ लिमिटेडका अध्यक्ष डा.विरेन्द्र सिंह, राष्ट्रिय सहकारी संघका अध्यक्ष दिलीप संघाणी लगायतको उपस्थिति रहेको थियो।
मल्लले नेशनल सेन्टर फर को-अपरेटिभ एजुकेसनबाट सहकारी शिक्षा र व्यस्थापनमा सन् २००५ मा डिप्लोमा गरेकी थिइन्। उनी अन्तर्राष्ट्रिय सहकारी महासंघको एसिया क्षेत्रबाट नै ग्लोबल बोर्डमा प्रतिनिधित्व गर्ने पहिलो महिला हुन्।
नेपालको मात्र नभएर अन्तर्राष्ट्रियस्तरमा नै सहकारी क्षेत्रको प्रबर्द्धनमा लागेकोले उनलाई सम्मान गरिएको राष्ट्रिय सहकारी संघ भारतले जनाएको छ। उनी राष्ट्रिय सहकारी महासंघ नेपालकी उपाध्यक्ष हुन्। उनले सहकारीमार्फत महिला सशक्तिकरणमा ठूलो योगदान पुर्याएकी छन्। उनी नेपालकी संविधानसभा सदस्य समेत हुन्।