आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एक वर्षमा लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि

एक वर्षमा लघुवित्तको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकले सोमबार गत आर्थिक वर्षलाई आधार मानेर सार्वजनिक गरेको लघुवित्त वित्तिय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदनले निष्क्रिय कर्जा एक वर्षमा ८७.८३ प्रतिशतले वृद्धि भएको देखाएको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- गत आर्थिक वर्षमा लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा ८७.८३ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार गत आर्थिक वर्षलाई आधार मानेर सार्वजनिक गरेको लघुवित्त वित्तिय संस्थाहरुको निरीक्षण तथा सुपरीवेक्षणसम्बन्धी वार्षिक प्रतिवेदनले निष्क्रिय कर्जा एक वर्षमा ८७.८३ प्रतिशतले वृद्धि भएको देखाएको हो। 

त्यस्तै लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २.९७ प्रतिशत पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो। आर्थिक वर्ष २०७६-२०७७ मा ३.३६ प्रतिशत अर्थात् १०३.६३ प्रतिशतले बढेको थियो। 

कोरोनाका कारण लघुवित्त संस्थाहरुको अघिल्लो आर्थिक वर्षमा निष्कृय कर्जा बढेको थियो तर गत आर्थिक बर्षमा भने कोरोना कम भएसँगै निष्कृय कर्जा पनि कम भएको राष्ट्र बैंकले दाबी गरेको छ। 

त्यस्तै नेपाल राष्ट्र बैंकको सोही प्रतिवेदन अनुसार एक वर्षमा लघुवित्त संस्थाहरुले कर्जा लगानी भने ३९.१४ प्रतिशतले वृद्धि गरे पनि खुद नाफामा १४६.७१ प्रतिशतले वृद्धि भएको छ। 

त्यस्तै लघुवित्तहरुको अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज खर्चमा १५.६४ प्रतिशतले कमी आएको र ब्याज आम्दानीमा ११.०५ प्रतिशतले वृद्धि भई सञ्चालन आम्दानीमा ७७.४१ प्रतिशतले वृद्धि भएको छ। 

त्यस्तैगरी लघुवित्तहरुको सक्रिय कर्जा एक वर्षमा ३८.१४ प्रतिशतले वृद्धि भएर २०७८ असार मसान्तसम्ममा ३ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तहरुको सक्रिय कर्जा २ खर्ब ५७ अर्ब ४२ करोड रुपैयाँ थियो। 


 


त्यस्तै लघुवित्त संस्थाहरुको कर्जा र निक्षेप तथा सापटी अनुपात (सिडि रेसियो) १०८.२७ प्रतिशत पुगेको छ। त्यस्तै गरी लघुवित्तको खुद नाफामा १४६.७१ प्रतिशतले बढेको छ। जुन अघिल्लो आर्थिक बर्षमा खुद नाफा २२.२९ प्रतिशतले कम भएको थियो। 

देशभर २०७८ असार मसान्तसम्ममा ७० लघुवित्त वित्तीय संस्थाले ४,६२१ शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएका छन् भने लघुवित्त संस्थाहरुको केन्द्र संख्या ३ लाख ६२ हजार ९ सय ८२, समूह संख्या ११ लाख ८३ हजार ३ सय ६४, सदस्य संख्या ५१ लाख ९१ हजार ३ सय ६३ तथा ऋणी संख्या २९ लाख ९२ हजार ६८ रहेका छन्। 

लघुवित्त वित्तीय संस्थाको उपस्थिति ७७ जिल्लामा रहेको छ। त्यसैगरी २०७८ असार मसान्तमा लघुवित्त संस्थाहरुमा २० हजार ८ सय ७२ जना कर्मचारीहरु कार्यरत रहेको देखिन्छ भने लघुवित्त वित्तीय संस्थाहरुको प्रति शाखाले औसतमा १,१२३ सदस्यहरुलाई सेवा दिइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 


प्रकाशित: Jul 04, 2022| 19:16 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्